‘दशैं आयो, खाउँला पिउँला। मासु भात खाउँला, पैसा छैन, कहाँबाट खाउँला?’ आफ्नै शैलीमा दशैंको गीत गाइरहेका थिए, ११ वर्षीय विवेक सुनार। आँगनमा उनी गुनगुनाइरहेका थिए भने उनको घरको भित्तामा रहेको रेडियोमा ‘फेरि आयो दशैं र तिहार तिमी कहिले आउँछौ त पियारा’ बोलको गीत बजिरहेको थियो। पिँढीमा बसेकी उनकी आमा सीता सुनार गालामा हात राखेर एकोहोरो भएर सुनिरहेकी थिइन्।
‘दशैं तिहार आइसक्यो म त मन बुझाउन सक्छु तर छोराछोरीलाई के भनेर फकाउँ, कति दिन भुलाऊ निकै गाह्रो भइरहेको छ,’ रेडियोको आवाज सानो पार्दै सीताले भनिन्, ‘विवेकको बुवा मजदूरी गरी दशैं–तिहारको खर्च जुटाउन भनेर भारत गएका छन्। सुरुमा काम नै पाएनन्। अहिले काम गरेको तलब पाइरहेका छैनन्। दशैंका लागि आउँछु त भन्छन्। खै काम गरेको तलब समयमै पाउँछन् कि पाउँदैनन्।’
दशैंको दोस्रो दिन धनगढी उपमहानगरपालिकाभित्रको पुरानो एयरपोर्ट शिविर सुनसान थियो। यहाँ भूमिहीन सुकुम्बासी ११ परिवार आश्रित छन्। शिविरमा रहेका टहराको आँगनमा बालबालिका खेल्दै थिए। खेल्दै गरेकी नातिनीलाई खाना खुवाउन बाहिर निस्किन ६५ वर्षीया झुमा टमट्टा। ‘आँगन छेउबाट मैले सोधें, ‘दशैं आयो है आमा।’ उनले भावुक हुँदै भनिन्, ‘अँ दशैं त आयो बाबु तर हाम्रा लागि दशा लिएर। हामीलाई रुवाउन मात्र आउँछ यो पापी दशैं। पल्लो टोलबाट दुई किलो चामल दिएका थिए, हिजो र आजको छाक त टर्यो तर भोलि के खुवाउने? एक छाक खाना पनि पेटभरि पाएका छैनौँ। हाम्रा लागि के दशैं आउनु बाबु।’
श्रीमान् बितेको वर्षौं भयो। दुई छोरा थिए तिनलाई पनि गुमाइन्। छोराहरूको याद धेरै आउँछ उनलाई। आमा भनेको झैँ लाग्छ बेला–बेला। गहभरि आँसु पार्दै उनले भनिन्, ‘म बुढी भइहालें मजदूरी गर्न सक्दिनँ। खानलाउनै समस्या छ। बुहारी कमाउन भारत गएकी थिइन्। काम नै पाएकी छैनन्। घर फर्क भनेको छु।’
हरि राम, हरि लक्ष्मण, हरि सीता!
वन मरी सीता, घर मरे पिता।
दुःख पोख्दा–पोख्दै उनले आफ्नो मौलिक गीत पनि सुनाइन्। ‘शरीरमा लुगा छैन। खानाको टुङ्गो छैन। तिहार आयो, तिहार आयो भन्छन्, हाम्रो दुःख हामीसँगै छ। रातदिन रोएरै बित्छ। भगवानले जन्म त दियो तर कर्म दिएनन्,’ उनी दुःख पोख्छिन्।
‘धन्न हो मोटर ठाडी गाडी मात्रै चल्ने!
भन्न नसकेर मैले भित्रै मुटु जल्ने।
जिन्दगी दुःखैमा गयो, जन्म दिया भगवान् कर्म त दिएनौँ।
रुना रुनु दिन रुनु, रुनैमा जिन्दगी गयो।’
आफ्नै मौलिक भाका सुनाउँदै उनले भनिन्, ‘हाम्रा लागि यो पापी चाडपर्व नआएकै जाती। मन भक्कानिन्छ। यस्तै रहेछ हाम्रो भाग्य।’