कोरोनाले थला परेको सुदूरको पर्यटन व्यवसाय तंग्रिँदै
2021/10/11, 9:51
 
dd

कोरोना महामारी सुरु भएयता लामो समयसम्म लकडाउनका कारण निकै प्रभावित भएको सुदूरपश्चिमको पर्यटन व्यवसाय पछिल्लो समय तंग्रिँदै छ। त्यसै पनि सुदूरपश्चिम प्रदेशमा पर्यटन राम्ररी फस्टाउन सकेको छैन। निकै सम्भावना बोकेका पर्यटकीय स्थल हुँदाहुँदै पनि भौतिक पूर्वाधारको कमीले अपेक्षा गरिए अनुसार पर्यटकको आगमन हुँदैन। त्यसैमा कोराना महामारी रोकथामका लागि सीमानाका कडाइ गरिएकोले भारतीय पर्यटक आउन सकेका थिएनन्।

प्राकृतिक तथा धार्मिक, सांस्कृतिक पर्यटनको निकै सम्भावना रहेको भए पनि सुदूरपश्चिममा अपेक्षा गरिए अनुसार बाह्य पर्यटक भित्राउन सकिएको छैन। सडक, सञ्चार, सुविधासम्पन्न होटेल, लजलगायतका पूर्वाधारको कमीले राम्ररी फस्टाउन नसकेको सुदूरपश्चिम प्रदेशको पर्यटन कोरोना महामारीका कारण झनै थला परेको छ। कोरोना महामारी फैलिएदेखि नै सबैभन्दा प्रभावित रहेको पर्यटन क्षेत्र अहिले तंग्रिँने तरखरमा छ। कोरोना महामारीको संक्रमण दरमा निकै कमी आएसँगै सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको आवागमनमा केही सुधार आए पनि भारत र तेस्रो मुलुकका पर्यटक आवागमनमा वृद्धि हुनसकेको छैन। 

सुदूरपश्चिम प्रदेशमा धार्मिक, सांस्कृतिक, पुरातात्त्विक, साहसिक, ग्रामीण पर्यटनको राम्रो सम्भावना छ। तर, एकातर्फ आवश्यक पूर्वाधारको कमी र अर्कोतर्फ आउजाउको सहज वातावरण नहुँदा बाह्य पर्यटक भित्रिन नसकेको पर्यटन व्यवसायीहरूको गुनासो छ। 

नेपाल एसोसिएसन अफ टुर्स एण्ड टाभल्स (नाटा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्ट सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिमा पर्यटन क्षेत्रको राम्रो योगदानको सम्भावना रहे पनि भौतिक पूर्वाधारका साथै सरकारको ठोस नीति नभएका कारण फस्टाउन नसकेको बताउँछन्। 

नाटा प्रदेश अध्यक्ष भट्ट बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आउने र ठूलो जनसंख्या रहेको भारतको उत्तराञ्चलका पर्यटकलाई मात्रै लक्षित गरेर कार्यक्रम बनाउने हो भने सुदूरपश्चिम प्रदेशको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउँछन्। प्रदेशको पर्यटन मन्त्रालयले ‘जाऊ है सुदूरपश्चिम घुम्न’ जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको सुझाव छ। 

होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष कलमबहादुर बम पनि पर्यटन विकासमा प्रदेश, संघ सरकार र स्थानीय तहले उचित ध्यान नदिएको बताउँछन्। उनको धारणामा सुदूरपश्चिम प्रदेशको पर्यटन विकासमा तीनै तहका सरकारबीच राम्रो समन्वय छैन। 

कोरोना महामारीको संक्रमणमा निकै कमी आएसँगै व्यापार, व्यवसाय, यातायात, विद्यालय आदि पहिलेकै अवस्थामा फर्किए पनि पर्यटन व्यवसाय र खासगरी होटेल व्यवसाय पूर्ववत् अवस्थामा आउन नसकेको उनको भनाई छ। 

उनका अनुसार सुदूरपश्चिम प्रदेशमा होटेल व्यवसायमा निकै ठूलो लगानी रहेको छ। कैलालीमा मात्रै होटेल व्यवसायमा १० अर्ब रुपैयाँ बढीको लगानी रहेको छ। अध्यक्ष बमका अनुसार कैलालीमा सानाठूला गरी २५ सय बढी होटेल, लज सञ्चालन छन् भने १६ हजार जनाभन्दा बढीले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन्।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन इकाई प्रमुख भोजराज पाठकले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास, क्षमता अभिवृद्धि, प्राकृतिक तालतलैया संरक्षण, पदमार्ग र भ्यू टावर निर्माणको काम अघि बढिरहेको बताए। 

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले प्रदेश सरकारले यस वर्षको बजेटमा केही प्रमुख पर्यटकीय गन्तव्यका लागि बजेट विनियोजन गरेको बताए। उनले चालु आर्थिक वर्षमा केही दुर्गम जिल्लाका पर्यटकीय स्थलमा पर्यटक आवास गृह निर्माणको लक्ष रहेको बताए। 

सुदूरपश्चिम प्रदेशमा पर्यटकलाई आकर्षण गर्ने खालका निकै सम्भावना रहेका पर्यटकीय गन्तव्य रहेका छन्। आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याएर समृद्ध सुदूरपश्चिम बनाउन सकिने थुप्रै सम्भावना छन्। तर, प्रदेश सरकारले वर्षेनी पर्यटन शीर्षकका नाममा स–साना मन्दिरमा मात्रै लगानी गर्दै आएको छ। प्रदेश सरकारले दीर्घकालीन पर्यटन गुरुयोजना बनाएर लागू गर्न आवश्यक देखिन्छ।