कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ को वडा कार्यालयले सेवा बन्द गरेको छ । क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको घटनालाई लिएर जनप्रतिनिधिहरुलाई गालीगलौज र तोडफोड भएपछि वडा कार्यालयले कारवाहीको माग सहित सेवा बन्द गरेको हो । वडाध्यक्ष जनकबहादुर बमले विज्ञप्ती जारी गर्दै जनप्रतिनिधिलाई गालीगलौज गरी तोडफोड गर्नेलाई पक्राउ गरी कारवाही नगरेसम्म वडा कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द हुने बताएका छन । वडाका जनप्रतिनिधि र कर्मचारीको सुरक्षाको प्रत्याभुतिको माग समेत विज्ञप्तीमा गरिएको छ ।
यस्तै प्रहरीले सामूहिक बलात्कारमा संलग्न भनिएका युवक क्वारेन्टिनमा स्वयसेवकको रुपमा खटिएको बताए पनि वडा कार्यालयले भने उनीहरु आफु खुसी काम गर्न क्वारेन्टिनमा गएको दावी गरेको छ । वडाध्यक्ष बमले जारी गरेको विज्ञप्तीमा घटनाप्रति खेद समेत व्यक्त गरिएको छ भने दोषीलाई कारवाहीको दायरामा ल्याएर पिडितलाई न्याय दिन माग पनि गरिएको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर १ को शहिद स्मृती माविको क्वारेन्टिनमा बसेकी ३१ वर्षीया महिलामाथि शनिबार राती तीन जनाको समूहले जबरजस्तीकरणी गरेको आरोप लागेको छ । उनीहरुलाई प्रहरीले आईतबार पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन विक रहेको प्रहरीले जनाएको छ । तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।