म पार्टी हितमै काम गरिरहेको छुः सभापति शाह
2021/10/11, 7:15
 
dd

नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ले पार्टीकै हितमा काम गरिरहेको बताएका छन ।
केही अग्रज नेताहरुले अहिले पार्टी सभापति शाहले पार्टीलाई फूटतर्फ लग्ने गरी काम गरिरहेको आरोप लगाएपछि सो प्रतिक्रिया दिएका हुन ।  ‘मेरो बाजे, बुवा काँग्रेसको जिल्ला सभापति भएर पार्टीभित्रै योग्दान दिए । पार्टीभित्र सबैभन्दा युवावस्थामै म पनि जिल्ला सभापति बने’ सोमबार एक समारोहलाई सम्बोधन गर्दै भने –‘अहिले केही अग्रज नेताहरुले मैले पार्टीलाई फूटतर्फ लगेको भन्ने आरोप लगाएको सुनेको छु । मेरो बाजे, बुवा र मेरो नामलाई कायम गर्न पनि मैले पार्टीको अहित गर्नुहुँदैन र गरेको पनि छैन ।’

सभापति शाहले पार्टीको महाधिवेशन नजिकिएसंगै पार्टीभित्र गुटउपगुटको नारा लगाई कार्यकर्ता फुटाउने प्रयास भएको बताए । ‘यो वडा बनाउने मानिस तपाईहरुनै हो । यहाँ बाहिरिया मानिस आएर तपाईका लागि काम गर्ने होइनन । यदि तपाईहरु बाहिरिया हष्तक्षेप यहाँ निम्त्याउनुहुन्छ । अरुको कुरा सुनेर काम गर्नुहुन्छ भने यो संगठनलाई हानी पुर्याउँछ’ उनले भने –‘हजुरहरुको आफनो विवेकले के भन्छ । निर्णय गर्नुहोस । केन्द्रको झगडा यहाँ ल्याउनु हुन्न । यसले पार्टीलाई प्रदेश, स्थानीय तह र संघिय निर्वाचनमा असर पुर्याउँछ । हामीले पार्टी बलियो बनाउनु छ र हरेक तहमा पार्टीकै नेतृत्व चाहनुहुन्छ भने गुटउपगुट नभनी सबै तहको सम्मानजन प्रतिनिधित्व संगठनमा ल्याउनुहोस ।’

उनले सबै वर्ग, समुदायलाई संगठनमा ल्याउन सबैलाई आग्रह गरे । उनले जिल्लामा पार्टीभित्र नयाँ अभ्यास सुरु गरेको बताए । ‘हामी हरेक वडा, नगर र जिल्लामा गुट उपगुट नभई सर्वसम्मत ढंगले योग्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ भनिरहेका छौं । हामीले केन्द्रको झगडा चाहदैनौं’ उनले भने –‘गुटबन्दी र विचारका कुरा महाधिवेशन प्रतिनिधी चयन गर्दा लागु हुन्छ । तल्लो तहमा यो हुँदैन । हामीले अहिले सबै गुटका साथीहरुलाई लिएर अघि बढेका छौं ।’ उनका अनुसार अहिले सो अभियानमा पाँच वटा क्षेत्रीय सभापतिमध्ये चार जना, दशवटा सभापतिमध्ये आठ, १३ वटा स्थानीय तहका सभापतिमध्ये दश र एक सय २६ वडा सभापतिमध्ये ८२ जना सो अभियानमा सहभागि रहेका छन ।