घरबाट दाउरा ल्याएर पानी तताउँछन् संक्रमित
2020/06/15, 4:28
 
korona

खप्तडछान्ना गाउँपालिकाको आइसोलेसनमा रहेका संक्रमितहरूले गाउँपालिकाले आफूहरूलाई पर्याप्त खाद्यान्न नदिएको र त्यो पनि गुणस्तरहीन रहेको आरोप लगाएका छन् । खानेपानी तताउन दाउरा समेत घरबाट ओसार्नुपरेको उनीहरूको गुनासो छ । खप्तड छान्ना गाउँपालिकाको क्वारेन्टाइन जहाँ संक्रमण पुष्टि भएका र नभएकालाई एउटै विद्यालयमा राखिएको छ । संक्रमितका अनुसार गाउँपालिकाले किरा परेको चामल उपलब्ध गराएको छ । त्यो खाएर पखाला चल्न थालेपछि धेरैजसोले घरबाटै खाना मगाउन थालेका छन् । घर टाढा हुनेहरू भने त्यही खान बाध्य छन् । केही दिनअघि वडा कार्यालयले दिएको एक किलो दाल सकिएपछि निस्तो भात खात खानुपरेको कतिपयको भनाइ छ ।

‘पानी तताउन डेढ घण्टा टाढाको घरबाट दाउरा ल्याउनुपर्छ,’ एक संक्रमितले भने, ‘नजिक हुनेहरूले घरबाट खाना मगाएर खाने गरेका छन् । टाढा घर भएकाहरू निस्तै भात खाएर बसिरहेका छन् ।’ संक्रमितहरूले ओढ्ने–ओछ्याउने र भाँडाकुँडासमेत घरबाटै ल्याएका छन् । ‘पसलमा किन्न खोज्दा हामीले छोएको पैसा चल्दैन,’ अर्का संक्रमितले भने, ‘उधारो दिनुस्, निको भएपछि तिरौंला भन्दा पसलेले पत्याउँदैन । वडाका मान्छेलाई समस्या सुनाउन खोज्दा फोनै उठाउँदैनन् । हामी समस्यामा प¥यौ ।’ उनले आफूहरूलाई अपराधी जस्तो व्यवहार गरिएको बताए ।

खप्तडछान्ना गाउँपालिकामा संक्रमण पुष्टि भएका ६ मध्ये ५ जना स्थानीय मेलतडी माध्यमिक विद्यालयमा बसिरहेका छन् । एक जनाको स्वास्थ्यमा समस्या देखिन थालेपछि जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमितहरू राखिएको विद्यालयमै भारतबाट आएकाहरूलाई पनि राखिएको छ । क्वारेन्टाइनमा रहेका अन्यलाई पनि गाउँपालिकाले पर्याप्त खाद्यान्न उपलब्ध नगराएको गुनासो छ । छोरा, बुहारी र १० महिनाकी नातिनीसँगै क्वारेन्टाइनमा रहेकी सन्जा थापाले भनिन्, ‘चामल भए पनि दाल हुँदैन, नुन पनि सकिएको छ । गतिलो खाना नभएर बुहारीको दूध आउनै छोडिसक्यो । नातिनी पनि बिरामी छ ।’ उनले आफूहरूको कोरोना परीक्षण गरेर छिटो घर पठाउने व्यवस्था गरिदिन अनुरोध गरिन् ।

संक्रमित र आफूहरूले प्रयोग गर्ने धारा, चर्पी एउटै भएका कारण रोग सर्ने डर थपिएको क्वारेन्टाइनमा रहेका राजेन्द्रराज पाध्याले बताए । गाउँपालिकाले संक्रमण पुष्टि भएका र नभएकालाई छुट्टाछुट्टै व्यवस्था नगर्दा जोखिम समुदायमा फैलिने खतरा रहेको उनको भनाइ छ । यो विद्यालयमा ३ दिनअगाडिसम्म संक्रमितसहित ७६ जनालाई राखिएको थियो । हाल आरडीटीमा नेगेटिभ देखिएकालाई घर पठाइए पनि पीसीआर रिपोर्ट आउन बाँकी रहेका २२ जना त्यहीँ छन् । गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले भने गाउँपालिकाले सक्नेजति सबै कुराको व्यवस्था गरिदिएको बताए । ‘फटाहाहरूलाई भन्न दिनुस् । हामीले सबै व्यवस्थापन गरेका छौं,’ उनले भने । गाउँपालिकाको स्टोरबाटै त्यहाँ चामल पठाइएको बताउँदै उनले दाल भने सकिएका कारण नदिइएको स्विकारे ।

‘दाल सकिएकोले त्यतैबाट किनेर दिनू भनेर वडाका मान्छेलाई भनेको थिएँ । नदिएको भए म बुझ्छु,’ उनले भने । यस्तै संक्रमितहरू राखिएको खप्तड छान्ना गाउँपालिका–३ का वडाध्यक्ष मंगल सुनारले संक्रमित र क्वारेन्टाइनमा भएकाहरूलाई वडाले सक्नेजति सुविधा उपलब्ध गराएको बताए । बजारमा दालको अभाव रहेका बेला गाउँबाट समेत किनेर उपलब्ध गराएको जनाउँदै उनले आरोप सत्य नरहेको दाबी गरे । खप्तड छान्ना गाउँपालिकाको कार्यपालिकाले केही दिन अघि बाहिरबाट आएका मानिसलाई क्वारेन्टाइनमा नराखी सोझै घर पठाउने निर्णय गरेपछि विरोध भएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयको दबाबमा घर पठाइएकालाई पनि क्वारेन्टाइनमा राख्न लगाइएको थियो ।