धनगढीका दुई मिल्ने साथीको भारतको चेन्नईमा मृत्यु
2021/10/27, 6:59
 
dd

त्रिनगर माध्यामिक विद्यालयका २०५३ व्याच (एसएलसी) का दुई मिल्ने साथी बिजया बिष्ट र रीता श्रीसको भारतको चेन्नईमा मृत्यु भएको छ ।

संयोग पनि कस्तो दुबै जनाको एउटै मिति अर्थात ६ गते मृत्यु भयो । कोरोना संक्रमणपछि उपचाररत रीताको असार ६ गते चेन्नईको कोईम्दुर अस्पतालमा मृत्यु भयो । उनको मृत्यु अघि जेठ १९ गते ससुरा र जेठ ६ गते कोरोना संक्रमणबाट उनका पतिको मृत्यु भयो । कोरोना संक्रमणबाट रीताका नाबालक छोरा मात्र जोगिए । 

उनकी मिल्ने साथी बिजया बिष्टको भने मुटुको अप्रेशनका क्रममा कार्तिक ६ गते मृत्यु भयो । ६ महिना अघि मृत्यु भएकी रिताको झै बिजयाको पनि चेन्नईमै अन्त्येष्टि भयो । धनगढी उपमहानगरपालिका–५ तारानगरकी बिजया बिष्टको धनगढी –१ बुद्ध मन्दिर लाईनका आकाश पाण्डेयसंग बिहा भयो । र उनी सपरिवार काठमाण्डौं बस्न थालिन । 

१३ वर्षअघि छोरीलाई जन्म दिएकी बिजयाको अप्रेशनका क्रममा मुटुको समस्या देखियो । र त्यही समस्याको समाधानका लागि उनलाई १३ वर्षपछि चेन्नई लगिएको थियो । यद्दपि अप्रेशन हुन नपाउदै उनको मृत्यु भयो ।

यसअघि चेन्नईमै मृत्यु भएकी धनगढीकी रीता श्रीस बिबाहपछि पतिसंगै भारतको पुना बस्दै आएकी थिईन । उनी ससुरालाई भेट्न पति र छोरासंगै चेन्नई गएकी थिईन । त्यही बेला तातो दुधले पोलिएको हातको डे«सिङका लागि अस्पताल जादै गर्दा उनका पति कोरोनाबाट संक्रमित भए ।

र कोरोनाको उपचारका क्रममा जेठ ६ गते उनका पतिको मृत्यु भयो । त्यही क्रममा कोरोनाबाट संक्रमित भएका उनका ससुराको १३ दिनपछि मृत्यु भयो । श्रीमानको मृत्यु भएको ३० दिनमा रिताको पनि मृत्यु भयो। कोरोनाका कारण बुवा,आमा र हजुरबुवा गुमाएका रीताका छोरा यतिबेला धनगढीमा मावली हजुर बुवाको घरमा हुर्किईरहेका छन् ।

उता बिजयाकी १३ वर्षीया छोरी आफ्ना बुवाका साथमा छिन् । धनगढीमा जन्मिएर यही हुर्किएका दुई मिल्ने सहपाठी बिजया र रीता बिहापछि फरक फरक ठाउँमा बस्दै आएपनि संयोगले दुबै जनाको मृत्यु भने एउटै ठाउँमा हुन पुग्यो । त्यो पनि एउटै मितिमा ।