महाकाली लोकमार्गअन्तर्गतको दार्चुला–तिंकर सडक खण्डको संघीय संसद्को विकास तथा प्रविधि समितिले निरीक्षण गरेको छ ।
समिति सभापति कल्याणी खड्का नेतृत्वको १३ सदस्यीय टोलीले नेपाली सेनाको हेलिकोप्टरमार्फत उक्त सडकको निरीक्षण तथा अनुगमन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी पुष्करसिंह ऐरीले जानकारी दिए ।
शुक्रबार बिहान करिब १० बजे आएको उक्त समिति हेलिकोप्टरमार्फत व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु पुगेको थियो । छाङरुमा स्थानीयसँग छलफल गरी नेपाली सेनाले ब्यास गाउँपालिका(२ मा निर्माण गरिरहेको सडकको हवाइ निरीक्षणसमेत गरेको उनले बताए ।
ब्यास गाउँपालिका-४ सुन्सेरामा रहेको नेपाली सेनाको विकास निर्माण दलको क्याम्पमा पुगेर समितिले तिंकर सडकको निर्माण प्रगतिबारे जानकारी लिएको छ । सडकको निरीक्षण गरी टोली दिउँसो १ बजे बझाङका लागि प्रस्थान गरेको थियो ।
आर्थिक वर्ष २०६५/०६६ मा निर्माण सुरु भएको दार्चुलाको अतिक्रमित भूमि कालापानी, लिपुलेक क्षेत्र जोड्ने दार्चुला–तिंकर सडकको हालसम्म ४३ किलोमिटर ट्याक मात्रै खोलिएको छ ।
रणनीतिक तथा पर्यटकीय महत्त्व बोकेको सडकको निर्माण कछुवा गतिमा हुन थालेपछि नेपाल सरकारले गत वर्ष कूल १३४ किलोमिटर सडक मध्ये कडा चट्टानी भू–भाग रहेको ८७ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । चालु आर्थिक वर्षदेखि व्यास गाउँपालिका वडा नम्बर २ क्षेत्रमा नेपाली सेनाले सडकको निर्माण कार्य गरिरहेको छ ।