कैलालीका होमस्टेमा अझै चहलहपल बढ्न सकेन
2021/10/31, 9:27
 
news

दुई वर्ष अगाडि होमस्टे सुरुवात गर्दा लम्कीचुहा नगरपालिका–३ बल्चौरका मुक्त कमैया किशोर चौधरीलाई पाहुना स्याहार्न भ्याइ नभ्याइ थियो । मुक्त कमैयाहरुले सञ्चालन गरेकाले विभिन्न गैरसरकारी संस्थाका व्यक्तिदेखि लिएर विदेशी पाहुनाकोसमेत होमस्टेमा राम्रै आउजाउ हुन्थ्यो । 

‘त्यो बेला पाहुनाको सत्कारमै दिनचर्या बितेको पत्तै हुदैनथ्यो’, किशोर भन्छन् । ‘एकपछि अर्को टोली गरेर हाम्रो होमस्टेमा पाहुनाहरु आएकै हुन्थे ।’ स्थापनाको दुई महिनासम्म बल्चौरस्थित बसेरा होमस्टेका सञ्चालकहरुलाई पाहुनाको स्वागत गर्न हम्मे–हम्मे जस्तै थियो । तर, त्यस लगत्तै सुरु भएको कोरोना महामारीका कारण     सो होमस्टे थला परेको छ । 

कोरोना भाइरसको प्रकोप सुरु भएपछि पर्यटक आउन छाडे । बन्दाबन्दीले व्यवसाय नै ठप्प भयो । पहिलो र दोस्रो लहरको कोरोनाका कारण सुनसान भएको होमस्टेमा अझै पनि पर्यटक पुग्न नसकिरहेको किशोरको भनाइ छ । ‘हामी लामो समयदेखि पाहुनाको पर्खाइमा छौं’, उनले भने ।२०७६ माघदेखि बल्चौरको सात घरमा बसेरा होमस्टे सुरु गरिएको थियो । सुरुवाती चरणमा पाहुनाको आउजाउ राम्रै भएकाले मासिक ४० देखि ५० हजार रुपैयाँसम्मको कारोबार हुन्थ्यो । त्यसले मुक्त कमैया परिवारको जीविकोपार्जनमा सहयोग पुगेको थियो । तर, बामे सर्दै गरेको होमस्टे कोरोना महामारीका कारण नराम्ररी थला परेको अर्का सञ्चालक दीपु चौधरीले बताए । 

‘स्थानीय स्रोत साधनको सदुपयोग गरेर आयआर्जन गर्ने उद्देश्यले ऋण, सापटी लिएर होमस्टे सञ्चालनमा ल्याएका हौं’, उनले भने । ‘तर, कोरोना महामारीले नराम्ररी प्रभावित भएपछि समस्यामा परेका छौं ।’ उनले दुई वर्षदेखि होमस्टे व्यवसाय राम्ररी सञ्चालन हुन नसक्दा र पाहुना नआउँदा ऋण तिनै धौ–धौ भएको बताए । 

कैलालीमा बल्चौर, घोडाघोडी नगरपालिका–४ माघी, धनगढी उपमहानगरपालिका–१६ भादा, कैलारी गाउँपालिका–७ छटकपुर बसन्ता र वडा नम्बर ९ सामरचौरामा होमस्टे सञ्चालन गरिएको छ । सञ्चालन भएका यी सबै होमस्टे पाहुनाको पर्खाइमा छन् । जिल्लामा सबैभन्दा जेठो भादा होमस्टेमा पनि पर्यटक पुग्न सकेका छैनन् । 

अहिले पर्याप्त मात्रामा विदेशी पर्यटक नेपाल नआए पनि आन्तरिक पर्यटकसमेत होमस्टेमा पुगिरहेका छैनन् । कोरोना महामारीका कारण उत्पन्न असहज परिस्थिति सहज बन्दै गएको अवस्थामा आक्कलझुक्कल आन्तरिक पर्यटक होमस्टेमा आइरहेको थारु सामुदायिक होमस्टे गाउँ भादाका होमस्टे सञ्चालक पुनाराम चौधरीले बताए । ‘कोरोना महामारीभन्दा अगाडि हरेक दिन पाहुनाको स्वागत सत्कारमा समय बित्ने गरेको थियो । मासिक १५÷२० हजार रुपैयाँ आम्दानी पनि हुने गर्दथ्यो’, उनले भने । ‘तर, अहिले धेरैजसो समय होमस्टे सुनसान छ । होमस्टे सञ्चालक बेरोजगार जस्तै भएका छौं ।’

थारु समुदायको मौलिक संस्कृति, संस्कार, नाचगान र खानपानका परिकारमार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने लक्ष्यका साथ होमस्टेहरु सञ्चालन गरिएका हुन । होमस्टेमा थारु खानाका परिकारका स्वाद लिन र मौलिक नाचगान हेर्न पाइन्छ । तर, आफूहरु लामो समयदेखि पर्यटकको पर्खाइमा बसेको चौधरीले बताए । ‘अतिथिहरु नआएपछि आम्दानी पनि छैन’, उनले भने । 

पछिल्लो समय स्वास्थ्यका मापदण्डको पालना गरेर होमस्टेहरु खोलिएका छन् । तर, पाहुना भने पर्याप्त मात्रामा छैनन् । कोरोना कहरका कारण होमस्टे व्यवसाय ठप्प सरह रहेको थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताउँछन् । ‘बन्दाबन्दीपछि होमस्टे पुनः सञ्चालनमा छ’, उनले थपे । ‘तर, पर्यटक नआएका कारण व्यवसाय ठप्प जस्तै छ ।’ कैलालीमा सबैभन्दा पहिलो भादा गाउँ होमस्टे सञ्चालन भएको थियो । २०६७ सालदेखि सञ्चालित यो होमस्टेमा हाल २० घरमा घरवासको व्यवस्था गरिएको छ । 

यसैगरी, घोडाघोडी सिमसार क्षेत्रलाई लक्षित गरेर माघी गाउँमा सञ्चालन गरिएको होमस्टे पनि सुनसान छ । आन्तरिक तथा बाह्य पर्यटक नआएपछि आफूहरु बेरोजगार नै भएको सञ्चालक शोभाराम चौधरीले बताए । ‘कोरोना महामारीभन्दा अगाडि केही हद्सम्म आन्तरिक र बाह्य पर्यटक पुग्ने गरेका थिए’, उनले भने । ‘अचेल होमस्टे सुनसान नै छ ।’ अर्का सञ्चालक प्रेमबहादुर चौधरीले पर्यटकको स्वागत गर्न नपाएको छ महिनाभन्दा बढी समय बितिसकेको उल्लेख गरे । 

माघी गाउँमा २०७१ साल साउनबाट होमस्टे सञ्चालनमा आएको थियो । सो गाउँमा १५ घरमा होमस्टे सञ्चालन गरिएको छ । एक घरमा चार जना पाहुना राख्न सकिने व्यवस्था गरिएको होमस्टे सञ्चालक समितिका अध्यक्ष भगतचन्द्र चौधरीले जानकारी दिए । ‘घोडाघोडी तालको अवलोकन गरेर फर्केका पर्यटकलाई आरामदायी बसोबास दिनुका साथै पर्यटनको माध्यमबाट आयआर्जन गर्ने उद्देश्यले यहाँ होमस्टे सञ्चालन गरिएको हो’, उनले भने ।

सुदूरपश्चिम प्रदेशमा सामुदायिक र व्यक्तिगत गरी हालसम्म १३ वटा होमस्टे सञ्चालनमा रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ ।  जसमध्ये सबैभन्दा बढी कैलालीमा रहेको छ ।