सुदुरपश्चिममा कोरोना परिक्षणः सडकदेखि सदनसम्म परिक्षणको दायरा बढाउन माग
2020/06/15, 8:59
 
korona

सुदुरपश्चिममा कोरोना परिक्षणको दायरा वढ्न सकेको छैन । सुदुरपश्चिममा ७० हजार २३ जनाको कोरोना परिक्षण गरिएको छ । प्रदेशभरी अहिलेसम्म ७६ हजार एक सय ८४ जनाको नमुना संकलन गरिएको थियो । विश्वासनीय नरहेको आरडिटी विधिबाट नै सबैभन्दा वढी परिक्षण गरिएको छ । प्रदेशका ९ वटै जिल्लाहरुमा पिसिआर विधिबाट १० हजार एक सय ९३ नमुना संकलन भएकोमा ८ हजार ८ सय ९० नमुनाको परिक्षण गरिएको छ । त्यसमा दुई सय ६१ जनामा पोजेटिभ देखिएको छ । दुई हजार २३ जनाको नमुना परिक्षण हुन बाँकी रहेको छ । मंगलवारसम्म ३० जना निको भएर डिस्चार्ज भईसकेका छन् । आरडिटी विधिबाट ६५ हजार दुई सय ७१ नमुना जाँच गर्दा तीन हजार ६ सय ७४ नमुना पोजेटिभ आएको थियो । तर परिक्षणको दायरा नवढेका कारण अधिकांश कोरोना संक्रमितहरुको परिक्षण हुन सकेको छैन । 


क्वारेन्टिनमा बसेकाहरु आन्दोलित
सुदुरपश्चिमका क्वारेन्टिनमा बसेकाहरुले पनि कोरोना परिक्षणको माग गरेका छन् । कतिपय स्थानका क्वारेन्टिनमा वसेकाहरुले कोरोना परिक्षण हुनुपर्ने माग गर्दै आन्दोलन समेत गरेका छन् । कैलालीकोे गौरीगंगा नगरपालिका वडा नम्बर ६ को अमर माध्यमिक विद्यालयमा बसेकाहरु आन्दोलनमा उत्रिएका हुन ।  उनीहरुले नगरपालिकाको वडा नम्बर ६ को कार्यालय घेराउ समेत गरे । भारतबाट फर्किएको लामो समय हुँदा पनि प्रयोगशालामा कोरोना परीक्षण नगरिएको भन्दै वडा कार्यालय घेराउ गरेको क्वारेन्टाईनमा रहेका रमेश जोशीले जानकारी दिए । विद्यालयको क्वारेन्टिनमा रहेका ६२ जना मध्ये कसैको पनि पिसीआर परीक्षण गरिएको छैन् । 
आरडिटी पोजेटिभ देखिएकाहरुको पनि पिसीआर परीक्षण नगरिएको भन्दै उनीहरु समुह बनाएर वडा कार्यालयमा आएको वडा अध्यक्ष कमला शर्माले बताइन् । उनले पिसीआर परीक्षणका लागि पहल भइरहेको जानकारी दिइन ।  

सुदूरपश्चिमका सांसदको गुनासोः ‘कोरोना परीक्षणको दायरा बढेन’
सुदूरपश्चिम प्रदेश सभाका सदस्यले कोभिड–१९ को रोकथाम र निगरानीमा थप प्रभावकारी पहल गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको बैठकमा समय लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दीर्घबहादुर सोडारीले मिर्गौलाको उपचारका क्रममा रहेका धनगढीका एक बिरामीको मृत्युपछि कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको घटनाले गम्भीर अवस्था देखिएको भन्दै कोरोनाको न्यूनीकरणका लागि द्रुतगतिमा काम गर्न ध्यानाकर्षण गराए । 
नेपाली काँग्रेसका भारतबहादुर खड्काले डोटी र बैतडी जिल्लामा पनि प्रयोगशाला सञ्चालनमा ल्याइ कोभिड–१९का शङ्कास्पद व्यक्तिको स्वास्थ्य जाँचको दायरलाई तीव्र बनाउन र क्वारेन्टिनमा बसेकाको उचित व्यवस्थापन गर्न माग गरे । नेकपाकी सांसद पूर्णा जोशीले डोटीको केआइसिंह गाउँपालिकाको क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु भएको भन्दै उचित व्यवस्थापन हुन नसकेकै कारण क्वारेन्टिन कोरोनाको संक्रमण हुने घर बन्न लागेको खतरा देखिएकाले रोकथामका लागि समयमै ध्यान दिन माग गरिन् । 

सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भारतबाट आएका ६४ हजार बढीलाई क्वारेन्टिनमा राखिएको छ । भारतमा कोरोना भाइरसको जोखिम भएको क्षेत्रबाट फर्किएका ६४ हजार एक सय ५ जनालाई नौ जिल्लाका एक हजार ७ सय २६ वटा क्वारेन्टिनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।  क्वारेन्टिनमा राखिएका मध्ये ५४ हजार चार सय ५३ जना पुरुष र ९ हजार ६ सय ५२ जना महिला रहेका छन् । सबैभन्दा बढी कैलालीमा १९ हजार ४ सय १७  जना, डोटीमा ९ हजार ६ सय २२ र कञ्चनपुरमा ९ हजार ८९ जनालाई क्वारेन्टिनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ । अछाममा ७ हजार ३ सय ५५ जना, बैतडीमा चार हजार ६ सय ३६ जना, डडेल्धुरामा चार हजार ४ सय ९२ जना, बझाङमा दुई हजार नौँ सय ७० जना, बाजुरामा चार हजार ९ सय २९ जना, दार्चुलामा एक हजार पाँच सय ९५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु भारत सहित कोरोनाको जोखिम भएको क्षेत्रबाट फर्किएका हुन । सुदूरपश्चिम प्रदेशमा ७६ हजार ६ सय ५३ जना अटाउने क्वारेन्टिन स्थापना गरिएको छ ।

स्वस्फुर्त रुपमा युवाहरुको प्रदर्शन
सुदुरपश्चिममा पिसीआर परिक्षणको माग गर्दै स्वस्फुर्त रुपमा युवाहरुले प्रदर्शन गरेका छन् । सुदुरपश्चिममा कोरोना परिक्षणको दायरा वढ्न नसकेको फेशवुकबाट जोडिएका युवाहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । प्रचण्ड गर्मीमा पसिना चुहाउँदै धनगढीका विभिन्न स्थानहरुबाट आएका युवाहरुले पिसिआर परिक्षणको माग गरेका हुन् । उनीहरुले प्लेकार्ड सहित मुख्यमन्त्री कार्यालयको गेट अगाडी धर्ना समेत दिएका छन् । आरडिटी परिक्षण बन्द गरिनुपर्ने माग गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिईएको हो । धनगढीका युवाहरुले कोरोना रोग पत्ता लगाउन प्रयोगमा ल्याइएको आरडिटी परिक्षण बन्दको माग गर्दै धर्ना दिएका हुन । उनीहरुले विश्व स्वास्थ्य संगठनले नै आरडिटी विधि विश्वसनीय नभएको प्रमाणित गरेको दाबी गर्दै नेपालमा भने अझै प्रयोग गरी स्वास्थ्य परिक्षण गर्ने गरेको भन्दै यसलाई रोक्न माग गरेका छन । उनीहरुले तत्कालै सो विधी हटाई पिसीआर विधिबाट स्वास्थ्य चेकजाँच गर्न माग गरेका हुन् । विश्व स्वास्थ्य संगठनले नै रयापिट टेष्ट विधी विश्वसनीय नभएको प्रमाणित गरेको अवस्थामा नेपालमा अझै र्यापिट टेष्टकै प्रयोग गरी स्वास्थ्य परिक्षण गर्ने गरेको भन्दै युवाहरुले तत्कालै सो विधी हटाई पिसीआर विधिबाट स्वास्थ्य  चेकजाँच  गर्न माग गरेका हुन् । ‘इनफ इज इनफ’ फेसबुक पेजमा पोष्ट गरिएको ‘र्यापिट टेष्ट विधी बन्द गराउन दबाव’ लाई हेरेर आफुहरु स्वस्फुर्त रुपमा मुख्यमन्त्री कार्यालय अगाडी पुगेको धनगढी–२ का गौरभ कुँवरले बताए । गौरीफण्टा नाकाबाट दैनिक पाँच हजार भन्दा बढी नागरिक भित्रिरहँदा सुदूरपश्चिम प्रदेशमा २, ३ सयको मात्रै पिसीआर स्वास्थ्य चेकजाच हुने गरेको भन्दै धर्नामा सहभागी किरन बमले सरकार जनताको स्वास्थ्य प्रति गम्भीर बनोस भनेर धर्ना दिएको बताए ।
युवाहरुले ‘कि सुरक्षा निभाउ हैन भने मरिरहेका जनताको जिमेवारी लेउ, जनता कोरोनाले हैन, लापरवाहीले मर्दैछन्, सरकारले जिम्मेवारी पुरा गरे हाम्रो साथ छ, नागरिकलाई भौकै मार्न पाईदैन, आवश्यक स्वास्थ्य सामाग्री ल्याउ, र्यापिट टेष्ट बन्द गर’ लेखेका पम्प्लेट बोकेर धर्ना दिएका थिए । ‘इनफ इज इनफ’ फेसबुक पेज मार्फत संयोजन गरेका विनोद देउवाले जनता कोरोनाको महामारीसंगै भोकले मरिरहेका बेला प्रदेश सरकार निष्कृय बनेका कारण धर्ना कार्यक्रम आयोजना गरिएको बताए । युवाहरुले बुधबार बिहान एघार बजेदेखि आधा घण्टा कार्याल्य अगाडी धर्ना दिएका थिए ।

पिसिआर परिक्षण गर्न कांग्रेसको माग 
आरडिटी परीक्षण भरोसा योग्य नभएको भन्दै नेपाली कांग्रेस गौरीगंगा नगर कार्य समितिले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदीलाई ज्ञापन पत्र बुझाएको छ । आरडिटी परीक्षण भरपर्दो नभएको र ग्रामीण क्षेत्रका नागरिकलाई धेरै समय क्वारेन्टिनमा कैद गरिरहँदा असारमा किसानलाई खेतीपाती गर्न समस्या पर्ने भन्दै कांग्रेस नगर कार्य समितिले क्वारेन्टिनमा रहेका नागरिकलाई चाँडो भन्दा चाँडो आरडिटी नभई पिसिआर परीक्षण गर्नुपर्ने माग राखेको हो । मन्त्री सुवेदीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै परिक्षणको दायरा वृद्धि गर्नुपर्ने, आरडिटी परीक्षण नगरी पिसिआर परीक्षण गर्नुपर्ने, क्वारेन्टाइनलाई व्यवस्थित गरिनुपर्ने, प्रत्येक स्थानीय तहमा आइसुलेसनको व्यवस्था गर्नुपर्ने लगायतका माग राखिएको छ । मागप्रति मन्त्री सुवेदीले सकारात्मक हुँदै भने, ‘हामी तपाईहरुको मागप्रति सकारात्मक छौँ । प्रदेश सरकारले स्थानीय तहलाई बजेट दिए पनि त्यसलाई स्थानीय तहले सोचे जस्तो काम नगरिदिएका कारण समस्या भइरहेको छ ।’ 

कोरोना रोकथाममा गम्भीर नभएको भन्दै सरकार विरुद्ध प्रदर्शन 
सरकारलाई खवरदारी गर्दै धनगढीमा प्रदर्शन गरिएको छ । कोरोना भाइरसको रोकथाममा सरकार गम्भीर नभएको भन्दै धनगढीमा प्रदर्शन गरिएको हो । ‘प्रदेश सरकार ! तिम्रो पाराले, दुख पायो साराले, कोरोना मौलायो हाम्रो सरकार बौलायो, सरकार की त जाग की त भाग, सासंदको भत्ता पाक्ने नागरिकको भात नपाक्ने, सरकारलाई जिमखाना नागरिकलाई छैन् खाना’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित सरकारका विरुद्ध प्रदर्शन गरिएको हो । आरडिटी बन्द गरेर शत प्रतिशत कोरोना परीक्षण पिसीआर विधिबाट गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनपर्ने, कोरोना रोकथामका लागि सरकारले गरेको खर्च सार्वजनिक गर्नुपर्ने लगायतको माग राख्दै पिडित नागरिकको तर्फबाट प्रदर्शन गरिएको हो ।