२७ वर्षदेखि बन्द गोकुलेश्वर विमानस्थलको पुनर्निर्माण सुरु
2021/11/03, 12:15
 
dd

२७ वर्षदेखि बन्द रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थल पुनर्निर्माणको काम सुरु भएको छ । विमानस्थल निर्माणको काम शुरु भएसँगै हवाइ सेवा सुरु हुने आशाले स्थानीय हर्षित भएका छन् । सरकारसँगको सम्झौतापछि केएस कन्सट्रक्सन प्रालिले विमानस्थल निर्माणको काम शुरु गरेको हो । 

विमान स्थलमा माटो भर्ने (फिलिङ र ग्याबीन) को काम गर्ने गरी सम्झौता भएको छ । एक वर्षमा फिलिङ र ग्याबीनको काम सम्पन्न गर्न तीन करोड ५८ लाख बजेटमा सम्झौता भएको कम्पनीका साइट इन्चार्ज राजेन्द्र ऐरले जानकारी दिए । अहिले विमानस्थलमा उम्रिएको घास उखेल्ने काम भइरहेको छ । तिहारलगत्तै फिलिङ र ग्याबीनको काम थाल्ने तयारी निर्माण कम्पनीले गरेको छ ।विमानस्थल निर्माणको काम शुरु भएपछि स्थानीयबासिन्दा खुसी भएका छन् ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा गोकुलेश्वरसंगै बन्द भएका विमानस्थल सञ्चालनमा आइसकेको भए पनि गोकुलेश्वर विमानस्थल निर्माणमा ढिलाइ भइरहेको छ । ढिलै भए पनि विमानस्थल निर्माणको काम थालेकोमा निकै खुसी लागेको विमान स्थलमा कार्यरत कार्यालय सहयोगी रामदत्त बिष्टले बताए । 

तत्कालीन बोहरीगाउँको देवथलीमा प्रस्ताव गरिएको विमानस्थल निर्माण गर्न स्थानीयवासीले स्वीकृति नदिएपछि चमेलिया नदी किनारमा रहेको गोकुलेश्वरमा २०४४÷०४५ सालतिर विमानस्थल निर्माणको काम शुरु भएको थियो । २०४६ सालदेखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल २०५० साल मंसिर २२ गतेदेखि पूर्ण रूपमा बन्द भएको बिष्टले बताए ।

२०६० सालदेखि कार्यालय सहयोगीका भरमा छाडिएको विमानस्थल अहिले जीर्ण छ । यो विमानस्थल गाइ, भँैसी चरन तथा खेल मैदानका रूपमा प्रयोग हुँदै आएको छ । गोकुलेश्वर विमानस्थल सञ्चालन गर्न सके दार्चुला, बैतडी र बझाङका नागरिक लाभान्वित हुनेछन् । पर्यटन विकास, जनजीविका, व्यापार, व्यवसाय र यस क्षेत्रको विकासका लागि यो विमानस्थल निर्माण गर्न जरुरी रहेको स्थानीय प्रेम जोशीले बताए ।

जिल्लामा हवाइ सेवा नहुँदा समयमै अस्पताल पुग्न नपाएर बिरामीले अकालमै ज्यान गुमाइरहेका छन् । कार्यालय प्रमुख र अधिकारीहरु तथा पर्यटकहरु समेत यातायातको सहज व्यवस्था नहुदा दार्चुला कमै मात्र पुग्ने गरेका छन् । विमानस्थल सञ्चालन नहुँदा पर्यटकीय र व्यापारिक सम्भावना बोकेको दार्चुलाको पर्यटन प्रवद्र्धन हुन सकेको छैन । प्रदेश राजधानीबाट झण्डै ३५० किलोमिटर सडकमार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । 

दार्चुला जडीबुडी, पर्यटन र उद्योगको लागि उपयुक्त रहेको व्यवसायीहरुले बताएका छन् । यी सबै कुराको विकासका लागि सडक र हवाइ यातायातको पूर्वाधार आवश्यक भए पनि हवाइ सुविधा नहुँदा पर्यटन विकास हुन नसकेको स्थानीयको भनाइ छ । दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्र र मालिकार्जुन धाम सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्यको सूचीमा छ । 

विमानस्थल सञ्चालनका लागि दार्चुलाबाट निर्वाचित सासंद एवम् पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको पहलमा अर्थ मन्त्रालयबाट गत आर्थिक वर्षमा बजेटको सुनिश्चितता भएर ठेक्का प्रकृया अगाडि बढेको थियो । अर्थ मन्त्रालयको मिति २०७७ साल माघ २१ गतेको निर्णयअनुसार विमानस्थलको निमार्ण कार्य अगाडि बढाउने उद्देश्यले बजेटको सुनिश्चितता भएको सहमतिपत्र राष्ट्रिय योजना आयोगलाई पठाइएको थियो । 

गत वर्ष डिपीआर तयार गरी स्वीकृत भइ सकेको उक्त विमानस्थल सञ्चालनका लागि वहुवर्षे ठेक्कामार्फत काम शुरु भएको सांसद ठगुन्नाले बताए । शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा रहेको विमानस्थल सञ्चालनमा आए दार्चुलाका साथै बैतडी र बझाङ जिल्लाका नागरिकहरुले समेत सेवा पाउने छन् । दार्चुलाको दिर्घकालीन विकासको लागि गोकुलेश्वर विमानस्थल सञ्चालन गर्नु अपरिहार्य रहेको स्थानीयको भनाइ छ । चालु आर्थिक वर्षको बजेटमा समेत गोकुलेश्वर विमानस्थलसहित देशका विभिन्न विमानस्थल सञ्चालन तथा पुननिर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।