धनगढीको एयरक्राफ्ट म्यूजियमका लागि जग्गा अभाव, अन्तै लैजाने तयारी
2021/11/04, 6:04
 
aa

धनगढीमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न वायुयान संग्रहालय (एयरक्राफ्ट म्यूजियम)का लागि जग्गा अभाव देखिएको छ। बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा क्याप्टेन बेद उप्रेतीले लिजमा लिएको जमिनको सम्झौता अवधि सकिएकाले नयाँ जग्गा पाउन समस्या भइरहेको बताए। ९ वर्षअघि हसनपुरमा स्थापना गरेको एयरक्राफ्ट म्यूजियम विदेशमा खुलेका जहाजसँग सम्बन्धित संग्रहालयहरु भन्दा पृथक भएको बताए। ‘यस्तो नौलो कन्सेप्टमा संग्रहालय कतै बनेका थिएनन। थन्केर बसेको जहाजलाई उपयोग गर्न संग्रहालय बनाए। तर अहिले जमिन पाउन समस्या भइरहेको छ’ उनले भने। 

उनले नेपाली आकाशमा उडेर बन्द भएको कस्मिक एयरको फोकर–१०० जहाजलाई संग्रहालयको रूप दिएका थिए। एयरक्राफ्टलाई नै संग्रहालय ‘घर’ बनाइएको थियो। तर डिसेम्बरसम्म म्यूजिम खाली गर्नुपर्ने भएकाले समस्या भएको उनले बताए। म्यूजियम राखिएको जमिनसँग भएको सम्झौता अवधि सकिएपछि महेन्द्रनगर वा नेपालगन्ज लैजाने की भन्ने दुविधामा क्याप्टेन उप्रेती परेका छन्।

राइट ब्रदर्सका पालादेखि हालसम्मका दुई सय वटा मिनियचर एयरक्राफ्ट म्यूजिमभित्र राखिएका छन्। ती मध्ये केही जहाज रिमोट कन्ट्रोलबाट हजार मिटर माथिसम्म उडाउन मिल्छ। क्याप्टेन तथा एरियल फोटोग्राफर उप्रेतीको अवधारण र व्यक्तिगत पहलमा बनाइएको सो संग्रहालयमा उप्रेतीले खिचेका देश–विदेशका उत्कृष्ट तस्बिरहरु समेत राखिएका छन्। विश्वका ३० चर्चित पर्यटकीय गन्तव्य र सुदूरपश्चिमका २४ ठाउँको तस्बिर समेत संग्रहालयमा राखिएको उप्रतीले बताए।

जहाजभित्रै ६० इन्चको टिभीमा ‘एयरक्राफ्ट म्यूजियम’ सम्बन्धी वृतचित्र समेत देखाइने गरेको छ। संग्रहालयभित्र पसेपछि उड्डयन क्षेत्रको धेरै भन्दा धेरै जानकारी लिन व्यवस्था मिलाइएको छ।  वृत्तचित्र एकैपटक ४० जनाले हेर्न सकिने गरी व्यवस्था गरिएको छ।

धनगढीमा संग्रहालय बनाउन एक करोड २५ लाख खर्च भएको छ। कस्मिकको थोत्रिएर बसेको फोकर १०० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढी पुर्‍याउन पाँच लाख रुपैयाँ लागेको थियो। जहाजलाई तीन भागमा खोलेर तीवटा लहरी गाडीमा राखेर पाँच दिनमा धनगढी पुर्‍याइएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उप्रतीले करिब ७० लाख रुपैयाँमा सो फोकर जहाज खरिद गरेका थिए। धनगढी पुर्‍याइसकेपछि झण्डै ६ महिना लगाएर संग्रहालय तयार पारिएको थियो।

संग्रहालयबाट भएको आम्दानीको केही हिस्सा बेद उप्रेती ट्रस्टमार्फत सुदूरपश्चिमका क्यान्सर बिरामीको उपचार र जेहेन्दारको छात्रवृत्तिमा खर्च गर्ने घोषणा समेत उनले गरेका थिए। सुदूरपश्चिम जहिले पनि ओझेलमा परेकोले उनले आफ्नै जन्मथलोमा केही नयाँ काम गर्न संग्रहालय खोलेका थिए। त्यसैले धनगढी नै उनको पहिलो प्राथमिकतामा परेको थियो।