‘तेलेको लेक रमशिलाको पानी....’ यो हरफ सुदूरपश्चिमेलीहरुको जिब्रोमा धेरै पहिलेदेखि झुण्डिएको लोक गीतको हरफ हो । यो हरफमा उल्लेख भएको तेलेको लेक पछिल्लो समय पर्यटकिय गन्तव्यको रुपमा चर्चित बन्न थालेको छ । डडेल्धुराको महाभारत पर्वत श्रृंखला अन्तर्गत पर्ने तेलेको लेक सुदूपश्चिमका अधिकांस पहाडी जिल्लाको पैदल यात्रा गरी तराई झर्ने महत्वपूर्ण रुटको रुपमा परिचित छ । जहाँबाट यस क्षेत्रका पुर्खाहरुले हप्तौ लगाएर तराई–पहाडको यात्रा तय गर्ने गर्दथे । यस क्षेत्रका प्रसिद्ध शक्तिपिठहरु घण्टेश्वर र भागेश्वरको मध्यविन्दु भएर तराई–पहाड पैदल यात्रा गर्ने पुरानो पैदलमार्गको रुपमा तेलेको लेक चिनिन्छ ।
जिल्ला सदरमुकामबाट नजिकै रहेको तेलेको लेकसम्म पहिले कसैले एक बासमा कसैले दुई दिनको बास बस्न पुग्ने गरेको उक्त बाटोबाट पैदल यात्रा गरेका बुढापाकाहरु बताउँछन् । अधिकांस पहाडका मान्छेहरु चिसो छल्ने क्रममा पहाडबाट तराई झर्न परिवार तथा आफुसंग भएका पशुपंछीसहित तेलेको लेक भएर जाने गरेको बुढापाकाहरु बताउँछन । त्यतिबेला ब्रम्हदेवबाट नुन लगायतका सामग्रीहरु यही बाटो भएर पहाडि जिल्लासम्म पुग्ने गरेको जानकारहरु बताउँछन । तेलेको लेकको मुख्य भाग समुन्द्रि सतहबाट करिब २६ सय मिटरको उचाईमा रहेकोले यस क्षेत्रमा रहेका स–साना मैदानले खप्तडी पाटनको झल्को दिन्छ । त्यसैले पनि होला खप्तड राष्ट्रिय निकुन्जसम्म पुग्न नसक्नेहरुलाई खप्तडको स्वाद दिइरहेको छ तेलेको लेकले ।
जिल्लाकै अग्लो स्थानमा भएका कारण यस क्षेत्रमा विभिन्न प्रजातीका बुट्यान तथा फुलहरु देख्न सकिन्छ । मुख्य तेलेको धर्मशाला रहेको स्थानबाट अधिकतम दुई घण्टाको पैदल यात्रा पश्चात यस क्षेत्रकै प्रशिद्ध धार्मिकस्थल भागेश्वर मन्दिर पुग्न सकिन्छ । पछिल्लो समय यो क्षेत्रमा क्यामेरा ट्रयापिंगबाट पाटे बाघ लगायत अन्य जनावरहरु देखिनु अर्काे आकर्षण हो ।
तेलेको धर्मशाला
तत्कालिन समयमा पैदलयात्रीहरुको लागी बास बस्न सहज होस भन्ने हेतुले, आफन्तको सम्झना तथा धर्म कामउनको लागी ठाँउठाँउमा धर्मशाला बनाउने गरिन्थ्यो जसलाई सामाजिक उत्तरदायित्वको नमूना मान्न सकिन्छ । केहि वर्ष पहिलेसम्म सुदूरका धेरै स्थानहरुमा पुराना धर्मशालाहरु देखिने भएपनि विकाससंगै ती धर्मशालाहरुको अस्तित्व संकटमा परेको देखिन्छ। तर यस क्षेत्रमा ती धर्मशालाहरुको जिवन्त रुप अझ पनि हेर्न सकिन्छ । जिल्लाको अमरगढी नगरपालीका वडा नम्बर ३ स्थित प्रसिद्ध घटालस्थान क्षेत्रबाट सुरु हुने यो पैदल मार्गमा घटालस्थान क्षेत्रबाटै पुराना धर्मशालाहरु देख्न पाईन्छ । पुराना तथा कलात्मक धर्मशालाहरुले त्यती बेलाको सामाजिक कार्य, कलालाई प्रस्फुटन गरिरहेको देख्न सकिन्छ । घटालस्थानबाट निंगलाडसम्म मात्र पनि धेरै धर्मशालाहरु देख्न सकिन्छ । यद्यपी सडक निर्माणको क्रममा कतिपय धर्मशाला जिर्ण तथा भत्किएका छन् । यो रुटमा देखिने सबभन्दा नयाँ धर्मशाला अमरगढी नगरपालीका वडा नम्बर ३ चिरिकिट्टेमा रहेको छ । जसको इतिहास करिव ८० वर्ष भन्दा बढी रहेको बताइन्छ। यस हिसाबले यस क्षेत्रमा बनेका अन्य धर्मशालाहरुको इतिहास १५० देखि २०० वर्ष पुरानो हो भनेर सजिलै अनुमान गर्न सकिन्छ ।
रमशिलाको पानी, विजुवा भुत
डडेल्धुरा सदरमुकाम देखि डडेल्धुराकै दोश्रो ठुलो बजार जोगबुडा जोड्ने मोटरबाटो बनेपछि तेलेको लेकसम्म पुग्न सहज भएको छ । चिरकिट्टेको उकालो काटेपछि मुख्य धुरामा पुग्दा छेउमै एउटा विशाल ढुंगा रहेको छ । किंवदन्ती अनुसार पौराणिक कालमा उक्त ढुंगामा भिमले सिँगान पुछेका हुन । त्यसकै केही अगाडि तेलेको मुख्य धर्मशाला आएपछि त्यहाँ ‘रमशिलाको पानी’ रहेको छ । किंवदन्ती अनुसार बनवासको क्रममा सितालाई पानीको तिर्खा लागेपछि उक्त स्थानमा धनुषवाण हानेर पानी निकालिएको थियो । जुन अहिले पनि कलात्मक ढुंगेधाराको रुपमा रहेको छ । यस क्षेत्रको एउटा अदृश्य पात्र ‘विजुवा भुत’ को क्षेत्र भनेर प्रशिद्ध निंगलाड जुन सुदूरपश्चिमको कला संस्कृतिमा विशेष रुपमा सम्झिने ठाँउकोरुपमा प्रस्तुत हुन्छ ।
ओझेलमा रहेका तेलेको लेक क्षेत्रमा पछिल्लो समयमा आन्तरिक पर्यटकहरु आउन थालेपछि चहलपहल बढिरहेको छ । यहाँ बनभोज खान जानेहरुको संख्या समेत बढ्न थालेको छ । केही ‘नाइट क्याम्प फायर’ गर्ने समूह समेत उक्त स्थानमा जाने गरेको भन्दै लकडाउन खुलेपछि तेलेको लेक घुक्ने पर्यटक बढ्नेमा स्थानीय आशावादी छन् ।