सुदूरपश्चिममा पछिल्लोे २५ दिनमा मात्रै ३२७ जनामा कोरोना पुष्टि
2020/06/16, 7:35
 
korona

सुदूरपश्चिममा हालसम्म ३३४ जनामा कोरोना पुष्टि भएको छ । चैत १४ गतेदेखि वैशाख १ गतेसम्म ५ जना मात्रै संक्रमित भेटिएकोमा पछिल्लो २५ दिनमा कोरोनाका संक्रमित तिव्र रुपमा देखा परिरहेका छन् । १७ दिनमा भेटिएका ५ जना संक्रमित कोरोनालाई जितेर घर गईसकेका छन् । तर पछिल्लो जेठ ९ गतेदेखि असार १ गतेसम्म देखिएका अधिकांश संक्रमितहरु उपचार गराईरहेका छन् ।

उनीहरुमा पनि ५३ जना भने कोही निको भएर र कोही कोरोनाको लक्षण नदेखिएर घर फर्किएका छन् । वाँकी संक्रमितहरुको सुदुरपश्चिमका विभिन्न अस्पताल र कर्णालीको सुर्खेत अस्पतालमा उपचार भईरहेको छ ।  जेठको २५ दिनमा तीन सय २७ जना कोरोना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो ।

त्यसयता सुदूरपश्चिममा नयाँ संक्रमित भेटिएका थिएनन । त्सपछि जेठ ९ गते सुदूरपश्चिमका ५ जना संक्रमित फेला परेका थिए भने त्यसपछि दैनिक रुपमा संक्रमितको सङख्या बढ्दै गएको हो । जेठमा मात्रै भारतबाट एक लाख १६ हजार बढी नेपाली सुदूरपश्चिम फर्किएका छन् भने उनीहरु मध्ये चार हजारको मात्रै कोरोना परीक्षण भएको छ ।

उनीहरु मध्ये केही वाहेक अधिकांश संक्रमितहरु भारतबाट आएका रहेका छन् । अन्य संक्रमितहरु पनि भारतबाट आएकाहरुको सम्पर्कबाट संक्रमित भएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।