माछा र बङ्गुरपालन गरी आत्मनिर्भर बन्दै बेलडाँडीका तेजबहादुर
2021/11/21, 12:54
 
da

शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरी गाउँकै सिद्धनाथ माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत छन् ।  विद्यालयमा पाइने थोरै तलबले परिवारको खर्च धान्न निकै गाह्रो छ । विद्यालयबाट पाइने तलबले घरखर्च चलाउन मुस्किल भएपछि चौधरीले घरमै बङ्गुर र माछापालन व्यवसायलाई अँगाल्दै आएका छन् ।

दिउँसोपख चौधरी विद्यालयमा काम गर्दै आईरहेका छन् । विद्यालयमा बिदा भएपछि र विद्यालय सञ्चलन हुनुअघि घरमै बङ्गुर र माछापालनको कार्यमा व्यस्त रहँदै आएका छन् ।  चौधरीको बङ्गुरफार्ममा ११ वटा बङ्गुर पालिएका छन् । पन्ध्र कठ्ठा जग्गामा रहेको दुई पोखरीमा माछापालन गरिएको छ । माछापालन र बङ्गुरपालनका लागि चौधरीले गाउँको सहकारी र समूहबाट गरी रु छ लाख बढी कर्जा लिएका छन् ।

बङ्गुरफार्म निर्माण गर्न र बङ्गुरका पाठा खरिद गर्न मात्रै रु पाँच लाख लगानी गरिएको चौधरीले बताए । “माछापालनको कार्य पाँच वर्ष अघिदेखि नै गर्दै आएका हुँ ”, चौधरीले भभने, “बङ्गुरपालन गरेको एक वर्ष पुग्नै लागेको छ ।” वर्षमा माछा बिक्री गरेर रु तीन लाख जति आम्दानी हुने गरेको छ । दश महिनाको अवधिमा दुई बङ्गुर बिक्री गरेर चौधरीले रु ४० हजार आम्दानी गरेका छन् ।

“बङ्गुरले पाठा दिन सुरु गरेपछि आम्दानी बढ्छ”, उनले भने, “एउटै पाठा रु तीन हजारदेखि चार हजारमा बिक्री हुन्छ । एउटै बङ्गुरले एक बेतमै छ देखि १० वटासम्म पाठा जन्माउने गर्दछ । फार्ममा पालिएका बङ्गुरमध्ये १० वटा पोथी छन् ।”

पोखरीमा पालिएका माछा गाउँमै रु ३५० प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । बङ्गुरका पाठा खरिदका लागि टाढाका व्यापारी फोनमार्फत सम्पर्कमा रहेको चौधरीले बताए । विद्यालयबाट महिनामा चौधरीले रु १० हजार जति तलब थाप्दै आएका छन् । विद्यालयबाहेकको समयमा काम गरेर त्योभन्दा बढी आम्दानी हुने गरेको छ । चौधरी विद्यालय गएको बेला उनकि श्रीमती रुपा चौधरीले बङ्गुर र माछापालनको कार्यमा सहयोग गर्ने गरेकि छिन् ।

“माछा बङ्गुरलाई चारो खुवाउनेलगायत कार्य मैले दिउँसोको समयमा गर्छु”, रुपाले भने, “त्यसपछिको काम श्रीमान्ले हेर्दै आएकी छिन् ।  विद्यालयकै मुख ताकेर बसेको भए अतिरिक्त आम्दानी हुँदैनथ्यो ।” चार जनाको परिवारको खर्च सहजरूपमा चलेको उनले बताए ।  श्रीमान्ले खोलेको बङ्गुरफार्म र माछापालनसँगै रुपाले घरमा रहेको १० कठ्ठा जग्गामा तरकारी खेतीसमेत गर्दै आईरहेकी छिन्  । तरकारी खेतीको कमाइबाट आउने रकम चौधरी दम्पती सहकारी र बैंकमा बचत गर्दै आएका छन् ।  तरकारी खेतीबाट वर्षमा रु दुई लाख जति आम्दानी हुने गरेको छ । बेलडाँडी गाउँका अन्य युवासमेत तरकारी खेती, बङ्गुर, कुखुरा र माछापालनको काममा संलग्न छन् ।

पहिला धेरै युवा रोजगारीका लागि निर्माण श्रमिकका रूपमा काम गर्न भारततर्फ जाने गरेका थिए । हाल गाउँमै व्यावसायिक काम गर्न थालेपछि भारततर्फ जाने युवाको सङ्ख्या पातलिँदै जान थालेको प्रगति महिला सामुदायिक वनका अध्यक्ष अमरबहादुर साउदले बताए ।

“गाउँमै युवाहरू काम गरी स्वरोजगार भएका छन्”, उनले भने, “युवाका हौसला बढाउनका लागि स्थानीय तह, प्रदेश, सङ्घीय सरकारले अनुदानका कार्यक्रम सञ्चालन गरी सहयोग गर्नुपर्छ ।” युवा बङ्गुर, माछापालन र कुखुरापालनमा संलग्न छन् भने महिला व्यावसायिक तरकारी खेती गरी आत्मनिर्भर भएको उनको भनाइ छ ।