लकडाउनमा पनि फष्टाएको च्याउ खेती
2020/05/11, 7:12
 
masroom

सुदूरपश्चिमकै ठूलो च्याउ प्रशोधन उद्योगले नेपालमै नौलो तथा बैमौसमी च्याउ खेती थालेको छ । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो धनगढी उपमहानगरपालिका–१२ जुगेडा बीगाउँस्थित ओम केदार च्याउ तथा तरकारी फर्मले कोरोनाको कहरसँग जुध्दै च्याउको प्रशोधन, बीउ उत्पादन र नयाँ–नयाँ प्रजाति तथा बैमौसमी च्याउको खेतीमा जुटेको छ । फर्मका सञ्चालक कमल घर्तिमगरले लकडाउनका कारण बजार पुग्न नसकेको काँचो च्याउलाई प्रशोधन गरी प्याकेजिङ थालेको बताए । केन्द्रले हालसम्म च्याउको अचार, सुकुटी र गोब्रे च्याउको क्यान तयार गरी भण्डारण गरेको छ । लकडाउनपछि बजार र्पुयाउने समय कुरेर बसेको सञ्चालक घर्तिमगर बताउँछन् ।
कन्ये, गोबे्र, ग्यानो डोर्म, मिल्की, पराले गरी ५ प्रजातिका च्याउको बिउ उत्पादन थालेको सो प्रशोधन केन्द्रले नेपालमै नयाँ मानिने ग्यानो डोर्म, मिल्की, पराले गरी ३ प्रजातिको च्याउको बिउ उत्पादनसँगै खेतीको थालनी गरेको छ । नेपालको तराई क्षेत्रमा मुख्यतः असोजदेखि चैत्र मसान्तसम्ममा कन्ये र गोब्रे प्रजातिको च्याउको खेती गर्ने गरिन्छ तर प्रशोधन केन्द्रले गर्मी समयमा उत्पादन हुने च्याउको खेती थालेको छ । गर्मी मौसममा खेती गरिने ग्यानो डोर्म, पराले र मिल्की प्रजातिको च्याउको खेती थालेको सञ्चालक घर्तिमगर बताउँछन् ।


‘सबै प्रजातिको च्याउको कल्चर गरी बिउ उत्पादनमा सफल भएका छौं । अब खेती शुरूआत गरेका छौं, नयाँ प्रजातिको च्याउबारे उल्लेख गर्दै उनले भने, ‘ग्यानो डोर्म प्रजातिको च्याउ खानयोग्य भएपनि विशेषगरी औषधि निर्माणमा प्रयोग हुन्छ । प्रति किलो ८ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ । यो च्याउ काठको भुसामा तयार गरिन्छ ।’ गर्मी मौसममा उत्पादन हुने खानयोग्य पराले र मिल्की प्रजातिको च्याउ खेती पनि थालेको उनी बताउँछन् । २०७१ सालमा २० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको फर्ममा हालसम्म साढे २ करोड बढी लगानी पुगेको छ । उद्योगमा प्रति घण्टा साढे २ क्वीन्टल च्याउ सुकाउने र प्रति घण्टा ५ क्वीन्टल गोब्रे च्याउ क्यानिङ गर्न सक्ने क्षमता रहेको बताइएको छ । फर्मले च्याउको बजार उत्साहजनक पाएको जनाएको छ । उद्योगले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला सहित नेपालगञ्ज बजारमा समेत च्याउ आपूर्ति गर्दै आएको छ । तर माग अनुसार अझैसम्म आपूर्ति गर्न नसकेको फर्मका व्यवस्थापक राजु पुनमगर बताउँछन् ।


२ विघा क्षेत्रफलमा फैलिएको उद्योगले चालू वर्ष १५ टन कन्ये र १० टन गोब्रे च्याउ उत्पादन गरेको छ । पछिल्लो समय च्याउ मानव स्वास्थ्यको लागि लाभदायक रहेको चेतनाको विकासले च्याउ पराखीको संख्या बढेको र च्याउको बजार फराकिलो बन्दै गएको सञ्चालक घर्तिमगरले अनुभव सुनाउँछन् । फर्मले असोजदेखि चैत्रसम्म बनाएको च्याउ टनेलको स्थानमा आजभोलि तरकारी खेती थालेको छ । जहाँ २० जना बढीले नियमित रोजगारी पाएका छन् । आजभोलि सामाजिक दूरी कायम गरी फर्ममा काम गर्दै आएको व्यवस्थापक घर्तिमगर बताउँछन् ।