सुदूरपश्चिममा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३४७ पुग्यो
2020/06/16, 4:14
 
korona

सुदूरपश्चिममा मंगलवार थप १७ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा थप १७ जनामा कोरोना पुष्टि भएको हो । मंगलवार तीन जना महिला र १४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । कैलालीका १० र कञ्चनपुरका ७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । 

कैलालीको धनगढी उप–महानगरपालिकाका ८ जना, लम्की चुहाका दुई जनामा कोरोना पुष्टि भएको हो । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ४७ पुगेको छ । सोमवार ६८ जनामा कोरोना पुष्टि भएको बताईए पनि दुई जना अछामका संक्रमितको भने दोस्रो पटक परीक्षण गरिएकाले ६६ जना मात्रै नयाँ संक्रमित थिए ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक सय तीन जना, कञ्चनपुरमा ७३, डडेल्धुरामा ३९, डोटीका ३७, बैतडीमा २७, अछामका २०, बाजुराका २१, बझाङमा १५ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने ५२ जना निको भएर घर फर्किसकेका छन् ।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट तीन सय २१, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ ।

कैलालीमा मात्रै कोरोना संक्रमितको सङख्या १०३ पुग्यो

कैलालीका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या एक सय तीन पुगेको छ। सुदूरपश्चिममै सबैभन्दा बढि संक्रमित कैलालीमै रहेका छन्।

आज कैलालीको धनगढी उप–महानगरपालिकाका ३९ बर्षीय महिला, १, २३, ३०, ३२, ३३, ३३, ५२ बर्षीय पुरुष र लम्की चुहाका १४ र २४ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको हो।  धनगढीमा वडा नम्वर १, २ र ५ का एक÷एक जना र वडा नम्वर १२ का पाँच जनामा कोरोना पुष्टि भएको हो। 

कैलालीमा सबैभन्दा बढि गौरीगंगा नगरपालिकामा २७ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै धनगढी उप–महानगरपालिकामा २६ जना, टीकापुर नगरपालिकामा २२ जना, जानकी गाउँपालिकामा ९ जना, चुरे गाउँपालिकामा ५ जना, लम्कीचुहा नगरपालिका पाँच जना, गोदावरी नगरपालिकामा ४ जना, बर्दगोरिया गाउँपालिकामा दुई जना, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र मोहन्याल गाउँपालिकामा एक/एक जना कोरोना संक्रमित भेटिएका छन्।

संक्रमित मध्ये एक जनाको मृत्यु भएको छ भने एक जना थप उपचारका लागि काठमाडौँ रेफर भएका छन्। अन्यको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पतालको आईसोलेसन वार्ड र सम्बन्धीत क्वारेन्टाइनमै राखेर उपचार भइरहेको छ। 

कैलालीपछि कञ्चनपुरमा ७३, डडेल्धुरामा ३९, डोटीका ३७, बैतडीमा २७, अछामका २०, बाजुराका २१, बझाङमा १४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।