सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७÷७८ को बजेटमा खेलकुद क्षेत्रलाई कुनै प्राथमिकतामा राखिएको छैन । चालु आर्थिक बर्षभन्दा झण्डै ६५ बजेट कटौती भएको छ । खेलाडी प्रोत्साहन तथा खेलकुद प्रतियोगिताका बजेटहरु पुरै हटाईएको छ ।
केही पुरा योजनाहरुलाई पनि निरन्तरता दिईएको छ । खेलकुदको माध्यमबाट प्रदेशमा स्वस्थ एवं अनुशासित युवा जनशक्ती उत्पादन गर्न हरेक प्रदेश सभाका हरेक निर्वाचन क्षेत्रमा एक खेलकुद मैदान निर्माण एवं स्तरोन्नति गर्न विनियोजन भएको ६ करोड ४० लाख सवैभन्दा वढी हो ।
राष्टिय तथा अन्तराष्टियस्तरका खेलकूद प्रतियोगिता संचालन गर्न सक्ने, अत्याधुनिक एवं सुविधा सम्पन्न रंगशाला निमार्णका लागि महेन्द्रनगर तथा धनगढीमा रंगशालाको स्तरोन्नति तथा संरचना सुधारको लागि १ करोड २० लाख, मुख्यमन्त्री खेलकुद तथा अन्य खेलकुद प्रतियोगिताका साथै खेल क्षेत्रको समग्र विकास र खेलप्रतिको आकषर्ण बढाउनका लागि १ करोड २५ लाख, प्रदेश खेलकुद परिषद् तथा जिल्ला खेलकुद विकास समित संचालनका साथै प्रदेश गौरवको रुपमा रहेको फाप्ला क्रिकेट मैदानको डीपिआर निर्माणको प्रारम्भिक अध्ययन समेतका लागि १ करोड २५ लाख र खेलाडीको वृति विकास तथा सम्मानका लागि प्रदेशस्तरमा खेलाडी कल्याणकारी कोष संचालन गर्न आवश्यक बजेट विनियोजन भएको बजेटमा उल्लेख भएको छ । आगामी बर्षका सवै योजना चालु आर्थिक बर्षकै योजनाहरु जस्ताको त्यस्तै उतारिएको छ । खेलाडी सम्मान कार्यक्रम लगायतका अन्य योजनालाई सिधैं हटाईएको छ ।