हिउँदे बाली लगाउने समय घर्किरहेको बेलासम्म धान खरिद नहुँदा कैलालीका किसान समस्यामा
2021/11/29, 9:58
 
ss

 हिउँदे बाली लगाउने समय घर्किरहेको बेलासम्म धान खरिद नहुँदा कैलालीका किसान समस्यामा परेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदमा ढिलाइ गरिरहेका कारण किसान समस्यामा परेका हुन ।

धान बिक्री नहुँदा उनीहरुले हिउँदेबालीको खेतीका लागि आवश्यक कृषि सामग्री जुटाउन सकिरहेका छैनन् । त्यसो त, यो वर्ष किसानसंग धेरै धान पानी छैन । भएको धानपनि कमसल छ । 

गत कार्तिक पहिलो साता आएको बेमौसमी बाढीले किसानको धानबालीमा ठूलो क्षति गरेको थियो । उनीहरुले बाढीबाट जेनतेन जोगाएको धान पनि बिक्री गर्न पाइरहेका छैनन् । खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडले धान खरिद सुरु नगर्दा समस्यामा रहेको भजनी नगरपालिका–७ लालबोझीका कृषक खोजराम चौधरीले बताए ।

कम्पनीले अहिलेसम्म धान खरिद नगरेपछि किसानहरु निकै सस्तोमा व्यापारीलाई धान बिक्री गर्न बाध्य रहेको बताए । ‘काम नचलेपछि बाध्य भएर कतिपय किसानले व्यापारीलाई धान बिक्री गरिरहेका छन्’, उनले अगाडि थपे । ‘धेरै जसो किसानसंग त यो वर्ष धान नै छैन । के खाने भन्ने नै चिन्ता छ ।’

बेमौसमी बाढीले धेरैजसो किसानको धानबाली बगाएको थियो । केही हद्सम्म बचेको धान पनि भिजेका कारण खेतमै उम्रिएको थियो । धानबाली बिग्रेपछि पुर्पुरोमा हात राखेका किसान अहिले हिउँदे बालीको खेतीका लागि आवश्यक सामग्री जोहो गर्न नसक्दा झनै समस्यामा परेका छन् । माथिबाट परिपत्र नआएकाले अहिलेसम्म धान खरिद गर्न नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख एन्जिला बस्नेतले बताइन् । उनले सम्भवतः यहि हप्ताभित्रै परिपत्र आउने उल्लेख गरिन । ‘के कति किन्ने भनेर हामीलाई माथिबाटै परिपत्र आएको छैन । त्यसैले धान खरिदको कार्य सुरु हुन सकेको छैन’, उनले भनिन् । ‘सकेसम्म यहि हप्ताभित्रै परिपत्र आउने भन्ने कुरो भएको छ ।’

गतवर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा आठ ठाउँमा काँटा लगाएर धान खरिद गरेको थियो । यसवर्षको कोटा पनि थाहा नभएकाले कति ठाउँमा काँटा लगाएर धान खरिद गर्ने भन्ने कुराको पनि यकिन हुन सकेको छैन । धान खरिदको कोटा आएपछिमात्रै कति ठाउँमा काँटा लगाउने भन्ने कुराको निक्र्योल गर्न सकिने प्रमुख बस्नेतको भनाइ छ । 

यसवर्ष धान कमसल छ । त्यसैले सबै धान कम्पनीले पनि किन्न सक्ने अवस्था देखिदैंन । माथिल्लो निकायले गुणस्तरयुक्त धान खरिद गर्ने मापदण्ड बनाएकाले मापदण्डभित्र परेका गुणस्तरीय धानमात्रै खरिद गर्ने प्रमुख बस्नेतले बताइन् । ‘हामीसंग गुणस्तर नाप गर्ने प्राविधिक छन् । गुणस्तर जाँच गरेर मापदण्डभित्र परेका धान समर्थन मूल्यमै खरिद गर्नेछौं’, उनले भनिन् ।

उनले कम्पनीले गुणस्तरयुक्त चामलका लागि राम्रो धानमात्रै खरिद गर्ने बताइन् । ‘कमसल धान भाउ घटाएर किन्ने भन्ने हुँदैन । हामीले सरकारको समर्थन मूल्यमै किन्ने हो । तर, गुणस्तर जाँच गरेर मापदण्डभित्र परेका धानमात्रै खरिद गर्नेछौं ।’ गतवर्ष कम्पनीले यो प्रदेशमा ६५ हजार क्वीन्टल धान खरिदको कोटा पाएको थियो । संस्थानले कैलालीको मोहनपुर, टीकापुर, भजनी लगायतको क्षेत्रमा काँटा लगाएर धान खरिद गर्दै आएको छ । 

सरकारी निकायले धान खरिद सुरु नगर्दा कतिपय किसानले निकै सस्तोमा व्यापारीहरुलाई धान बिक्री गरिरहेका छन् । यसवर्ष धान कमसल रहेका कारण व्यापारीले पनि थोरै मात्रामा किनिरहेका छन् । कतिपय किसानले बिक्रीका लागि ल्याएको धान फिर्तासमेत पठाइरहेको उनीहरुको भनाइ छ । धनगढीमा हरेक वर्ष काँटा लगाएर धान खरिद गर्दै आएका व्यवसायी चेतराम चौधरीले यस वर्ष आफूले पुरानो सम्बन्धका आधारमा मात्रै धान खरिद गरिरहेको बताए ।

‘बिग्रेको धान खरिद गर्न सकिन्न’, उनले भने । ‘कतिपय इष्टमित्र, आफन्त र पुराना सम्बन्ध भएका किसानको मात्रै मैले यस वर्ष धान किनिरहेको छु । अरु आएको धान पनि फिर्ता पठाइरहेको छु ।’ उनले अघिल्ला वर्षमा २० हजार बोरा धान खरिद गर्दै आएका थिए । तर, यो वर्ष त्यसको आधा पनि खरिद गर्न नसक्ने बताए । ‘हामीले पनि धान खरिद गरेर चामल उत्पादनका लागि मिललाई बिक्री गर्ने हो’, चौधरीले भने ।

‘तर, यो वर्ष मिल सञ्चालकले धान किन्न मानिरहेका छैनन् । त्यसकारण हामीले पनि धान खरिद गर्न सकिने अवस्था छैन ।’ सुकाएको र अलि राम्रो धान आफूले प्रति क्वीन्टल दुई हजार एक सय रुपैयाँमा खरिद गरिरहेको उनले बताए । ‘तर, कतिपय कमसल धान प्रतिक्वीन्टल हजार रुपैयाँमा पनि खरिद गरिरहेका छौं’, चौधरीले भने ।