भीमदत्त नगरपालिका–३ का दीर्धकुमार स्वारको कम्मरमुनिको भाग चल्दैन। सवारी दुर्घटनामा परेर उनको कम्मरमुनिको भाग नचल्ने भएको हो। कम्मरमुनीको भाग नचल्ने भए पनि उनले अपाङ्गता भएका व्यक्तिलाई सङ्गठीत गरी सपाङ्गझै व्यावसायिक कार्यलाई अगाडि बढाउँदै आएका छन्।
विसं २०६५ मा अछामको साफेबगरस्थित पशु सेवा विज्ञ केन्द्रबाट घर फर्कने क्रममा मोटरसाइल दुर्घटनामा परी मेरुदण्डको पक्षघात भएपछि दुई तीन वर्ष स्वारको उपचारमै बित्यो। साफेगरमा उनी छठौंस्तरको अधिकृत पदमा कार्यरत थिए। “मेरुदण्डको पक्षघात भएपछि केही समय डिप्रेसनमै परे”, उनले भने, “योगासहित उपचार गरेपछि केही लाभ भयो। घरभित्रै गुम्सिएर बस्नु भन्दा केही गर्नुपर्छ भन्ने भावना मनमा उत्पन्न हुन थाल्यो। त्यसपछि मन्त्रालयका सचिवलाई भेटेर आफू केही गर्न चाहन्छु भने।” प्रत्युतरमा सचिवले तपाई के गर्न सक्नुहुन्छ, योजना ल्याउनोस्, त्यसमा सक्दो सहयोग गर्ने विश्वास दिलाएपछि आफू केही गर्न उत्साहित भएको उनको भनाइ छ।
“मनमा उत्साह बोकेर अपाङ्ग्ता भएका साथीसँग सल्लाह गरी भीमदत्त नगरपालिकामा भेला गर्यौं। भेलाबाट किसान समूह गठन गरी दर्ता ग¥यौं”, उनले भने, “मन्त्रालयमा पुगेर प्रस्तावना पेश ग¥यौं र त्यो स्वीकृत पनि भयो। त्यसपछि प्रस्तावना अनुसारको स्वीकृत अनुदान रकमबाट रैथाने जातका कुखुरापालनका लागि कार्य अगाडि बढाउँदै आएका छौँ।” अनुदान रकम स्वीकृत विसं २०७७ मा भए पनि कोरोनाको महामारीका कारण कार्यक्रम विलम्ब गरी सञ्चालन गरिएको उनको भनाइ छ।
सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट अपाङ्गता भएका व्यक्तिको समूहलाई १० लाख अनुदान रकम उपलब्ध गराएको छ। सो रकमबाट कुखुरा फार्मको ट्रष्ट निर्माणमा आठ लाख खर्च गर्यौँ। बाँकी रहेको एक लाख २० हजार खर्च गरेर चल्ला राखिएको स्वारले बताए। चल्ला हुर्कदै गएर कुखुरामा परिणत भइसकेका छन्। कुखुरालाई दाना खुवाउन मात्रै सूर्य सहकारी संस्थाबाट तीन लाख ऋण लिएर लगानी गरिएको उनको भनाइ छ।
फार्म सञ्चालनका लागि समूहमा आवद्धले चार लाख ५० हजार खर्च गरेका छन्। फार्ममा रहेका कुखुराको हेरचाह गर्नका लागि २१ हजार मासिक तलब दिने गरी एक जना कामदारको व्यवस्थासमेत गरिएको छ। दैनिकजसो ब्रम्हदेव रोडमा रहेका घरबाट झण्डै सात किलोमिटरको ह्विलचेयर यात्रा गर्दै आफू कुखुरा फार्ममा पुग्ने गरेको स्वारको भनाइ छ। कुखुरा फार्म सञ्चालनका लागि पाँच वर्षको सम्झौतामा आठ कठ्ठा जग्गा भाडामा लिएको उनले बताए। “फार्म सञ्चालनका लागि रकम अभाव भएमा तलबको रकमसमेत त्यसमै खर्च गर्दै आएको छु”, उनले भने, “तीन महिनाको अवधिमै स्थानीय जातका कुखुराको तौल डेढ किलो बढी पुगेको छ।”
धेरै ठाउँबाट कुुखुरा बिक्रीका लागि फोन आउन थालेको छ। अब कुखुरा बेच्ने तरखरमा लागेको उनको भनाइ छ। स्वारका अनुसार फार्ममा एक हजार दुई सय स्थानीय जातका कुखुरा छन्। कुखुरापालनसँगै भीमदत्त नगरपालिकाको तीन लाखको अनुदान रकममा वायोफ्लेक प्रविधिबाट माछापालन गर्नका लागि दुई वटा प्लास्टिकका पोखरीसमेत निर्माण गरिएको उनको भनाइ छ। पोखरीमा केही दिनभित्रै माछाका भुरा राख्ने तयारी गरिएको स्वारले बताए।
कुखुरा र माछापालनसँगै निकट भविष्यमै रैथानेजातका कुखुराका चल्ला उत्पादन गरी सस्तोमा किसानलाई उपलब्ध गराउने योजना समूहमा आवद्ध अपाङ्गता भएका व्यक्तिको छ। फार्ममा उत्पादन भएका कुखुरा बिक्री गरी आएको मुनाफामध्ये बीउ पूँजी जगेडा राखेर बाँकी रकम समूहमा आवद्धलाई वितरण गरिने योजना रहेको छ। “अपाङ्गता हुँदा बोझ हुन्छ, दैवको लीला हो, भगवान रिसाएर अपाङ्गता भएको र पूर्वजुनीमा केही गरेर अपाङ्गता भएको भनेर समाजमा भन्ने गरिन्छ”, स्वारले भने, “अपाङ्गता प्राकृतिक घटना वा दुर्घटनाबाट हुन्छ। त्यसैले यसलाई अपाङ्गता लुकाउने होइन। आफ्नै खुट्टामा उभिएर सपाङ्गझै काम गरेर देखाउन सक्नुपर्छ।” शरीरमा रगत र पाखुरामा तागत भएका युवा शक्ति विदेश पलायन भइरहेकोप्रति उनी चिन्तित छन्।
“युवा हुँदा पसिना विदेशी भूमिमा बगाएर वृद्धभत्ता खाने बेला स्वदेशमा फर्कने गरेका छन्। जे गर्नुपर्छ, स्वदेशमै गर्नुपर्छ भन्ने भावना पैदा गरी युवालाई स्वरोजगार हुने कार्यक्रम सञ्चालन गर्न सरकारले योजनाबद्ध रुपले अगाडि बढनुपर्ने उनको सुझाव छ। भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले अपाङ्गता भएका व्यक्तिले समूह निर्माण गरी सञ्चालन गरेको कुखुरा फार्म सुदूरपश्चिम क्षेत्रमै उत्कृष्ट नमूनाका रुपमा रहेको बताए। “फार्मको वृत्ति विकासका लागि नगरपालिकाबाट सक्दो सहयोग हुन्छ”, उनले भने, “योजना लिएर आउनुस्, त्यसैअनुरुप सहयोग गछौं।”