प्रदेश नम्बर १ र लुम्बिनी प्रदेशको विजयी सुरुवात
धनगढीमा प्रधानमन्त्री महिला कप क्रिकेट प्रतियोगिता सुरु
2021/12/18, 5:09
 
news

कैलालीको धनगढीमा शनिबारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगिताको पहिलो दिन भएका खेलमा प्रदेश नम्बर १ र लुम्बिनी प्रदेश विजयी भएका छन् । प्रदेश नम्बर १ ले कर्णाली प्रदेशमाथि १६० रनको फराकिलो जित दर्ता गर्दा लुम्बिनीले बागमतिलाई ७ विकेटले हरायो । 

प्रतियोगिताको पहिलो खेलमा प्रदेश नम्बर १ विजयी भएको छ । उद्घाटन खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई १६० रनले हराएको हो । कर्णाली प्रदेश ६ रनमा अलआउट भयो । टस जितेर पहिले ब्याटिंङ गरेको प्रदेश १ ले कप्तान रुविना क्षेत्री र अप्सरी वेगमको अर्धशतकको मदत्तमा २० ओभरमा २ विकेट क्षतिमा १६६ रन बनायो । ७६ रनको पारी खेलेकी कप्तान क्षेत्रीले १० बलको सामना गर्दा १० चौका प्रहार गरिन् । अप्सरीले ६१ रन बनाउँदा ६२ बलको सामना गर्दै ५ चौका प्रहार गरिन् । प्रदेश १ ले २९ रन अतिरिक्त पाएको पायो । कर्णालीका लागि दिव्या धामीले २ विकेट लिईन् । 

प्रदेश एकले दिएको १६७ रनको लक्ष्य पछ्याएको कर्णालीले ११ दशमलब ४ ओभरमा ६ रनमा सबै विकेट गुमायो । अघिल्लो बर्ष भएको प्रधानमन्त्री कपमा पनि कर्णाली ६ रनमा सिमित भएको थियो । कर्णालीका लागि कप्तान आयुषा टण्डनले बनाएको ३ रन नै सर्वाधिक रन हो । टोलीका लागि लक्ष्मी रिजाल र अंशु शाक्यले एक एक रन बनाउँदा ७ जना खेलाडी भने शुन्यमा आउट भए । प्रदेश नम्बर १ का लागि अलिशा खडीयाले ५ विकेट लिईन् । त्यस्तै संगीता राईले दुई र सबनभ राईले एक विकेट लिईन् । ५ विकेट लिएकी अलिशा प्लेयर अफ द म्याच भईन् । 

शनिबार नै फाप्ला क्रिकेट मैदानमा भएको दोस्रो खेलमा बागमती प्रदेशमाथि लुम्बिनी प्रदेशले सानदार जित दर्ता गरेको छ । टस जितेर पहिले व्याटिङ गर्दै बागमति प्रदेशले २० ओभरमा ७ विकेट क्षतिमा ७५ रन बनायो । बागमतिका लागि हेलिशा गुरुङले २८ रन बनाईन् । अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । बागमतिले १५ रन अतिरिक्त पायो । लुम्बिनीका लागि मधु डिसीले ३ विकेट र सुस्मिता भुषालले २ विकेट लिईन् । नेरी थापा र कप्तान सरस्वती जिएमले एक एक विकेट लिईन् । 

जवाफी ब्याटिंङ थालेको लुम्बिनी प्रदेशले १२ दशमलव ५ ओभरमा ३ विकेट क्षतिमा विजय लक्ष्य हासिल गरेको छ । लुम्बिनीलाई जिताउन कप्तान सरस्वती जिएमले सर्वाधिक २९ रन बनाईन् । नितु भण्डारीले १४ रन बनाउँदा टीमले १४ रन नै अतिरिक्त पायो । बागमतिका लागि अस्मिना कर्माचार्य, आरती विडारी र खुशी डंगोलले एक एक विकेट लिईन् । लुम्बिनीका लागि ३ विकेट लिएकी मधु डिसी प्लेयर अफ द म्याच भईन् ।  
प्रतियोगिताको दोस्रो दिन पनि दुई वटा खेल सञ्चालन हुनेछन् । पहिलो खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा बागमति प्रदेश र प्रदेश नम्बर १ खेल्नेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा  सञ्चालन भईरहेको प्रतियोगिताको यसअघि सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालवहादुर खड्काले उद्घाटन गरेका थिए । प्रतियोगिता पुस  ११ गतेसम्म सञ्चालन हुनेछ । 

७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइदैछ । समूह ए मा प्रदेश नम्बर १, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश र समूह बी मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर २ रहेका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेस्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।