कैलालीकी सुशीलाको थारु संस्कृति झल्काउने व्यवसाय
2021/12/18, 7:41
 
aa

नेपाली समाजमा आफूभन्दा सानालाई छुट्टै नामबाट बोलोउने गरिन्छ । जस्तै, बहिनीलाई काली, भुन्टी जस्ता उपनामले बोलाउने चलन छ । कैलालीकी सुशीला चौधरीलाई पनि गाउँघरमा आफन्तले मायाले सानैदेखि सुसेली भनेर बोलाउने गर्थे । सुसेलीको अर्थ सरल, मिठो, मायालु वा सुशील हो ।

तर, सुशीलाले आफूलाई मायाले दिएको उपनामलाई रुपान्तरण गर्दै आफ्नो पहिचान बनाएकी छिन् । काठमाडौं बानेश्वरको आलोकनगरमा सुसेली बुटिक एण्ड कलेक्सन छ । जुन नाम उनले आफै राखेकी हुन ।  आलोकनगरमा व्यवसायिक रुपमा बुटिक खोल्नुभएको पाँच महिना भयो । पाँच वर्षसम्म आफ्नै कोठाबाट सानो लगानीमा सुरु गरेको बुटिकबाट अहिले व्यवसायिक रुपमा अगाडि बढाएकी हुन । ‘घरबाट काम गर्दा भ्याइनभ्याइ काम आउँथ्यो’, उनले भनिन्, ‘व्यवसायिक रुपमा सुरु गर्ने सोच पहिले नै थियो ।’
बुटिकमा पहिले भन्दा अहिले बढी ग्राहक आउने सुशीला बताउँछिन् । पाँच जनालाई रोजगारी दिएकी छिन् । दुई जना भने कैलालीका भएको सुशीलाले जानकारी दिए । 

आफूले सानैदेखि सिकेको कामलाई व्यवसायिक रुप दिएको सुशीलाको भनाइ छ । उनले सिलाई बुनाइको काम सानैमा घरमा आमाले गरेको देखेर सिकेकी हुन । त्यसैले पनि यो व्यवसाय सुरु गर्न उनलाई समस्या भएन ।  ‘थारु समाजमा सबै डिजाइन हातबाट नै बनाइन्छ । सानैदेखि मलाई सिलाई कटाइको काम राम्रो लाग्थ्यो’, उनले भनिन्, ‘फेरि, थारु कल्चरमा हातको काम धेरै हुन्छ । सबै लुगा हातलै नै तयार गर्नुपर्छ ।’

सुशीलाले सुसेलीलाई एउटा ब्राण्डको रुपमा स्थापित गर्ने योजना बनाएकी छिन् । अन्य ठाउँमा पनि सुसेली खोल्ने उनको सपना छ । ‘सुसेलीलाई एउटा ब्राण्ड बनाएर अगाडि बढ्ने योजना बनाएकी छु’, उनले भनिन्, ‘तर, तत्काल सोचेजस्तो हुँदैन ।’
एनको बुटीकमा सबै किसिमको अर्डर आउने गर्छ । ती मध्ये थारु डिजाइनका लुगा धेरै अर्डर आउने उनी बताउँछिन् । ‘थारुका लुगा बनाउन सजिलो छैन । थारु लुगा डिजाइन गर्न धेरै दिन लाग्छ’, उनले भनिन्, ‘कुनैकुनै थारु लुगा तयार गर्न १० देखि १२ दिनसम्म पनि लाग्छ ।’  बुटीकमा थारु लुगाको लागि पूर्वदेखि पश्चिमसम्मको अर्डर आउने गर्छ । यसबाहेक अमेरिका, अष्ट्रेलिया र जापानमा जस्ता देशबाट पनि  थारु पहिरनको माग बढेको उनको भनाइ छ । 

‘काठमाडौंमा थारु समुदायको कल्चरल लुगा बनाउने ठाउँ भेट्न मुस्किल छ’, उनी भन्छिन्, ‘त्यसैले देश तथा विदेशबाट धेरै अर्डर आउने गर्छ ।’  थारुका पहिरन म्युजिक भिडियोमा पनि प्रयोग गरिएको छ । नरेश जोगीको ‘ओ सजन’ र अन्य १५ वटा गीतमा उहाँका डिजाइन प्रयोग भएका छन् । जस्तै, मिस्टर एण्ड मिसेस थारु, मिस सुदूरपश्चिम, मिस विराटनगर, मिस थारु जस्ता इभेन्टमा उनले डिजाइन गरेकी छन् ।  उनका अनुसार थारु समुदायका महिलाले लगाउने एउटा लेहेङ्गाको मूल्य चारदेखि ५० हजारसम्म पर्छ । तर काम अनुसारको कमाई नभएको उनी बताउँछिन् । एउटा डिजाइनका लागि कहिलेकाही वर्षदिन खट्नुपर्ने उनको भनाइ छ ।

सुरुका दिनमा बजारमा उनी ठगिएकी थिइन् । व्यवसायिक रुपमा बजारमा आउँदा धेरै गाह्रो र अप्ठयारो भोग्नु परेको थियो । सानो कमाईबाट उनले काम सुरु गरेकी हुन । ‘पहिलो पटक यो व्यवसायमा लाग्दा १५ हजार कमाएकी थिएँ’, उनले पहिलो महिनाको आम्दानी सुनाउँदै भनिन्, ’अहिले अरुलाई रोजगारी दिएर आफू पनि काम गर्दै आएकी छु । यही नै खुशीको कुरा हो ।’  थारु डिजाइन निकाल्न उनले कपडा कैलालीबाटै ल्याउने गरेका बताउँछिन् । विशेष गरेर थारुको महत्वपूर्ण पर्व माघीमा उनको बुटिकमा भ्याइनभ्याइ हुन्छ । यसबाहेक उनले ढकिया, डेलुवा, टोपी, सिरहट्टा, बिँरा, बेना जस्ता हातबाट बनेका विभिन्न सामान संकलन गरेकी छन् ।