फाप्लामा फर्कियो क्रिकेट, अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने योजना अधुरै
तीनवटै तहबाट छुट्याएको झण्डै ४० करोड बजेट फ्रिज 
2021/12/18, 8:35
 
aa

९ वर्षअघि फाप्ला साधारण गौचरनमात्रै थियो।  अहिले मैदान भएको एकातिर अग्लो डाँडा थियो। मैदान बनाउन त्यसलाई सम्याउनुपर्थ्यो। घाँस पनि उमार्नुपर्ने थियो। त्यहाँ अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन सजिलो थिएन।  स्थानीयको सहयोग पनि त्यतिकै महत्वपूर्ण थियो। फाप्लासम्म बिजुली पनि पुगिसकेको थिएन। त्यहाँसम्मको सडक त झन् ग्राभेल पनि गरिएको थिएन।  यस्ता यावत समस्या भएको फाप्लामा २०७१ सालमा नेपाल प्रिमियर लिग (एनपिएल)का खेल आयोजना गर्ने योजना बन्यो। 

एनपिएल धनगढीमा आयोजना गर्ने भए पनि आयोजकले पहिलो शर्त नै मैदान उपलब्ध गराउनुपर्ने राखेको थियो। तर त्यो स्तरको कुनै मैदान नहुँदा निजी क्षेत्रले फाप्लालाई मैदानको रूपमा तयार पार्न ठूलो सहयोग गर्‍यो।  त्यो वर्ष एनपिएलका दुई दिने फर्म्याटका प्रतियोगिता भएपछि फाप्ला देशभर नै चर्चित बन्यो। त्यसपछि यो मैदान सरकारको नजरमा पनि पर्‍यो।   संघीय सरकारले आर्थिक वर्ष २०७२/०७३ को बजेटमा यस मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने घोषणा पनि गर्यो।  धनगढी प्रिमियर लिग (डिपिएल)को सुरूआती संस्करणले पनि व्यावसायिक रूप लिइरहेको थियो।

तर राम्रो मैदान नहुँदा अन्तर्राष्ट्रिय स्तरको रंगशाला आवश्यक देखिएको थियो। सरकार आफैंले फाप्लालाई अन्तर्राष्ट्रिय रंगशाला बनाउनुपर्ने धारणा राखे पनि काम अघि बढेन। त्यसपछि पब्लिक प्राइभेट पार्टनरसीपको धारणा आयो। यो अवधारणा आएसँगै निजी क्षेत्रबाटै ‘ड्रिम फाप्ला’ अभियान सुरू भयो। त्योसँगै एउटा समिति पनि बन्यो।  अभियान सुरू भएपछि विभिन्न सरकारी संयन्त्र, संघ-संगठन, खेलाडीहरूले सक्दो सहयोग गर्ने घोषणा गरे। सरकारका तीनवटै तहले पनि यसलाई सहयोग गर्न बजेट छुट्याए।  सुदूरपश्चिम प्रदेश सरकारले २०७५ असार १ गते प्रदेशको पहिलो पूर्णकालीन बजेट प्रस्तुत गर्दा ५ करोड बजेट विनियोजन गरेको थियो।

संघीय सरकारले १२ करोड रुपैयाँ समपूरक र धनगढी उपमहानगरपालिकाले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।  आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारले नै फाप्ला क्रिकेट मैदानलाई प्रदेश गौरवको आयोजनाका रूपमा अगाडि बढाउने घोषणा गरेको थियो। प्रदेशले यस मैदानको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न एक करोड बजेट पनि विनियोजन गरेको थियो।  त्यही मैदानमा २०७६ सालमा डिपिएलको तेश्रो संस्करणको भव्य रूपमा आयोजना भयो। तर त्यसयता त्यहाँ कुनै ठूलो प्रतियोगिता हुन सकेको थिएन। जसले त्यस मैदानलाई पुन: गौचरन बनाएको थियो।

तर शनिबारदेखि त्यो मैदान पुन: क्रिकेट मैदान बनेको छ। अन्तर्राष्ट्रिय मैदान बनाउने योजना रहेको फाप्लामा शनिबारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरू भएको हो।  नेपाल क्रिकेट संघ क्यानको वार्षिक तालिका अनुसार पुस ३ गतेदेखि ११ गतेसम्म फाप्लामा यो प्रतियागिता चल्नेछ।  नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगितामा ७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी छन्।  समूह ए मा प्रदेश नम्बर १, लुम्बिनी प्रदेश, बागमती, कर्णाली र समूह बीमा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम, गण्डकी र प्रदेश नम्बर २ छन्।

प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज हुनेले २५ हजार, बेस्ट बलरले १५ हजार, बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार पाउनेछन्।  प्रतियोगिता खेल्न देशभरका चर्चित तथा अनुभवी खेलाडी धनगढी आएका छन्। खेलका लागि फाप्लाको मुहार एकपटक फेरि श्रृंगारिएको छ।  क्रिकेट समर्थकहरूले फाप्लामा फेरि क्रिकेट फर्केको संज्ञा दिएका छन्। क्रिकेट एसोसिएसन नेपाल क्यानका सुदूरपश्चिम अध्यक्ष हरि रेग्मीले विविध कारणले खेल गतिविधिमा केही कमी आएका बेला यो राष्ट्रियस्तरको प्रतियोगिताले नयाँ माहोल बनाएको बताए।

प्रतियोगिताका सह–आयोजक रहेका सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष रेग्मीले फाप्लामा क्रिकेट फर्किन लागेको भन्दै खुसी व्यक्त गरे।  ‘यो हाम्रो लागि खुसीको विषय हो। यसले उत्साह थपेको छ,’ उनले भने।  फाप्लामा यसपछि क्रिकेटका गतिविधि तथा प्रतियोगिता भइरहनुपर्ने उनको धारणा छ।  अन्तर्राष्ट्रिय मैदानको परिकल्पना गर्दै थालिएको ड्रिम फाप्ला अभियानका संयोजक सुभास शाहीले पनि फाप्लामा राष्ट्रियस्तरको प्रतियोगिताको आयोजना हुनु खुसीको कुरा भएको बताए।

अन्तर्राष्ट्रिय मैदान बनाउने अभियानमा सम्बन्धित निकाय गम्भीर नबनेकोमा उनको पनि गुनासो छ।  घरेलु क्रिकेटमा सुदूरपश्चिम बलियो टोली मानिन्छ। गाउँ, जिल्ला र क्षेत्र हुँदै क्रिकेटको माध्यमबाट देश चिनाएका खेलाडी सुदूरपश्चिममा थुप्रै छन्। प्रदेशमा घरेलु क्रिकेटको संरचना पनि मजबुत छ।  ‘यहाँ उच्चस्तरीय मैदानको अभावमा खेलाडीले खोलाको बगर, खेतका गह्रा, विद्यालयका प्राङ्गण र मन्दिरका आँगनमा तयारी गर्नुपर्ने बाध्यता छ,’ उनले भने,‘मैदान अभावले खेलाडीको तयारीमा देखिएको समस्या र प्रतियोगिता सञ्चालनमा भैरहेका अप्ठ्यारालाई फाप्लाले समाधान गर्ने सपना अधुरै छ।’

गौचरनबाट क्रिकेट मैदान बनेको फाप्लामा अर्न्तराष्ट्रिय क्रिकेट मैदान कहिले बन्ला भन्ने चासोको विषय बनेको छ। २०७७/०७८ मा प्रदेश सरकारले लगातार तेस्रो पटक आफ्नो पूर्णकालीन बजेटमा पनि फाप्लालाई प्रदेश गौरवको आयोजना सम्बोधन गर्दै विस्तृत परियोजना प्रतिवेदन तयार पार्न एक करोड २५ लाख विनियोजन गरेको थियो।

तर प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा भने फाप्लाको नाम बजेटमा छुटाएको छैन।  संघ र स्थानीय सरकारले पनि खेल क्षेत्रमा बजेट घटाएको भन्ने आलोचना भइरहेको छ।  प्रदेश सरकारले तीन आर्थिक वर्षमा फाप्ला क्रिकेट मैदानका लागि सात करोड २५ लाख बजेट विनियोजन गरेपनि खर्च भने शून्य रह्यो।  प्रदेशको सामाजिक विकास मन्त्रालयले फाप्लामा जग्गाको भोगाधिकार नै नपाएकोले छुट्याएको बजेट खर्च गर्न नसकेको बताएको छ।  सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले संघीय सरकारलाई जग्गा प्राप्तिका लागि तीन वर्षअघि नै फाइल पठाइएको भएपनि जवाफ नआएको बताए।

‘जग्गा प्राप्ति नभएपछि छुट्याएको बजेट पनि फ्रिज भयो। हामी अझै पनि प्रयासमा छौं,’ उनले भने।  फाप्ला क्रिकेट मैदान निर्माणका लागि अहिलेसम्म तीन तहको सरकारले छुट्याएको झण्डै ४० करोड बजेट फ्रिज भएको छ।