कैलालीको धनगढीमा भईरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल प्रभावित भएको छ ।
फाप्ला क्रिकेट मैदानमा सञ्चालन भईरहेको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल हुस्सु र शितलहरका कारण सुरु हुन नसकेको हो । शनिबार भएका खेलमा प्रदेश नम्बर १ र लुम्बिनी प्रदेश विजयी भएका थिए ।
विहान ९ बजे हुने भनिएको पहिलो खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश बीचको खेल अहिले पनि सुरु हुन सकेको छैन् । पहिलो खेल निर्धारित समयभन्दा ढिलो हुँदा दोस्रो खेल पनि प्रभावित हुने भएको छ । दोस्रो खेलमा बागमति प्रदेश र प्रदेश नम्बर १ खेल्नेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भईरहेको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ ।
७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइदैछ । समूह ए मा प्रदेश नम्बर १, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश र समूह बी मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर २ रहेका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेस्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।