प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताः प्रदेश नम्बर २ को पहिलो जित, गण्डकी बाहिरियो
2021/12/22, 4:04
 
ss

समूह ‘बी’ अन्तर्गत बुधबार नै भएको दोस्रो खेलमा भने प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई हराएको छ । पहिलो खेलमा एपिएफसँग हार व्यहोरेको प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै सेमिफाईनल प्रवेशको सम्भावना जिवितै राखेको हो । लगातार दुई हारसँगै गण्डकी प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर पहिले ब्याटिङ गर्दै गण्डकी प्रदेश ३९ रनको झिनो योगफलमा समेटियो । १७ दशमलव १ ओभरमा सबै विकेट गुमाएको गण्डकीका लागि अञ्जली विश्वकर्माले सर्वाधिक १५ रन बनाईन् । अन्य खेलाडीले दोहोरो रन अंक छुन नपाउँदा गण्डकीले १३ रन अतिरिक्त पाएको थियो । प्रदेश नम्बर २ का लागि सन्तोषी चौधरीले ३ विकेट लिईन् । त्यस्तै अनुराधा चौधरीले २, रोजी कडारी र सरस्वती चौधरीले समान एक विकेट लिईन् । 

४० रनको विजय लक्ष्य प्रदेश नम्बर २ ले ३ विकेट क्षतिमा भेट्टायो । १० दशमलव ३ ओभरमा जित हात पार्नका लागि ओपनरद्धय साना प्रविन र अनुराधा चौधरीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरिन् । सानाले १३ रन बनाउँदा अनुराधाले १२ रन बनाईन् । गण्डकी प्रदेशका लागि शिला क्षेत्रीले एक विकेट लिईन् ।  खेलमा प्रदेश नम्बर २ की सरस्वती चौधरी प्लेयर अफ द म्याच भईन् । 

प्रतियोगिता अन्तर्गत बिहीवार लिग चरणका अन्तिम दुई खेल हुनेछन् । लिग चरणका दुबै खेल समुह बी का रहेका छन् । पहिलो खेलमा सुदुरपश्चिम प्रदेश र प्रदेश २ खेल्नेछन् । अर्को खेलमा गण्डकी प्रदेश र एपिएफ खेल्नेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा  सञ्चालन भईरहेको प्रतियोगिता पुस  ११ गतेसम्म सञ्चालन हुनेछ ।  प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।