सुदुरपश्चिमलाई  हराउँदै एपिएफ सेमिफाईनलमा, प्रदेश २ को पहिलो जित, गण्डकी बाहिरियो
प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताः 
2021/12/22, 4:06
 
ss

विभागीय टीम एपिएफ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा पुगेको छ । बुधबारको पहिलो खेलमा एपिएफले सुदुरपश्चिमलाई ८९ रनले हराएको हो । लगातार दोस्रो जितसँगै एपिएफ सेमिफाईनल प्रवेश गरेको छ । सुदुरपश्चिमलाई सेमिफाईनल पुग्नका लागि अवको अन्तिम प्रदेश नम्बर २ लाई हराउनु पर्नेछ ।

बुधबारको दोस्रो खेलमा प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई हराउँदै सेमिफाईनल प्रवेशको सम्भावना कायम राखेको छ । समुह बी मा दुई खेलमा दुबैमा जित हात पार्दै एपिएफ चार अंक सहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । समान दुई खेल खेलेका सुदुरपश्चिम र प्रदेश नम्बर २ को एकमा जित र एकमा हार सहित दुई अंक रहेको छ । रनरेटमा सुदुरपश्चिम प्रदेश दोस्रो स्थानमा रहेको छ भने प्रदेश नम्बर २ तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा रहेको गण्डकी प्रदेश दुई खेलमा जित विहीन हुदैं अंक विहीन भएर पुछारमा रहेको छ । 

धनगढीको फाप्ला मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा एक सय २८ रन बनायो । एपिएफका लागि ओपनर ईन्दु बर्माले सर्वाधिक ३३ रन जोड्दा राजमती ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन जोडे । सुदुरपश्चिमका लागि कप्तान रितु कनौजियाले तीन तथा दिपा जोरा र कविता जोशीले समान दुई विकेट लिए ।

एक सय २९ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमको पारी एपिएफको बलिङ सामु टिक्न सकेन् । सुदुरपश्चिमले १४ ओभरमा सबै विकेट गुमाउँदै ३९ रन मात्रै बनाउन सक्यो । सुदुरपश्चिमका लागि कप्तान रितु कनौजिया र रुवि पोदारले समान १० रन बनाए । अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन् । एपिएफका लागि करुणा भण्डारीले ४ विकेट लिईन् । सोनु खड्का, रेखा रावल र सीता राना मगरले समान १ विकेट लिईन् । खेलमा ४ विकेट लिएकी एपिएफकी करुणा भण्डारी प्लेयर अफ द म्याच भईन् । 

प्रदेश नम्बर २ को पहिलो जित, गण्डकी बाहिरियो
समूह ‘बी’ अन्तर्गत बुधबार नै भएको दोस्रो खेलमा भने प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई हराएको छ । पहिलो खेलमा एपिएफसँग हार व्यहोरेको प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै सेमिफाईनल प्रवेशको सम्भावना जिवितै राखेको हो । लगातार दुई हारसँगै गण्डकी प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर पहिले ब्याटिङ गर्दै गण्डकी प्रदेश ३९ रनको झिनो योगफलमा समेटियो । १७ दशमलव १ ओभरमा सबै विकेट गुमाएको गण्डकीका लागि अञ्जली विश्वकर्माले सर्वाधिक १५ रन बनाईन् । अन्य खेलाडीले दोहोरो रन अंक छुन नपाउँदा गण्डकीले १३ रन अतिरिक्त पाएको थियो । प्रदेश नम्बर २ का लागि सन्तोषी चौधरीले ३ विकेट लिईन् । त्यस्तै अनुराधा चौधरीले २, रोजी कडारी र सरस्वती चौधरीले समान एक विकेट लिईन् । 

४० रनको विजय लक्ष्य प्रदेश नम्बर २ ले ३ विकेट क्षतिमा भेट्टायो । १० दशमलव ३ ओभरमा जित हात पार्नका लागि ओपनरद्धय साना प्रविन र अनुराधा चौधरीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरिन् । सानाले १३ रन बनाउँदा अनुराधाले १२ रन बनाईन् । गण्डकी प्रदेशका लागि शिला क्षेत्रीले एक विकेट लिईन् । खेलमा प्रदेश नम्बर २ की सरस्वती चौधरी प्लेयर अफ द म्याच भईन् । 
प्रतियोगिता अन्तर्गत बिहीवार लिग चरणका अन्तिम दुई खेल हुनेछन् । लिग चरणका दुबै खेल समुह बी का रहेका छन् । पहिलो खेलमा सुदुरपश्चिम प्रदेश र प्रदेश २ खेल्नेछन् । अर्को खेलमा गण्डकी प्रदेश र एपिएफ खेल्नेछन् । 

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा  सञ्चालन भईरहेको प्रतियोगिता पुस  ११ गतेसम्म सञ्चालन हुनेछ ।  प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।