कैलालीको भजनी नगरपालिका वडा नम्बर(७ हिम्मतपुर सामुदायिक वनभित्र टीकाराम डंगौरा १४ वर्षदेखि बस्दै आएका थिए । २०६४ सालमा मोहना नदीले घरबास गर्दै आएको जमिन कटान भएपछि उनी सोही वनमा झुपडी घर लगाएर चिया पसल सञ्चालन गरिरहेका थिए । बुधबार इलाका वन कार्यालय भजनीले वन अतिक्रमण गरेर बसेको भन्दै सोही घर भत्काएको छ । १६ जना परिवार रहेको टीकारामको घर वनले भत्काएपछि भन्दै थिए –‘नदीले जग्गा बगायो । सुरक्षित हुन्छु भनेर यही जंगलमा बसेको थिए । अब घरबारविहिन बनायो ।’ उनले जग्गा नभएपछि सडकमा बस्नुको विकल्प नरहेको बताए ।
वडा नम्बर(७ मा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित टीकारामले पटक–पटक नगरपालिकालाई बाढी प्रभावितहरुको उचित बसोबासको व्यवस्थापन गर्न माग गरेपनि कुनै सुनुवाई नभएको बताए । २०७८ साल साउनमा आएको बाढीका कारण सोही बस्तीमा बसोबास गर्दै आएका बाबुराम डंगोराको पनि घर जग्गा मोहना नदीले कटान गर्यो । नदी घरभित्रै पसेपछि शशस्त्र प्रहरीले उद्दार गरेर सामुदायिक वनभित्र बसाएको थियो । बाबुराम डंगोरासंगै साउनको भारी वर्षातले १८ घरपरिवार प्रभावित भएका थिए ।
शशस्त्र प्रहरीले उनीहरुलाई उद्दार गरी सोही वनमा बसाएपनि बुधबार भने वन कार्यालयले डोजर प्रयोग गरेर त्यहाँ बनाइएका झुपडी घर भत्काएको सहायक वन अधिकृत दिलिपकुमार यादवले बताए । बाबुरामको चार परिवार छ । श्रीमती, एक छोरा र एक छोरीलाई देखाउँदै उनले भने –‘नदीले घरबास बगायो । वनले बसेको घर भत्कायो । अब ठाउँ छैन कहाँ गएर बस्ने टुङ्गो छैन ।’ उनले त्रिपाल टागेर सडकमा बस्नुको विकल्प नरहेको बताए ।
साउनमा वनभित्र बाढी प्रभावितहरुमात्र बस्दै आएका थिए । मोहना नदीले बस्तीमा जोखिम पारेपछि सो बस्तीमा रहेका एक सय २० घरपरिवारले सोही वनभित्र घर बनाएर बासोबास गरिरहेका थिए । ‘पहिला यहा“ हामी १८ घरपरिवारमात्र थियौं । स्थानीय सरकारले विस्तारै अन्यत्र बसोबास गराउँछु भनेको थियो’ बाढी प्रभावित सीता डंगौराले भनिन् –‘हामी बसेको देखेर बस्तीका अन्य मानिस पनि यही आए । उनीहरुका कारण वनले डोजर लगायो । वस्तीमा घर भएका त आफनो घर गईहाल्छन । नदीले घरनै बगाएका हामी कहा“ गएर बस्ने होला रु’
श्रीमान, दुई छोरा, एक ससुरा गरेर पाँच परिवार रहेका सीताले भनिन् –‘यो कठ्याङ्ग्रीदो जाडोमा सडकमा त्रिपाल टाँगेर बस्न पनि समस्या रहेको छ ।’ बाढीले विस्थापित गराउँदा माया डंगौरा कोखमा बच्चा थियो । अहिले उनको छोरा दुई महिनाको छ । सडक छेउमै बेडमा सामान राखेर छोरालाई दुध चुसाइरहेकी थिइन् । ‘दुई महिनाको छोरा हो । नगरपालिकाले यहि त्रिपालमात्र दिएको छ । म त सडकमा यो चिसोमा बस्न सकुला । छोरालाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता छ’ उनले भनिन ‘घर नदीले बगायो । यहाँ सुरक्षित भएर बस्न पाउला भनेर आए । वनले यहाँ पनि बस्न दिएन । कुनै पनि सरकारले हाम्रो व्यवस्थापन गर्न सकेको छैन ।’ उनले आफुहरुलाई जहाँ बसाएपनि सरकारले सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने बताइन ।
सोही वस्तीका रामकिसन डंगोराको घर नजिक मोहना नदी पुगिसकेको छ । ‘यो वर्ष त नदीले कुनै असर गरेन । तर, अब मेरो घर पनि कटानको जोखिममा छ’ उनले भने –‘बाढीबाट सुरक्षित हुन्छौं की भनेर यही घर बनाएको थिए । वनले अतिक्रमणका नाममा बस्न दिएन ।’ ईलाका वन कार्यालय भजनीले एक महिनाअघि वनभित्रका संरचना आफै भत्काउन अनुरोध गरेको थियो । ‘साउनअघि यहाँ दुई घरमा मात्र दिए । साउनको बाढीपछि वनभित्र बस्ती विस्तार हुन लाग्यो’ सहायक वन अधिकृत यादवले भने –‘एक सय २० घरपरिवार वनभित्र बसेका थिए । अनुरोध गर्दा अन्यले आफैले भत्काएका थिए भने ५० घरलाई डोजर लगाएर हटाइएको छ ।’
वनभित्र बनेका घर भत्काउँदा शान्त बसेका स्थानीयहरु प्रहरीको दमनका कारण आन्दोलित बनेका छन । ‘हाम्रा घर भत्काउँदा वनलाई कुनै अप्ठ्यारो दिएनौ । तर, सडकमा व्यापारका लागि बनाइएका घर पनि भत्कायो । महिलामाथि प्रहरीले लाठीचार्ज पनि गर्यो’ स्थानीय लक्ष्मी डंगौराले भनिन् –‘प्रहरीको दमनका कारण हामी आन्दोलित भएका हौं ।’ त्यहाका स्थानीयले सुरक्षित बास र प्रहरीका दमनका विरुद्ध हुलाकी सडकमा डुङ्गा र काठका मुडा विच्छ्याएर सवारी साधन आवतजावतमा अवरोध गरेका थिए ।