आर्थिक र सामाजिक रुपले उत्पीडनमा परेको बादी समुदायका महिला श्रम स्वीकृतिबिनै वैदेशिक रोजगारीमा जानेक्रम बढ्न थालेको छ । चरम गरिबीका कारण गुजारा गर्न समस्या भएपछि कैलालीमा बसोबास गर्ने बादी समुदायका महिला श्रम स्वीकृतिबिनै वैदेशिक रोजगारीमा जानेक्रम बढ्न थालेको हो । पिछडिएको अल्पसङ्ख्यक समुदायका उनीहरु भारत, श्रीलङ्का हुँदै खाडी मुलुकमा पुग्ने गरेका जनाइएको छ ।
गरिबीका कारण जीवन धान्न गाह भएपछि लम्कीचुहा नगरपालिका–३ बल्चौरका कैयौं बादी महिला विदेशिएका छन् । केही महिला विदेशमा दुःख भोगेर फर्किसकेका छन् । तीन वर्ष अगाडि नै भारतको बाटोहुँदै दलालमार्फत कुवेत पुगेको सुनाउँदै ३५ वर्षीया चिन्तादेवी बादीले त्यहाँ पाउनसम्म दुःख पाएको उल्लेख गरिन् ।
‘मालिक्नी र उसको छोराको दुव्यर्वहार र कामको चापका कारण कुवेतमा एक वर्ष पनि टिक्न सकेन’, उनले भनिन् । ‘घर फर्किन्छु भनेर नेपाली दुतावास पुगेकी थिएँ । तर, दुतावासले फेरि सोही घरमै फिर्ता पठाइ दियो ।’ नेपाली राजदुतावासले आफूलाई असहयोग गरेको चिन्तादेवीको दुखेसो छ । दोस्रो पटक भागेर एयरपोर्ट पुगेको र एक जना थारु महिलाको सहयोगमा आफू स्वदेश फर्केको उनले बताइन् ।
धेरै कमाउने र सुख पाउने सपना बोकेर कुवेत पुगेकी चिन्तादेवीले त्यहाँ दुःखमात्रै पाएको अनुभव संगालेकी छन् । ‘अवैध बाटोबाट गएकाले न भने अनुसार काम थियो न त तलब’, उनले भनिन् । घरेलु कामदारको रुपमा कुवेत पुगेकी थिइन्, चिन्तादेवी बादी । तर, मासिक ८० रुपैयाँमा पूरा दिन र आधा रातसम्म काम गराउने, दुव्र्यवहार गर्ने कारणले आफू टिक्न नसकेको उनको भनाइ छ । कुवेतमा थोरै काम गर्नु पर्ने र धेरै पैसा कमाउन सकिने प्रलोभनमा कञ्चनपुरकोे थापा थरकी एक महिलाले भारतको बाटो हुँदै आफूलाई कुवेत पु¥याएको चिन्तादेवीले बताइन् ।
विगतमा गुजाराका लागि बादी समुदायका महिला बाध्यात्मक यौन व्यवसाय गर्न बाध्य थिए । घुम्ने र मादल बजाउँदै माग्ने उनीहरुको पुख्र्यौली पेशा हो । तर, पछिल्लो समय उनीहरु वैदेशिक रोजगारीतिर अग्रसर हुन थालेका छन् । यसै क्रममा श्रम स्वीकृति नलिइ दलालमार्फत विभिन्न मुलुकमा पुग्ने र श्रम तथा शारीरिक शोषणमा परेर फर्किनेको सङ्ख्या पनि बढ्न थालेको छ ।
तीन वर्षसम्म कुवेतमै बसेर घर फर्किनु भएकी ३६ वर्षीया गीतादेवी बादीले वैदेशिक रोजगारीको क्रममा सहन नसक्ने पीडा खेपेर जसोतसो स्वदेश फर्किकी छन् । भारतको बाटोहुँदै श्रीलङ्का र त्यहाँबाट कुवेत पुगेको उल्लेख गर्दै उनले भनिन्–‘विहान ४ देखि राति १२ बजेसम्म काम गर्नु पर्दथ्यो । मासिक ८० रुपैयाँमा काम गरेँ । ओभर टाइमको पैसा कहिल्यै पाएन ।’
त्यस्तै, बल्चौरकै विष्णादेवी बादी पनि परदेशमा धेरै दुःख पाएर फर्किनु भएको छ । आठ घण्टा काम गराउने सहमतिमा आफूलाई कुवेत पु¥याइए पनि त्यहाँ न्यून ज्यालामा दैनिक १५–१६ घण्टा काम गर्नु परेको उनको भनाइ छ । ‘मुटुको समस्याका कारण श्रीमानको मृत्यु भयो । त्यसपछि दुई बच्चा छोडेर म भारत हुँदै कुवेत पुगेकी थिएँ’, उनले भनिन् । ‘तर, भनिए जस्तो काम र पैसा पाइएन । दुःख धेरै खेप्नुप¥यो।’
बादी समुदायका धेरै जसो महिला दलालमार्फत भारतीय बाटो हुँदै वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुग्ने गरेको बादी समुदायका अगुवाहरुको भनाइ छ । वडा सदस्यसमेत रहेकी पार्वती बादीले धेरै जसो महिला दलालमार्फत वैदेशिक रोजगारीमा जाने गरेको बताइन् । उनीहरु गैरकानूनी तरिकाले विदेश पुग्दा त्यहाँ ठगिने र समस्यामा पर्ने गरेको उनको बुझाइ छ ।
वडा सदस्य बादीका अनुसार यो वर्षमात्रै कैलालीका १५ जना बादी समुदायका महिला वैदेशिक रोजगारीका लागि गएका छन् । घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा जानेहरुका लागि ‘फ्रि भिसा, फ्रि टिकट’ भनिएपछि यहाँबाट बादी महिला वैदेशिक रोजगारमा जानेक्रम बढ्न थालेको सुदूरपश्चिम बादी उत्थान समाजका सचिव नन्दराम बादीको बुझाइ छ । उनले बादी समुदाय मगन्ते रहेका कारण पैसाको अभावले वैध तरिकाले नभइ महिलाहरु दलालमार्फत विदेशतिर जाने गरेको उल्लेख गरे ।