कञ्चनपुरको महाकाली अस्पतालबाट परीक्षण विना नै १३ जना कोरोना संक्रमित  डिस्चार्ज 
2020/06/17, 5:28
 
korona

बुधबार कञ्चनपुरको महाकाली अस्पतालबाट  १३ जना संक्रमितलाई घर फिर्ता पठाइएको  छ । कोरोना भएर अस्पतालको आइसोलेसनमा भर्ना भई १४ दिन बिताएपछि उनीहरू घर फर्केका छन् । तर अहिलेसम्म कीट अभावले अन्तिममा  परीक्षण विना नै उनीहरुलाई घर पठाइएको छ।

कञ्चनपुरको लालझाडी ४ का २५ वर्षीय पुरुष, पुनर्वास नगरपालिका–५ का ३३ र ५२ वर्षीय पुरुष, पुनर्वास–९ का २८, ३० र ३६ वर्षीय पुरुष गरी कञ्चनपुरका ६ जना र कैलालीको गौरी गंगा नगरपालिका–४ का १९ देखि ३५ बर्षका ७ जना पुरुष गरी १३ जनालाई कोरोना परीक्षण बिनै अस्पतालबाट डिस्चार्ज गरिएको हो । कञ्चनपुरका ६ जनालाई जेठ २० गते र कैलालीका ७ जनालाई जेठ २१ गते कोरोना पोजिेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

१४ दिनसम्म उनीहरुको स्वास्थ्यमा कुनै समस्या नआएपछि डिस्चार्ज गरिएको उपचारमा संलग्न डा सरोज आचार्यले बताए । एक साताको होम क्वारेन्टाइनमा बस्ने गरी सबैलाई डिस्चार्ज गरिएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए ।

उनी सबै भारतबाट जेठ दोस्रो साता नेपालमा भित्रिएका थिए । महाकाली अस्पतालको आइसोलसन वार्डमा अब ४ महिला र ३० पुरुष गरी ३४ जना रहेका छन् । ५ जनालाई कोरोना परीक्षण नगरी डिस्चार्ज गरिएको थियो । योसँगै महाकाली अस्पतालबाट कोरोना परीक्षण नगरी डिस्चार्ज हुनेको संख्या १८ पुगेको छ ।