बाढी विस्थापितका टहरा डोजर लगाएर भत्काइए, विचल्लीमा पीडित
2021/12/24, 10:20
 
ss

गत साउन दोस्रो साता मोहना नदीमा आएको बाढीले कटान गरेर घर बगाउन थालेपछि भजनी नगरपालिका–७, हिम्मपुरका सर्मन डगौराको परिवार विस्थापित भयो । घर बग्नै लाग्दा डगौराले प्रहरी र स्थानीयको सहयोगमा काठले बनेको आफ्नो कच्ची घर भत्काएर सामान सुरक्षित ठाउँमा सार्न भ्याए ।

विस्थापित भएको केही दिनमै घरबास रहेको दुई कठ्ठा जमिन नदीले बगायो । बाढीले घरवारविहीन हँुदा स्थानीय हिम्मतपुर सामुदायिक वनको छेउमा टहरा बनाएर बसेका डगौराको परिवार त्यहाँबाट पनि वन कार्यालयले हटाएपछि अहिले विचल्लीमा परेको छ । वनले डोजर लगाएर बुधबार टहरा भत्काइदिएको हो।

घर नभएपछि बालबालिकासहित १० जनाको परिवारलाई कहाँ राख्ने भन्ने समस्या भएको दुखेसो उनले पोखे । ‘घरबासका नाममा एक धुर बाँकी रहेन । यहाँबाट पनि वनले लखेटेपछि हामी कहाँ गएर बस्नु रु’ डगौराले भने, ‘नाबालक छोराछोरी छन् । यस्तो चिसोमा कहाँ लगेर राखौँ रु’ उनकी श्रीमती माया दुई महिने सुत्केरी छन् ।  वन कार्यालयले टहरा भत्काइदिँदा डगौराजस्तै कटानले विस्थापित भएका स्थानीय १८ परिवार विचल्लीमा परेका छन् ।

गत साउनमा मोहना नदी कटानले घरबास बगाएपछि विस्थापित भएका पीडित सामुदायिक वनको छेउमा बनाएका झुपडी बनाएर बसेका थिए । सव डिभिजन वन कार्यालय भजनीले बुधबार डोजर लगाएर पीडितका झुपडी भत्काएको हो । टहरा भत्काइपछि उनीहरु वन छेउको कच्ची सकडमा सामान राखेर खुला आकाशमुनि बसिरहेका छन् । सडकमा खुला आकाशमा बस्नु बाहेक विकल्प नरहेको बाढीपीडित हिरादेवी डगौराले बताइन् ।

‘कष्ट भए पनि टाउको लुकाउने ओत थियो, त्यो पनि भत्काइ दिए ।’ उनले आक्रोश पोखिन्, ‘घरबास बगिसक्यो, वन छेउमा बस्न दिँदैनन्, हामी कहाँ गएर बस्ने सरकारले देखाइदेओस् ।’ खुला आकाशमा बस्नुपर्दा बालबालिका र बुढापाकालाई चिसोबाट जोगाउने चिन्ता भएको उनले बताइन् । उनको घरबास रहेको एक कठ्ठा जग्गामा अहिले नदी बने ठाउँ भएको छ ।   

नदी कटानले घरबास बाँकी नरहेका पीडितलाई अस्थायी रुपमा वनको छेउमा बस्न दिने स्थानीय जनप्रतिनिधिलगायत सर्वदलीय सहमतिअनुसार उनीहरु त्यहाँ खरका झुपडी बनाएर बसेका थिए । घरबासविहीनले झुपडी बनाएकै ठाउँमा नदी कटानले घर बग्ने जोखिममा रहेका परिवारले पनि टहरा बनाउन थालेका थिए । उक्त ठाउँमा अरु परिवारले पनि अतिक्रमण गरेर टहरा बनाउन थालेको भन्दै वन कार्यालयले डोजर लगाएर भत्काएको हो ।

वनभित्र बनाइएका करिब ४० टहरा डोजरले भत्काएको भजनी सव डिभिजनका प्रमुख सहायक वन अधिकृत दिलिपकुमार यादवले बताए । वनभित्र बनाएका टहरा हटाउन एक महिनाअघिनै सूचना जारी गरिएको तर अटेरी गरेपछि डोजरले भत्काउनु परेको उनले बताए । ‘हामीले वनबाट हट्न बारम्बार आग्रह ग¥यौँ तर नमानेपछि हटाउनु पर्ने अवस्था आयो ।’ यादवले भने । बाढी विस्थापित १८ परिवारलाई जंगलको छेउमा अस्थायी रुपमा बस्न दिनेबारे पुनर्विचार गरिने उनले बताए ।    

कटानले नदी घरछेउमै पुग्न थालेकाले आगामी बर्खा घरमा बस्नसक्ने अवस्था नहुने भन्दै कतिपय परिवारले पनि वनमा टहरा बनाएका थिए । विस्थापित भएका र जोखिममा रहेका परिवारले सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायमा बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । कुनै पनि निकायबाट सुनुवाइ नभएपछि र कहीँ जाने विकल्प नरहेपछि वनको छेउछाउमा टहरा बनाएर बस्नु परेको वडा सदस्यसमेत रहेका पीडित टीकाराम डगौराले बताए ।

‘नदीले बर्खाको सिजनमा घरमा बस्ने अवस्था हुँदैन, सानो झुपडी लगाउनलाई भए पनि आवाशको व्यवस्था गरिदिनु प¥यो भनेर नगरपालिका, प्रशासन आदि निकायमा बारम्बार गयौँ तर हाम्रा पीडा कसैले बुझेनन् ।’ डगौराले भने, ‘केही विकल्प नरहेपछि वन छेउछाउमा अस्थायी रुपमा बस्न खोजेका थियौँ, त्यहाँबाट पनि भगाए ।’   

पुसको कठ्याग्रीदो चिसोमा घर भत्काएर विचल्ली हुँदा निकै समस्या भएको भन्दै पीडितले सरकारले व्यवस्था नगरेसम्म अस्थायी रुपमा अहिले बसेकै ठाउँमा बस्न दिन आग्रह गरेका छन् । सरकारले घरबास दिएमा जुनसुकै ठाउँमा बस्न आफूहरु तयार रहेको पनि उनीहरुको भनाइ छ । टहरा भत्काउन वन रक्षकसँगै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका थिए ।