सुदूरपश्चिममा कोरोनाका कारण तेस्रो महिलाको मृत्यु
2020/06/17, 7:49
 
korona death

कोरोनाले कैलालीकी महिलाको मृत्यु भएको छ । नेपालगंज मेडिकल कलेजमा उपचारत महिलाको मृत्यु भएको हो । कैलालीको लम्की चुहा वडा नम्बर २ की ४३ बर्षीयाको मंगलवार मृत्यु भएको थियो । वुधवार उनको परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

टाउकोमा चोट लागेका कारण उपचार गर्न गएपछि नेपालगंज मेडिकल कलेज कोहलपुरमा मंगलवार मृत्यु भएकी महिलाको कोरोना वुधवार पुष्टि भएको नेपालगंज मेडिकल कलेजले जनाएको छ । मंगलवार मृत्यु भए लगत्तै उनको स्वाब संकलन गरिएकोमा वुधवार भेरी अञ्चल अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

नेपालगंज मेडिकल कलेजका सह निर्देशक डाक्टर नितेशकुमार कनौडियाले महिलाको कोरोनाले मृत्यु भएको पुष्टि गरे । शव मेडिकल कलेजमै राखिएको मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले बताए । सेनाले शवको अन्त्यष्टि गर्ने भएका कारण स्थानीय प्रशासनलाई पनि जानकारी गराईसकेको उनले बताए । 

योसँगै सुदुरपश्चिममा कोरोनाका कारण तीन जनाको मृत्यु भईसकेको छ । यसअघि कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ बर्षीया महिला र वाजुराको वुढीगंगा नगरपालिकाको दुई बर्षीया वालिकको मृत्यु भएको थियो । तीनै जनाको मृत्यु भएपछि मात्रै कोरोना पुष्टि भएको छ ।