एपिएफ प्रधानमन्त्री कपको उपाधि नजिक
2021/12/25, 4:28
 
ss

विभागीय टीम एपिएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाईनलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । एपिएफले अब उपाधिका लागि प्रदेश १ सँग प्रतिस्पर्धा गर्नेछ । 

टस जितेर पहिले ब्याटिङ गर्दै एपिएफले २० ओभरमा ३ विकेट क्षतिमा १२९ रन बनायो । एपिएफका लागि रोमा थापाले अविजित ४२ रनको पारी खेलिन् । त्यस्तै ममता चौधरीले २७ रन, सीता रानामगरले १८ रन, राजमति ऐरी १४ रन र ज्योती पाण्डेयले ११ रन थपिन् । लुम्बिनीका लागि मधु डिसी, नेरी थापा र कृतिका मरासैनीले समान १ विकेट लिईन् । 

१३० रनको विजय लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले ९१ रन मात्रै बनाउन सक्यो । निर्धारित २० ओभरमा लुम्बिनीले ५ विकेट क्षतिमा ९१ रन जोडेको हो । लुम्बिनीका लागि नेरी थापाले अविजित ३८ रन बनाईन् । नितु भण्डारीले १८ रन जोडिन् । तेस्रो विकेटका लागि नेरी र नितुले ४६ रनको साझेदारी समेत गरेकी थिईन् । एपिएफका लागि रेखा रावलले ३ विकेट लिईन् । सीता रानामगरको नाममा एक विकेट रह्यो । खेलमा एपिएफकी रोमा थापा प्लेयर अफ द म्याच भईन् । 

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा  सञ्चालन भईरहेको प्रतियोगिताको फाईनल आईतबार हुनेछ । फाईनलमा उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश १ प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।