सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश १ भिड्ने भएका छन् । शनिबार फाप्ला क्रिकेट मैदानमा भएको सेमिफाईनलमा जित हासिल गर्दै दुबै टोली उपाधिका लागि भिड्ने भएका हुन् । पहिलो सेमिफाईनलमा प्रदेश १ ले सुदुपश्चिम प्रदेशलाई ९ विकेटले हराएको हो भने एपिएफले लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गरेको हो ।
फाप्ला मैदानमा भएको पहिलो सेमिफाईनलमा घरेलु टोली सुदुरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश १ फाईनल पुगेको छ । यस अघि सुदुरपश्चिमसँग मेयर कपको सेमिफाईनलमा व्यहोरेको हारको बदला लिदैं प्रदेश १ फाईनल पुगेको हो । सुदुरपश्चिम प्रदेशले दिएको ८६ रनको लक्ष्य प्रदेश १ ले एक विकेट क्षतिमा भेट्टायो । प्रदेश १ ले १६ दशमलब ५ ओभरमा विजय लक्ष्य पुरा गरेको हो ।
पहिलो विकेटका लागि ओपनरद्धय कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको साझेदारी गर्दै सानदार जितको आधार खडा गरिन् । अन्तिम समयसम्म क्रिजमा टिकेकी कप्तान रुविनाले अविजित ३१ रन बनाईन् । कविता जोशीको बलमा बोल्ड भएकी काजलले टीमका लागि २८ रन बनाईन् । रुविनाले अप्सरी वेगमसँग पनि दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरिन् । अप्सरीले पनि अविजित ९ रन बनाईन् । सुदुरपश्चिमका लागि कविता जोशीले मात्रै एक विकेट लिईन् ।
यसअघि सुदुरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै सामान्य योगफल मात्रै बनायो । ७ रनमा ३ विकेट गुमाएर धर्मराएको सुदुरपश्चिमले २० ओभरमा ७ विकेट क्षतिमा ८५ रन बनायो । सुदुरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २७ रन बनाईन् । कप्तान रितु कनौजियाले २५ रन बनाईन् । त्यस्तै डल्ली भट्टले १२ रन बनाईन् । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री, अलिशा खाडिया, संगीता राई र ज्योती दनवारले समान एक विकेट लिईन् । खेलमा प्रदेश १ की कप्तान रुविना प्लेयर अफ द म्याच भईन् ।
यस्तै विभागीय टीम एपिएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाईनलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । टस जितेर पहिले ब्याटिङ गर्दै एपिएफले २० ओभरमा ३ विकेट क्षतिमा १२९ रन बनायो । एपिएफका लागि रोमा थापाले अविजित ४२ रनको पारी खेलिन् । त्यस्तै ममता चौधरीले २७ रन, सीता रानामगरले १८ रन, राजमति ऐरी १४ रन र ज्योती पाण्डेयले ११ रन थपिन् । लुम्बिनीका लागि मधु डिसी, नेरी थापा र कृतिका मरासैनीले समान १ विकेट लिईन् ।
१३० रनको विजय लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले ९१ रन मात्रै बनाउन सक्यो । निर्धारित २० ओभरमा लुम्बिनीले ५ विकेट क्षतिमा ९१ रन जोडेको हो । लुम्बिनीका लागि नेरी थापाले अविजित ३८ रन बनाईन् । नितु भण्डारीले १८ रन जोडिन् । तेस्रो विकेटका लागि नेरी र नितुले ४६ रनको साझेदारी समेत गरेकी थिईन् । एपिएफका लागि रेखा रावलले ३ विकेट लिईन् । सीता रानामगरको नाममा एक विकेट रह्यो । खेलमा एपिएफकी रोमा थापा प्लेयर अफ द म्याच भईन् ।
नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भईरहेको प्रतियोगिताको फाईनल आईतबार हुनेछ । फाईनलमा उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश १ प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।