किसानको भिजेका धान फिर्ता गरेको खाद्यले गुणस्तरीय धान पाएन
2021/12/28, 12:20
 
ss

भिजेका धान लिएर डिपोमा पुगेका किसानलाई धान नकिनेर फिर्ता पठाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा निर्धारित गुणस्तरको धान पाउन सकेको छैन । केन्द्रबाट किसानको ३५ हजार क्वीन्टल धान खरिदको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीले हालसम्म १४ क्वीन्टलमात्र खरिद गरेको छ ।

गत २२ मंसिरबाट धनगढी र टीकापुरको सक्ति डिपोबाट खाद्यले धान खरिद सुरु गरेको थियो । पहिलो दिनमै खाद्यको डिपोमा धान बेच्ने किसानको घुँइचो लाग्यो । खाद्यले भने भिजेको धान भएकोले तोकिएको गुणस्तर नपुग्ने भन्दै धान बिक्री गर्न आउने किसानलाई फिर्ता पठाउने गरेको छ । ‘यस वर्ष वर्षाले धानबाली डुवान गरेकाले किसानबाट तोकिएको गुणस्तरको धान पाइएन ।’ कार्यालय प्रमुख एन्जिला बस्नेतले भनिन्, ‘बिक्रीका लागि आउने सबै धान भिजेका छन्, भिजेको धान केन्द्रले तोकेको गुणस्तरसँग नमिल्ने भएकाले हामीले किन्न सक्दैनौँ ।’  

बस्नेतले केन्द्रले नै गुणस्तर तोकिदिएकाले यहाँको कार्यालयले आफैले निर्णय गरेर भिजेको धान किन्न नसक्ने बताइन् । प्रतिक्वीन्टल ६४ दशमलव ०५ प्रतिशत चामल निस्कनुपर्ने गुणस्तर तोकिएको उनले जानकारी दिइन् । कैलालीमा किसानबाट ३५ हजार क्वीन्टल धान खरिदको कोटा पाए पनि हालसम्म १४ क्वीन्टल धानमात्र पाएको उनले बताइन् । ‘किसानले डिपोमा ल्याउने सबैजसो धान भिजेकै हुन्छ । भिजेको धानको गुणस्तर पुग्दैन ।’ उनले भनिन्, ‘भिजेको धान किन्ने केन्द्रको कुनै निर्देशन छैन ।’     

सरकारले धान नकिनेपछि किसान भने मारमा परेका छन् । बाढी र डुवानबाट मुस्किलले जोगाएको धान खाद्यलाई बिक्री गर्ने आशले बसेका किसान बिक्री नहँुदा निराश छन् । ‘सरकारबाट बढी मूल्य पाइएला भन्ने आशले पहिले व्यापारीलाई धान बेचिएन । डिपोले अहिले धानको गुणस्तर पुगेन भनेर फिर्ता गरिदियो ।’ धनगढीका किसान रामदिन चौधरीले भने, ‘सरकारले किनेन, अब व्यापारीले तोकेको मूल्यमा बेच्नुपर्ने भयो ।’ करिब २२ क्वीन्टल धान लिएर उनी धनगढी राजपुरस्थित खाद्यको डिपोमा पुगेका थिए । धान बिक्रीका लागि खाद्यको डिपोमा पुग्ने अधिकांश किसान खाद्यले गुणस्तरीय नभएको भन्दै धान नकिनेपछि निशार भएर फिर्ता हुने गरेका छन् । सरकारले नकिन्दा व्यापारीलाई सस्तोमा धान बिक्री गर्नुपरेको उनीहरुको गुनासो छ ।    

गत कार्तिक पहिलो साता भएको वर्षासँगैको डुवान र बाढीले कैलालीमा धानबालीमा ठूलो क्षति पु¥याएको थियो । काटेर खेतमा राखेको धान लामो समय डुवान पर्दा उम्रिएको थियो । करिब ५० प्रतिशतभन्दा बढी धानबालीमा वर्षाले क्षति गरेकाले अधिकांश किसानसँग यस वर्ष गुणस्तरीय धान छैन । जोगाएको धान पनि उचित मूल्यमा बिक्री नभएपछि किसान मारमा परेका छन् । भिजेको भन्दै व्यापारीले पनि मनोमानी मूल्य तोक्ने गरेका किसानको गुनासो छ । सरकारले मोटो धानको मूल्य प्रतिक्वीन्टल दुई हजार ७५२ तोकेको छ । तर भिजेको धान किसानले व्यापारीलाई प्रतिक्वीन्टल एक हजार रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् ।

व्यापारीले भनेको मूल्यमा बेच्नुका विकल्प नरहेको अर्का किसान प्रकाश डगौराले बताए । लगानीसमेत उठ्ने अवस्था नरहेको भन्दै उनले समर्थन मूल्य घटाएर भए पनि भिजेको धान किन्न सरकारसँग आग्रह गरे । ‘खाद्यले भिजेको धानको गुणस्तर भएन भन्छ, यस वर्ष सबैको धान डुवानमा प¥यो, गुणस्तरीय धान कहाँबाट ल्याउनु रु’ उनले भने, ‘सरकार किन्दैन, व्यापारीले मूल्य दिँदैनन्, हामी निकै मारमा परेका छौँ ।’