माछापालनमा जम्दै धनगढीका जोशी
2021/12/29, 11:09
 
dd

धनगढी उपमहानगरपालिका–१२ जुगेडाका कमलराज जोशी माछापालनमा जम्दै गएका छन । विदेशबाट फर्किएर उनी माछा पालनमा लागेका हुन । जोशी २०७० सालमा दुबई गएका थिए । चार वर्ष काम गरेपछि स्वास्थ्यमा समस्या देखिएर नेपाल फर्केको उनको भनाइ छ । विदेशको कमाइले स्वदेशमै केही गर्नुपर्छ भनेर बाख्रा पालनबाट कृषि कार्यमा लागेको उनी बताउँछन् । 

करिब ढाई लाख रुपैयाँ लगानी गरेर उनले उन्नत जातको बाख्रा पालन गरेका थिए । तर, उन्नत जातको बाख्राबाट सफलता नपाएपछि स्थानीय जातको बाख्रा र माछा पालनमा हात हालेको उनको भनाइ छ ।  उनले जुगेडास्थित जनकल्याण माध्यमिक विद्यालयको एक हेक्टर क्षेत्रफल जग्गा नौ वर्षका लागि लिजमा लिएर लेकभ्यू एग्रो टुरिज्म फार्म सञ्चालन गरेका छन् । 

माछा पालनका लागि एक व्यक्तिले तयार पारेको पोखरी आफूले १० लाख रुपैयाँमा किनेर माछा पालन गरेको जोशी बताउँछन् । ‘उनले बनाएको पोखरीमा माछा पालन गर्न नसकेपछि मैले किनेर माछा पालन गरे’, जोशी भन्छन् । कुल २५ लाख रुपैयाँ लगानी गरेर माछा पालन गरेको उनले बताए । डेढ वर्षको अवधिमा २० क्वीन्टल माछा बिक्री गरेको जोशीले जनाएका छन् । उनले उत्पादन अनुसार बजारमा माछा बिक्री नभएको उल्लेख गर्दै कृषिमा लागेका युवालाई प्रदेश सरकारले प्रोत्साहन गर्नु पर्ने औंल्याए ।