कोरोनाका कारण सुदुरपश्चिममा मृत्यु हुनेको संख्या ४ पुग्यो 
2020/06/17, 9:03
 
korona

कोरोनाका कारण सुदूरपश्चिममा मृत्यु हुनेको संख्या चार पुगेको छ । वुधवार धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा वुधवार एक जना पुरुषको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या चार पुगेको हो । शनिवार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसियूमा राखेर उपचार गरिरहेका उनको वुधवार साँझ मृत्यु भएको हो । उनको मंगलावर रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो । मंगलवारदेखि नै उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भएपनि एयर एम्बुलेन्स पाईएको थिएन् । यसअघि उनको नवजिवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो । 

मंगलबार मात्रै कोरोनाले कैलालीकी महिलाको मृत्यु भएको छ । नेपालगंज मेडिकल कलेजमा उपचारत महिलाको मृत्यु भएको हो । कैलालीको लम्की चुहा वडा नम्बर २ की ४३ बर्षीया महिलाको मंगलवार मृत्यु भएको थियो । वुधवार उनको परिक्षण गर्दा कोरोना पुष्टि भएको हो । टाउकोमा चोट लागेका कारण उपचार गर्न गएपछि नेपालगंज मेडिकल कलेज कोहलपुरमा मंगलवार मृत्यु भएकी महिलाको कोरोना वुधवार पुष्टि भएको नेपालगंज मेडिकल कलेजले जनाएको छ । मंगलवार मृत्यु भए लगत्तै उनको स्वाब संकलन गरिएकोमा वुधवार भेरी अञ्चल अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा कोरोना पुष्टि भएको नेपालगंज मेडिकल कलेजका सह निर्देशक डाक्टर नितेशकुमार कनौडियाले पुष्टि गरे । शव मेडिकल कलेजमै राखिएको मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले बताए । सेनाले शवको अन्त्यष्टि गर्ने भएका कारण स्थानीय प्रशासनलाई पनि जानकारी गराईसकेको उनले बताए । 

यसअघि डायलाइसिस गर्ने क्रममा मृत्यु भएकी धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया एक महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि भएको थियो । दुई साता अघि प्रादेशिक अस्पतालको डायलाइसिस वार्डमा मृत्यु भएको थियो ।  ती महिलाको धनगढीको मोहना नदीमा अन्त्येष्टि गरिएपछि  रिपोर्ट पोजेटिभ आएको थियो । उनको सेतीमा डायलाइसिस सुरु गरेको पाँच मिनेटमै महिलाको मृत्यु भएको थियो । बिराङ्गना हेल्थ केयरले सञ्चालन गरिरहेको डायलाइसिस वार्डका व्यवस्थापक दिपक भट्टका अनुसार डायलाइसिस सुरु गर्नुअघि आरडीटी जाँच गर्दा नेगेटिभ देखिएको थियो । महिलाको मृत्यु भइसकेपछि कोरोना जाँचका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएपछि परिक्षण गर्दा पोजेटिभ आएको थियो ।

सुदुरपश्चिम प्रदेशमा बाजुरामा दुई वर्षीया बालिकाको पहिलो मृत्यु भएको थियो । बुढीगंगा नगरपालिका–१ को धुरालसैनको क्वारेन्टीनमा आमासँगै वसेकी ती वालिकालाई थप समस्या देखिएपछि सदरमुकाम मार्तडीको  आइसोलेसनमा लगिएको थियो । बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएकी बालिकाको मृत्यु भएपछि संकलन गरिएको थ्रोट स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो । योसँगै सुदुरपश्चिममा चार जनाको मृत्यु भएको छ । त्यसमा तीन जना महिला र एक जना पुरुष रहेका छन् । उनीहरुमध्ये तीन जनाको मृत्युपछि कोरोना पुष्टि भएको हो । एक जनाको भने कोरोना पुष्टि भएपछि मृत्यु भएको छ ।