पक्की घरको आशैआशमा एक वर्षदेखि गोठको बास
2022/01/02, 10:49
 
aa

भजनी नगरपालिका–९, भुरुवाका छोटु राजी काठले बनाएको घर भत्काएर गोठमा बस्न थालेको एक वर्षभयो । गोठको आधा भागमा भित्ता छैन । चिसो बढेपछि हावा छेक्न उनले गोठ वरिपरि त्रिपाल बेरेका छन् । सरकारले नयाँ घर बनाइदिने भनेपछि गएको वर्ष पुसमा उनले आफ्नो दुई कोठे कच्ची घर भत्काए । गाइभैसीलाई घरअगाडिको खुला चौरमा सारेर उनको छ जनाको परिवार गोठमा स¥यो ।

सरकारले छ महिनाभित्रै बनाइ दिने भनेको उनको पक्की घर भने कहिले बन्छ अझै टुङ्गौ छैन । घर निर्माणमा ढिलाइ हुँदा राजीको परिवारले गोठमा कष्ट सहेर बस्नु परिरहेको छ । ‘फाटेको त्रिपालले हावा छेक्दैन । गोठमा चिसोले रात काट्न मुस्किल हुन्छ ।’ राजीले भने, ‘घर बन्न लागेको देख्दा खुशी लाग्छ तर ढिलो हुँदा हामीले निकै समस्या भोग्नु परिरहेको छ ।’ केही महिनाअघि उनको घर भित्ता ठड्याएर ठेकेदार थप काम गर्न फर्केको छैन ।

झुपडीमा बस्दै आएका भुरुवाकै बल्गु राजीले आफ्नो गरिबीले पक्की घर बनाउने सपना कहिल्यै देखेनन् । सरकारले पक्की घर बनाइ दिने भएपछि फुरुङ्ग भएका उनी घर बनाउन ढिलाइ हुँदा भने निकै समस्यामा छन् । बल्गुको परिवार पनि घर भत्काएर एक वर्षदेखि गोठमै बसिरहेको छ । हिउँदको कठ्याङ्ग्रिदो चिसोमा रात कसरी बिताउने भन्ने उनलाई चिन्ता छ । ‘दुख सहेरै चुहिने गोठमा बर्खा बित्यो । पोहोरजस्तै यसपालिको चिसो हिउँद पनि गोठमै बस्नुपर्ने भयो ।’ उनी भन्छन्, ‘हामीजस्ता विपन्नलाई घर बनाइ दिनु खुशीको कुरा त हो तर ढिलो गरेर दुख दिने काम भएको छ ।’

छोटु र बल्गुजस्तै भुरुवाको २५ विपन्न राजी परिवार नयाँ घर पाउने आशले पुराना घर भत्काएर गोठमा बसिरहेका छन् । घर निर्माणमा ढिलाइ हुन थालेपछि कतिपय परिवारले गोठ वरिपरि काठको भित्ता बनाएका छन् । उनीहरु सबैले गत वर्ष पुसमा आफ्ना झुपडी भत्काएका थिए । माघदेखि बस्तीमा घर निर्माणको काम सुरु भयो, जग हालेपछि भने ठेकेदार फर्केर आएन । अहिले सबै घरको भित्ता त ठड्याइएको छ । तर न झ्यालढोका छन् न छाना राखिएका छन् । केही घरमा अहिले प्लस्टर गर्ने काम सुरु गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रमअन्तरर्गत घर निर्माण भइरहेका हुन् । सम्झौताअनुसार गत वर्ष आर्थिक वर्षमा नै घर निर्माण भइसक्नुपर्ने हो । ठेकेदारले लापरवाही गरिरहेकाले यस वर्ष पनि घर निर्माण सम्पन्न हुनेमा स्थानीय ढुक्क छैनन् । ‘छ महिनाभित्रै घर बनिसक्छ भनिएको थियो । नयाँ घर पाउने खुशीले पोहोर पुसको कठ्याङ्ग्रिने चिसोमा भएको घर भत्काएर गोठमा स¥यौँ ।’ स्थानीय आरम राजीले भने, ‘अहिलेसम्म गोठमै छौँ, नयाँ घर कहिले बन्छ थाहा छैन ।’ घर निर्माणमा ढिलाइ भएको र गोठमा बस्न समस्या भएपछि दुई÷तीन परिवारले काठको घर बनाएका उनले बताए ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २५ वटा घर निर्माणका लागि बी एण्ड सी बिल्डर्ससँग एक करोड एक लाख २९ हजारमा गत वर्षनै सम्झौता गरेको थियो । दुई कोठे घरमा टीनको छाना राखिने सम्झौता छ । यस्तै टीनले छाएको बरण्डा र शौचालय पनि बनाउने र घरको रङरोगन गर्ने सम्झौता छ । गाउँमा अधिकांश घरमा छाना राख्ने काम पनि सम्पन्न भएको छैन ।ठेकेदारले केही सातायता प्लस्टर गर्न सुरु गरे काम निकै सुस्त गतिमा भइरहेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार अहिले पनि कहिले काम हुने र कहिले बन्द हुने भइरहेको छ । निर्माण सामग्रीको अभावले काममा ढिलाइ भइरहेको घर निर्माणका लागि ठेकेदार कम्पनीलाई कामदार उपलब्ध गराउने ‘पेटी ठेक्का’ लिएका बिष्णु डगौराले बताए । ‘सामान झारेको भए पहिल्यै काम सकिन्थ्यो ।’ उनले भने । 

घर निर्माणमा चरम लापरबही भइरहेको स्थानीयको गुनासो छ । केही दिन काम गर्न आएर ठेकेदार बेपत्ता हुने गरेको स्थानीयले बताएका छन् । ‘काम गर्नेहरु केही दिन आउँछन्, फेरि हराउँछन् ।’ स्थानीय बेरली राजीले भनिन्, ‘मेन ठेकेदारले काम गरिरहेको ठेकेदारलाई पैसा र सामान दिएन भन्ने सुनिन्छ ।’ ठेकेदारको लापरवाहीले आफूहरुले दुख पाइरहेको उनले बताइन् ।  घर निर्माणको कामलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई बारम्बार तोकेता गर्दा पनि ढिलो भइरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता गोकुलप्रसाद बोहराले ठेकेदारको लापरबाहीले विपन्नको घर निर्माणमा ढिलाइ भएको बताए ।

‘हामीले बारम्बार ताकेता गरिरहेका छौँ तर पनि कामले तीव्रता पाएको छैन ।’ उनले भने, ‘ठेकेदारले चैतसम्म सक्छौँ भनेको छन् ।’ ठेक्का तोड्दा पनि प्रकृयागत झण्झट, बढी लागत र समय लाग्ने भएकाले सकभर यही सम्झौताबाट काम होस् भन्ने चाहेको उनले बताए । निर्माण कम्पनीले भने गत वर्ष कोरोनाका कारण गत वर्ष काम गर्न नपाउँदा ढिलाइ भएको बताएको छ ।मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रमअन्तरर्गत कैलाली, कञ्चनपुर र डोटीमा गरी विपन्न समुदायका ५७ वटा घर निर्माण भइरहेका छन् । गत वर्षनै सम्पन्न हुनुपर्ने कञ्चनपुर र डोटीमा पनि घर निर्माणको काम निकै सुस्त छ ।

डोटीको राजपुरमा विपन्न वादी समुदायका सात वटा घर निर्माण गर्ने अलपत्र छ । दुई वटा घरको जग हाल्ने कामनै सुरु नभएको मन्त्रालयले जनाएको छ । यस्तै तीन वटा घरको जग हालेर छोडिएको र दुई घरको भित्ता ठड्याइएको छ । ठेकेदारले आफूहरुलाई झुलाउने काम गरेको लाभग्राही गणेश वादीले बताए । ‘पाँच वर्षदेखि सडकको ‘छेउमा बसिरहेका छौँ । सडकले उठेर जाउ भन्दै दुख दिन्छ । सरकारले नयाँ घर दिने भनेपछि खुशीको सीमा थिएन ।’ उनले भने, ‘तर ठेकेदारले हामीलाई झुलायो ।’