सुदूरपश्चिममा कोरोनाले चार जनाको मृत्युः तीन जनाको आन्तरिक ट्राभल हिष्ट्री, एक जना भारतबाट आएको
2020/06/18, 7:56
 
korona

सुदूरपश्चिममा कोरोनाले चार जनाको मृत्यु भएको छ । उनीहरुमध्ये तीन जनाको आन्तरिक ट्राभल हिष्ट्री मात्रै भएका रहेका छन् । एक जना भने भारतबाट आएका रहेका छन् । कैलालीमा कोरोनाले तीन जनाको मृत्यु भएको छ । एक जना पुरुष र दुई जना महिला रहेका छन् । 

सुदुरपश्चिम प्रदेशमा बाजुरामा दुई वर्षीया बालिकाको पहिलो मृत्यु भएको थियो । बुढीगंगा नगरपालिका–१ को धुरालसैनको क्वारेन्टीनमा आमासँगै वसेकी ती वालिकालाई थप समस्या देखिएपछि सदरमुकाम मार्तडीको  आइसोलेसनमा लगिएको थियो । बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएकी बालिकाको मृत्यु भएपछि संकलन गरिएको थ्रोट स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनी आफ्ना वुवा आमासँग भारतबाट आएकी थिईन् । उनका बुबालाई कोरोना भएको छैन भने आमा कोरोना संक्रमित भएर उपचार गराईरहेकी छिन् । कैलालीको गौरीफन्टा नाका भएर वाजुरा पुगेर क्वारेन्टिनमा वसेकी थिईन् । 

सुदुरपश्चिमकी दोस्रो र कैलालीकी पहिलो पटक धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ बर्षीय महिलाको कोरोनाले मृत्यु भएको थियो । उनी मृगौलाकी बिरामी हुन् । उनी डायलासिसका लागि काठमाडौँ र नेपालगञ्ज जाने गरेकी थिईन भने पहिलो पटक सेती प्रादेशिक अस्पतालमा डायलासिस गर्न जाँदा उनको डायलासिस वार्डमै मृत्यु भएको थियो । मृत्युपछि कोरोना पुष्टि भएको थियो । 

कैलालीको लम्कीचुहा नगरपालिकाकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या तीन सय ८० पुगेको छ । झण्डै ९० प्रतिशत संक्रमित भारतबाट फर्किएका नागरिक रहेका छन् । तर कैलालीमा कोरोनाले मृत्यु भएका तीनै जनाको आन्तरिक ट्राभल हिस्ट्री मात्र रहेको छ । कैलालीमा कोरोनाबाट मंगलावर अर्की महिलाको कोरोनाले मृत्यु भयो । नेपालगंज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर २ की ४३ बर्षीया महिलाको मंगलवार मृत्यु भएकोमा वुधवार कोरोना पुष्टि भयो । टाउकोमा चोट लागेकी उनलाई ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलवार मृत्यु भएको थियो । मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । 

कोरोनाकै कारण बुधवार कैलालीमा सदुरपश्चिमका चौथो व्यक्तीको मृत्यु भयो । गोदावरी नगरपालिकाका ४६ बर्षीय बस मालिक र चालक समेत रहेका पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनी कोरोना पुष्टि हुनुअघि देखि नै नवजिवन अस्पतालको आईसियूमा उपचाररत थिए भने सोही अस्पतालमा उपचार गर्दा कोरोना पुष्टि भएपछि सेती अस्पतालको आईसोलेसनमा रहेको आईसियूमा रहेका थिए ।  

दुई दिनदेखि स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई एयर एम्बुलेन्सबाट काठमाडौँ लैजाने तयारी थियो । तर एयर एम्बुलेन्स नपाएपछि उनको सेतीमै मृत्यु भएको हो । उनी गड्डाचौकी नाकाबाट भारतबाट आएका नेपालीलाई क्वारेन्टिनसम्म पुगाउन खटिएका थिए । उनको पनि आन्तरिक ट्राभल हिष्ट्री मात्र रहेको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म सुदूरपश्चिमका कोरोना संक्रमितको संख्या तीन सय ८० जना पुगेको छ । त्यसमा चार जनाको मृत्यु भएको छ ।