भोकमरी हुने सुदूरपश्चिममा धान उत्पादन झनै घट्यो
2022/01/09, 12:03
 
ss

कैलालीमा चालू आर्थिक वर्ष धान उत्पादकत्व प्रति हेक्टर ४.५ मेट्रिकटन हुने प्रक्षेपण गरिएको थियो । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी जग्गामा धान खेती हुने जिल्ला यहि हो । तर, कात्तिकमा भएको बेमौसी वर्षा र आएको बाढीले धानबालीलाई ठूलो नोक्सान गर्दा यो जिल्लामा अनपेक्षित तरिकाले धान उत्पादन घटेको छ । 

बाढीले क्षति गरेपछि प्रति हेक्टरमा जम्मा १.५३ मेट्रिक टनका दरलेमात्रै कैलालीमा धान उत्पादन भएको प्रादेशिक कृषि निर्देशनालयले जनाएको छ । सो कार्यालयका अनुसार बाढीले करिब दुई लाख ३१ हजार ६७४ मेट्रिक टन धान नोक्सान गर्दा यहाँ जम्मा एक लाख १९ हजार ४४० मेट्रिकटन धानमात्रै किसानले भित्र्याउन पाए । 

कैलालीमा यसवर्ष उत्पादन भएको धान कम क्षेत्रफलमा धान खेती हुने कञ्चनपुरको उत्पादनभन्दा पनि कम हो । कञ्चनपुरमा यस वर्ष एक लाख २३ हजार ९९० मेट्रिकटन धान उत्पादन भएको छ । यो जिल्लामा यसवर्ष प्रति हेक्टरमा २.५६ मेट्रिकटनका दरले धान उत्पादन भएको छ । यद्यपि, कञ्चनपुरमा पनि ६९ हजार ९९४ मेट्रिकटन धानलाई बाढीले नोक्सान गरेको छ । यो वर्ष कञ्चनपुरमा प्रति हेक्टर चार मेट्रिक टनका दरले धान उत्पादन हुने अनुमान गरिएको थियो । कैलालीमा यसवर्ष ७८ हजार २५ हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर जमिनमा धान खेती गरिएको थियो । गत आर्थिक वर्ष कैलाली, कञ्चनपुरमा क्रमशः तीन लाख ३४ हजार ७०१ र एक लाख ८९ हजार १३४ मेट्रिकटन धान उत्पादन भएको थियो । 

सुदूरपश्चिमको उर्वर जिल्लाको रुपमा रहेका तराईका दुई जिल्लामा धान उत्पादन घटेपछि प्रदेशकै खाद्यान्न आपूर्तिमा ठूलो धक्का पुग्ने सम्भावना बढेको छ । चालू आर्थिक वर्षमा सुदूपश्चिम प्रदेशमा गत आर्थिक वर्षको तुलनामा करिब आधाले धान उत्पादन घटेको निर्देशनालयले जनाएको छ । कात्तिकमा भएको बेमौसमी वर्षा र त्यसपछि आएको बाढीले कैलाली, कञ्चनपुरमा धान खेतीमा व्यापक क्षति गरेकाले धान उत्पादनमा ह«ास आएको हो । 

सुदूरपश्चिमभरि यो वर्ष जम्मा तीन लाख ८७ हजार ९३७ मेट्रिकटनमात्रै धान उत्पादन भएको प्रादेशिक कृषि निर्देशनालय राजपुर डोटीले जनाएको छ । जुन, उत्पादन गतवर्षको तुलनामा ४२.६९ प्रतिशतले कम हो । अर्थात, यो वर्ष बर्खे धान उत्पादन दुई लाख ८८ हजार ९९३.१ मेट्रिकटन घटेको छ । गतवर्ष छ लाख ७६ हजार ९३१ मेट्रिकटन धान उत्पादन भएको थियो ।कैलाली, कञ्चनपुरमा बाढीले व्यापक क्षति गरेपछि यस वर्ष बर्खे धानको उत्पादन र उत्पादकत्व दुवै घटेको प्रादेशिक कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले बताए । उनले भने–‘कैलालीको पूर्वी क्षेत्रमा सबैभन्दा बढी क्षति भयो ।’ 

चालू आर्थिक वर्षमा सुदूरपश्चिमको धानको औसत उत्पादकत्व जम्मा प्रति हेक्टर २.०१ मेट्रिकटनमात्रै रहेको छ । अघिल्लो वर्ष प्रति हेक्टर ३.६६ मेट्रिकटन उत्पादकत्व रहेको थियो । गत आर्थिक वर्ष एक लाख ८४ हजार ७२३ हेक्टर जमिनमा बर्खे धान खेती गरिएकोमा यसवर्ष एक लाख ९३ हजार १४८ हेक्टर जमिनमा धान खेती गरिएको थियो । गतवर्षको तुलनामा यो वर्ष आठ हजार ४२५ हेक्टर बढी जग्गामा धान खेती गरिएको थियो । 

प्रदेशको पहाडी सात जिल्लाको धान उत्पादनमा भने गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा खासै फरक छैन । पहाडी जिल्लामा थोरै जग्गामामात्रै धान खेती हुने गरेको छ । त्यहाँ गरिएको धान खेतीले तीन महिनापनि खान पुग्दैन । पहाडी जिल्लामा तराईबाट खाद्यान्न आपूर्ति गर्ने गरिन्छ । पहाडी जिल्लाले बर्सेनि भोकरी समस्या झेल्दै आएको छ । 

चालू आर्थिक वर्षमा बाजुरामा १२ हजार १८० मेट्रिकटन, बझाङमा २० हजार ३२६, दार्चुलामा १२ हजार ९६, अछाममा ३५ हजार ७८५ मेट्रिकटन धान उत्पादन भएको छ । गत आर्थिक वर्ष यी जिल्लाहरुमा क्रमशः १२ हजार १९५ मेट्रिकटन, २४ हजार ४०८, ११ हजार २०० र ३५ हजार ४९८ मेट्रिकटन धान उत्पादन भएको थियो । 

यसैगरी, चालू वर्षमा डोटीमा ३० हजार १०० मेट्रिकटन, बैतडीमा १६ हजार २० र डडेल्धुरामा १८ हजार मेट्रिकटन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा क्रमशः २८ हजार ७५५, १८ हजार ९०० र २० हजार ४२० मेट्रिकटन धान उत्पादन भएको थियो । यो वर्ष पहाडी जिल्लामा गतवर्षको तुलनामा डोटी र दार्चुलामा उत्पादन थोरै बढेको छ भने बाँकी अरु पहाडी जिल्लामा उत्पादन केही हद्सम्म घटेको छ ।  

सुदूरपश्चिम प्रदेशमा यो वर्ष धान उत्पादन झन्डै आधा घटेपछि खाद्यान्न समस्या बढ्ने सम्भावना रहेको छ । प्रदेशमा रहेको २५ लाख जनसङ्ख्यालाई खानका लागि वार्षिक साढे चार लाखदेखि पाँच लाख मेट्रिकटनसम्म खाद्यान्न आवश्यक पर्ने निर्देशनालयले जनाएको छ । तर, यसवर्ष आवश्यक पर्नेभन्दा कम धान उत्पादन भएपछि अपुग हुने देखिएको हो । थोरै खाद्यान्न अपुग हुने निर्देशनालयका प्रमुख जोशीले बताए । 

‘बाढीले नोक्सान गर्दा जुन धान बचेको छ, त्यसले प्रदेशको सम्पूर्ण जनसङ्ख्यालाई खान पुग्दैन’, उनले भने । ‘त्यसो हुँदा चालू आर्थिक वर्षमा चामल आयात झनै बढ्ने सम्भावना रहेको छ ।’ त्यसो त, यो प्रदेशमा आवश्यकताभन्दा बढी धान उत्पादन हुँदापनि चामल आयात रोकिएको छैन । करोडौं रुपैयाँको चामल आयात हुने गरेको छ ।