कृषक खुशीराम चौधरी खुशी छैनन् । बर्खे धानबाली बेमौसमी वर्षाले नोक्सान ग¥यो । हिउँदे बालीपनि जोगाउन उनलाई समस्या छ । कैलारी गाउँपालिका–३ भडरीमा रहेको उनको गहुँ खेतमा छाडा चौपाया आएर नोक्सान गर्छन् । गहुँबाली जोगाउनका लागि उनको बास खेतमै भइरहेको छ ।
‘रात पर्ने बित्तिक्कै छाडा चौपाया खेतमा आइ पुग्छन्’, खुशीरामले भने । ‘आफ्नो खेतको बाली जोगाउन हामी किसान रातभर खेतमै जाग्राम बस्ने गरेका छौं ।’ नेपालमा रहेकामात्रै नभएर भारततिरबाट पनि छाडा चौपाया आएर नोक्सान गर्न थालेपछि उनलाई हिउँदे बाली जोगाउन धौ–धौ भएको हो ।
भड्री टीसीएनका खुशीराम त एक उदाहरणमात्रै हुन । अहिले कैलालीका धेरै किसान यो समस्या भोगिरहेका छन् । बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका उनीहरुलाई अहिले छाडा चौपायाबाट हिउँदे बाली जोगाउन मुस्किल भएको छ ।
दिनभरि जङ्गलभित्र र यत्रतत्र रहने छाडा पशुचौपाया राति खेतमा आएर नोक्सान गर्न थालेपछि किसानलाई बाली जोगाउन मुस्किल भएको हो । राति–राति खेतमा आएर छाडा चौपायाले गहुँ, मसुरो, बारीको तरकारी खाइ दिने गरेको किसानले जनाएका छन् ।
किसानको लागि छाडा चौपाया ठूलो समस्या बनेको धनगढी उपमहानगरपालिका–१९ का राजेश भुलले बताए । साँझ हुने बित्तिक्कै खेतमा छाडा चौपाया आइपुग्ने गरेको उल्लेख गर्दै उनले भने–‘चौपायाका कारण किसानबीच नै झगडा हुने जस्तो हुन्छ । किनभने, एउटाले आफ्नो खेतबाट लखेट्दा अर्का व्यक्तिको खेतमा पुगेर नोक्सान गर्न थाल्छन् । अनि, किसानबीच नै भनाभन सुरु भइहाल्छ ।’
छाडा चौपायाले हिउँदे बालीमा नोक्सान गर्न थालेपछि कतिपय ठाउँका किसान बाली जोगाउनका लागि रातभरि खेतमा गस्ती नै गर्न थालेका छन् । चौपायाबाट गहुँ, मसुरो जोगाउनका लागि खेतमै झुपडी बनाएर रातभरि जाग्राम बस्ने गरेको कृषक खुशीरामको भनाइ छ । ‘रातभरि जाग्राम बसिएन भने बाली सखापै हुन्छ’, उनले भने ।
जिल्लाको सबै स्थानीय तहमा छाडा चौपायाको समस्या रहेको छ । स्थानीय सरकार गठन भएपछि सामुदायिक छाडा चौपाया व्यवस्थापनको प्रयास थालिएको थियो । स्थानीय तहले छाडा चौपायाकै नाममा धेरै बजेट खर्च गरिसकेका छन् । तर, समस्या समाधान हुन सकेको छैन । बरु, उल्टै छाडा चौपायाको सङ्ख्या बढ्दै गएको छ ।
बसन्ता जङ्गल नजिक खेतीपाती भएका किसानलाई यो समस्या झनै बढी छ । दिनभरि वनमा बस्ने छाडा चौपायाको ठूलो झुन्ड राति खेतमा आएर गहुँबाली, मसुरो सखाप पार्ने गरेको कैलारी गाउँपालिका–७ भुईयाँफाँटाका बिसराम चौधरीले बताउँछन् । ‘छाडा गाई गोरुको झुन्ड जसको खेतमा पस्यो, त्यहाँ सखापै पार्छन्’, उनले भने । ‘छाडा गाईगोरुबाट बाली जोगाउन विगत वर्षदेखि खेतमा गस्ती गर्दै आएका छौं ।’
बसन्ता वनमा रहेको छाडा चौपाया जङ्गली जस्तै भइसकेको र मान्छेलाई देख्ने बित्तिक्कै वनभित्र भाग्ने गरेको किसानको भनाइ छ । अचेल वन्यजन्तुभन्दा पनि बढी छाडा चौपायाले कृषि बालीमा नोक्सान गरिरहेको उनीहरु बताउँछन् ।
सामुदायिक छाडा चौपाया किसानका लागि एकथरिका किसानबाटै सृजित समस्या हो । दूध दिँदासम्म गाई घरमा राख्ने र दूध दिन छाडेपछि जथाभावी छोड्ने गरिन्छ । यसैगरी, हलो जोत्न नसक्ने बूढा गोरुलाई पनि पाल्नुभन्दा कतै लगेर छोड्ने गरिएको छ । त्यस्ता चौपाया झुन्डमा परिणत भइ ठूलो समस्या खडा गरिरहेका छन् । यस्तै, भारततिरबाट पनि छाडा चौपायालाई नेपालतिर खेद्ने गरेको बताइन्छ ।
छाडा चौपाया समस्या किसानकालागि गम्भीर समस्उा बनिसकेको कैलारी गाउँपालिका–३ का वडा अध्यक्ष कैलाशप्रसाद चौधरीले बताए । ‘छाडा चौपाया धपाउनका लागि हरेक खेतमा झुप्रो बनाएर किसान रातिको बसोबास खेतमै गर्ने गरेका छन्’, उनले भने । ‘भारततिर काँडेतार लगाइ दिएका छौं । तैपनि, भितरिया भएर छाडा चौपाया खेतमा आइपुग्छन् ।’ उनले भडरी, निमुवाबोझी, भितरिया लगायतका गाउँमा छाडा चौपायाले गर्दा किसान हैरान भएको उल्लेख गरे ।
पछिल्लो समय कृषिको कार्यमा प्रविधिको प्रयोगले पनि छाडा चौपाया समस्या सृजनामा सहयोग पु¥याएको छ । ट्रयाक्टर, पावर टिलर जस्ता कृषियन्त्रले खनजोतको कार्यमा किसानको आकर्षण बढेपछि घरमा भएको वस्तुभाउ जथाभावी छोड्ने गरिएको छ ।
एकरदुई गरेर छोडिएका छाडा चौपायाको अहिले यत्रतत्र ठूलठूला झुन्ड भइसकेको छ । जुन, किसानको लागिमात्रै नभइ स्थानीय तहको टाउको दुखाइको विषय बनेको छ । कैलाली, कञ्चनपुर दुवै जिल्लाका स्थानीय तह छाडा चौपाया व्यवस्थापनमा असफल भएका छन् ।
र, यहि विषयमा जनप्रतिनिधि आलोचित पनि भइरहेका छन् । छाडा चौपायाले सबैतिर समस्या सृजना गरेको कैलारी गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले बताए । ‘अहिले त अवस्था खत्तमै बनाइसकेका छन्’, उनले भने ।