सुदूरपश्चिमको सान्तवना जित
2022/01/16, 12:58
 
dad

 ओपनर राजु रिजालले ६८ रन बनाउनुका साथै पहिलो विकेटका लागि कप्तान सन्तोष भट्टसँग ९८ रनको साझेदारी गरेपछि सुदूरपश्चिम प्रदेशले आइतबार प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश–१ लाई सात विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५८ रन बनाएको थियो । १५९ रनको लक्ष्य सुदूरपश्चिमले पाँच बल बाँकी हुँदा तीन विकेट गुमाएर पूरा गरेको हो । 

सुदूरपश्चिमको यो दोस्रो जित हो । दोस्रो जितसँगै सुदूरपश्चिमले चार खेलबाट चार अंक जोेडेको छ । यससँगै सुदूरपश्चिमले प्रतियोगितामा सुखद अन्त्य गरेको छ । प्रदेश–१ भने जितबिहीन छ । 

प्रदेश–१ले अन्तिम खेल नेपाल पुलिसविरुद्ध सोमबार खेल्नेछ । खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि शनिबार हुने भनिएको प्रदेश–१ र नेपाल पुलिसबीचको खेल स्थगित भएको थियो । समूह ‘ए’बाट नेपाल पुलिस र त्रिभुवन आर्मीले क्रमशः पहिलो र दोस्रो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

आइतबार प्रदेश–१ विरुद्ध १५९ रनको लक्ष्य पूरा गर्नेक्रममा सुदूरपश्चिमका ओपनर राजुले ५२ बलमा ९ चौका र दुई छक्कासहित ६८ रन बनाए । उनले पहिलो विकेटका लागि अर्का ओपनर सन्तोषसँग ९८ रनको साझेदारी गरेका थिए । सन्तोषले ४८ रन बनाए । त्यसपछि खडक बोहरा ८ रन बनाएर पवेलयिन फर्किए । अर्जुन साउद २६ र नारायन जोशी ८ रनमा अविजित रहे । 

प्रदेश–१ का फिरदोश अन्सरी, मुकुन्द यादव र कमल खत्रीले एकएक विकेट लिए ।  त्यसअघि प्रदेश–१ का लागि मुकुन्दले ३४ र सोनु अन्सरीले ३१ रन बनाए । मनिष थापा र अंकित सुवेदीले समान २३ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउनु सकेनन् ।  हेमन्त धामी र नारायण जोशीले समान दुई विकेट लिए । कैलाश ऐर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य महताले एकएक विकेट लिए ।