मौलिक संस्कृतिः ‘चेली स्वतन्त्रता’को पर्व उत्तरायणी
2022/01/17, 11:46
 
dd

सुदूरपश्चिमका चेलीबेटीले मनाउने उत्तरायणी पर्व। यही उत्तरायणी पर्व सुदूर पहाडका चेलीबेटीले धुमधामसँग मनाइरहेका छन्। सूर्य दक्षिण दिशाबाट उत्तर दिशामा जाने भएकाले हरेक वर्ष माघ ३ गतेका दिन सुदूरका चेलीबेटीहरू स्वतन्त्रताको पर्वका रुपमा उत्तरायणी मनाउने गर्छन्।

सोमबार पनि सुदूरपश्चिमका चेलीहरू उत्तरायणी पर्व मान्दै ‘कुनकेउलो’ (वनभोज) खानमा व्यस्त रहे। यहाँ हरेक वर्ष उत्तरायणीका दिन चेलीबेटी जमघट भई कुनकेउलो खाने र स्वतन्त्ररुपमा नाचगान गरिनुका साथै बेहुला बेहुली भई खेल खेल्ने, वनडेउडा गाएर रमाइलो गर्ने गर्छन्।  

उत्तरायणीका दिन चेलीहरु दिनभरी केही काम नगरी वनभोज जाने र डेउडा खेल्ने गर्छन्। माघी मनाउन माइती आएका प्रायः दिदीबहिनी र अविवाहित चेलीबेटीहरु मिलेर जंगलमा गई कुनकेउलो खाने गर्छन्। उत्तरायणका दिन कुनै पनि काम गर्न नहुने भन्दै यहाँका चेलीबेटीहरु महत्वपूर्ण कामहरु अघिल्लो दिन नै सक्ने गर्छन् भने त्यो दिन घरधन्दाको काम नगरी रमाइलो गर्ने गर्दछन्।

‘उत्तरायणीका दिन केही काम नगरेर नाचगान गर्दै रमाइलो गरिन्छ,’ घोडाघोडी नगरपालिका–१, बेलारकी प्रतिक्षा धामीले भनिन्,‘त्यसैले घरधन्दाको सबै काम अघिल्लो दिन नै सक्दछौँ।’ उत्तरायणीका दिन दिनभर देउडा खेल्दै वनभोजमा रमाउने गरेको उनले बताइन्। ‘यो दिनलाई हामीले चेली स्वतन्त्रता दिवसका रुपमा मनाउने गरेका छौँ,’ उनले भनिन्,‘घरधन्दको केही काम नगर्ने र आफू मनलाग्दी रमाइलो गर्ने भएकाले उत्तरायणी पर्वलाई चेली स्वतन्त्रताको उपमा दिइएको हो।’

उत्तरायणका दिन चेलीबेटीले घरायसी काम काज नगर्ने र दिनभर नजिकैको खोला, वनमा गएर वनभोज खाई रमाइलो गर्ने गरिएको डोटेली संस्कृतिविद् डा. बद्री शर्मा बिनाडी बताउँछन् । उनले भने,‘उत्तरायणका दिन चेलीबेटीले कुनै काम नगर्ने भएकाले पनि त्यस दिनलाई महिला स्वतन्त्रता दिवसका रुपमा समेत हेरिएको हो।’ यो दिन महिलाले आफूखुसी रमाइलो गर्दै डेउडा खेल्ने गरिएको पनि उनी बताउँछन्। ‘बिहेको दिन बेहुलाको घरमा महिलाले रत्यौली खेलेझैं उत्तरायणीका दिन निष्फिक्रीरुपमा छोरीबेटीले नजिकैको जंगल, खोला किनारमा बनभोज खाँदै रत्यौली पारामा रमाइलो गर्ने चलन छ।’

उत्तरायणका दिनदेखि सूर्य दक्षिण दिशाबाट उत्तर दिशामा जाने भएकाले उत्तरायण भन्दै डोटेली संस्कृतिमा स्थानीय पर्वका रुपमा मनाउने गरिएको ज्योतिषी मनिराज जोशी बताउँछन्। उत्तरायणी पर्वलाई लोक परम्पराको पर्वका रुपमा लिइएको उनी बताउँछन्। ‘यो पर्व परम्परागत रुपमा चलिआएको पर्व हो,’ उनले भने,‘यसमा चेलीबेटीहरु स्वतन्त्र भई वन जंगलमा गएर वनभोज खाने र दिनभर डेउडा खेल्ने गर्छन्।’

उत्तरायणीका सम्बन्धमा कुनै शास्त्रमा केही नलेखिएको भए पनि यो पहाडी जिल्लामा परम्परागत रुपमा चल्दै आएकाले  चेलीबेटी (महिला)को पर्वका रुपमा रहेको ज्योतिषी जोशीले अर्थ्याए।