आज विहानै कञ्चनपुरका तीन जना कोरोना संक्रमितको मृत्यु
2021/05/02, 11:38
 
dd

आईतबार विहान कञ्चनपुरका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई जनाको महाकाली अस्पतालमा र एक जनाको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । 

भीमदत्त नगरपालिका–७ की ५५ वर्षीया महिला र भीमदत्त नगरपालिका–१८ का ४७ वर्षीय पुरुषको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । महिलाको आज बिहान ५ बजे र पुरुषको बिहान ८ बजे मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले बताए । 

उनका अनुसार अस्पतालको इमरजेन्सी वार्डमा अक्सिजनको सहायतामा उपचार भइरहेकी ती महिलाको श्वास प्रश्वासमा समस्या देखिएको थियो भने मृतक पुरुषको सघन कक्षमा राखेर उपचार भईरहेको थियो । 

यस्तै कञ्चनपुरको महेन्द्रनगरका ३३ वर्षीय पुरुषको धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । सेतीमा उपचाररत ती पुरुषको आज विहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनमा वैशाख १३ गते संक्रमण पुष्टि भएको थियो । उनको आइतबार बिहान ६ बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए । 

पछिल्लो ९ दिनमा सुदूरपश्चिममा पछिल्लो ९ दिनको अवधिमा सबैभन्दा बढी कञ्चनपुरमा कोरोना संक्रमितको मृत्यु भएको छ ।  निर्देशनालयका अनुसार कञ्चनपुरमा सबैभन्दा बढी एक्काईस जनाको मृत्यु भएको छ । हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट ८८ जनाको मुत्यु भईरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।