क्यानद्वारा नयाँ केन्द्रिय सम्झौताको ग्रेड विभाजन सार्वजनिक
2022/01/28, 12:23
 
ss

नेपाल क्रिकेट संघ (क्यान) ले २०२२ को केन्द्रिय सम्झौताको ग्रेड विभाजन सार्वजनिक गरेको छ । क्यानको भैरहवामा बसेको बोर्ड बैठकले २०२२ को महिला तथा पुरुष खेलाडीको केन्द्रिय सम्झौता सार्वजनिक गरेको हो ।

क्यान बोर्ड बैठकले यसअघि अनुशासन उलंघनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई २०२२ को सुरुवाती ६ महिनामा नराख्ने निर्णय क्यानले फिर्ता लिएको छ । क्यानले असोजमा आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग भएको त्रिकोणात्मक ओडिआई सिरिजमा टोलीमा भएका तीव्र गतिका बलर विक्रम सोब, गुलशन झा र रोहित कुमार पौडेललाई जनही १-१ लाख दिने निर्णय गरेको छ । यी खेलाडी राष्ट्रिय टोलीको भ्रमणमा रहेपनि २०२१ को अन्तिम ६ महिना केन्द्रिय खेलाडी ग्रेड सम्झौतामा थिएनन् ।

त्यस्तै महिला क्रिकेट टोलीकी विकेटकिपर ज्योति पाण्डेलाई ५० हजार दिने निर्णय गरेको छ । स्पिनर ललितनारायण राजवंशीको उपचार खर्चमा क्यानले १ लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ ।

क्यान बोर्ड बैठकले साधारण सभा आगमी फागुन १३ र १४ मा धनगढीमा गर्ने निर्णय गरेको छ । पुरुष खेलाडीको ए ग्रेडका खेलाडीले ५० हजार बी ग्रेडका खेलाडीले ४० हजार र सी ग्रेडका खेलाडीले ३० हजार प्राप्त गर्दै आएका छन् । महिलातर्फ ए ग्रेडमा रहेका खेलाडीले मासिक १५ बी ले १२ हजार र सी ग्रेडका खेलाडीले १० हजार प्राप्त गर्दै आएका छन् । उक्त रकम बढ्ने वा नबढ्ने क्यानको वार्षिक साधरण सभापछि मात्र थाहा हुने कोषाध्यक्ष रोशन सिंहले जानकारी दिए ।

२०२२ को केन्द्रिय खेलाडी सम्झौता

पुरुषतर्फ :

ग्रेड ए : सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी

ग्रेड बी : कुशल भुर्तेल, आसिफ शेख, शरद भेषावकर, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी

ग्रेड सी : कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशान भारी र पवन सर्राफ

महिलातर्फ:

ग्रेड ए : रुविना क्षेत्री बेलबासे, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी,

ग्रेड बी : सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे

ग्रेड सी : डली भट्ट, कविता जोशी, संगिता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र विन्दु रावल