विश्वकप छनोट : लोकेश र विवेकको सम्भावना कस्तो ?
2022/02/02, 1:18
 
da

 टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादवलाई नेपाली टिममा स्थान दिए । 

त्यो पनि ओमानमा फेब्रुअरी १८ तारिखबाट हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि ।  आठ वर्षपछि पुनः टी–ट्वान्टी विश्वकप खेल्ने नेपालको सपना ओमानमा हुने छनोट प्रतियोगिताले नै टुंगो लगाउने छ ।  नेपालका लागि ग्लोबल छनोट भनेको ‘गर र मर’ को अवस्था हो । 

अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको खासै अनुभव नभएका लोकेश र विवेकलाई विश्वकप छनोटका लागि प्लेइङ इलेभेन (अन्तिम ११ जनाको टिम) मा स्थान बनाउन सक्नु भने सजिलो हुनेछैन । किनभने १६ जनाको नेपाली टिममा अनुभवी खेलाडीहरुको कमि छैन। तर मुख्य प्रशिक्षक दासानायकेको नजरमा लोकेश र विवेक भने नेपाली टी–ट्वान्टी क्रिकेट टिमका भविष्य हुन् ।यस हिसाबले लोकेश र विवेकले ग्लोबल छनोट खेल्ने सम्भावना बलियो छ ।  तर त्यो भन्दा अगाडी उनीहरुले घरेलु टोली ओमान, आयरल्यान्ड र युएईविरुद्ध हुने सिरिजमा आफूलाई प्रमाणित गर्नुपर्नेछ । 

मुख्य प्रशिक्षक दासानायकेले पनि स्पष्ट रुपमा संकेत गरिसकेका छन् कि उनीहरुले ग्लोबल छनोटमा खेल्ने सम्भावना बलियो छ ।   ‘उनीहरु धेरै प्रतिभाशाली छन् र उनीहरुलाई टिममा राख्न पाँउदा खुसी छु । टिमको कम्बिनेसन हेर्नेछु र उनीहरुलाई मौका प्रदान गर्नेछु । उनीहरु नेपालको टी–ट्वान्टीका भविष्य हुन्,’ दासानायकेले भनेका छन् ।