सुदूरपश्चिम प्रदेशको इम्बोस्ड नम्बर प्लेट नाम ‘सुप’ 
2022/02/07, 2:01
 
ss

सुदूरपश्चिम प्रदेशमा सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट नाम ‘सुप’ लेखिने भएको छ । नाम लामो भएकाले के लेख्ने भन्नेबारे लामो छलफल पश्चात नाम तय भएको यातायात व्यवस्था विभागका निर्देशक रामचन्द्र पौडेलले बताए । उनका अनुसार नाम टुंगो लागिसकेकाले अब इम्बोस्ड नम्बर प्लेट तयार गरेर पठाइने छ । 

‘सुदूरपश्चिम प्रदेशबाट बल्ल नाम आएको छ,’ निर्देशक पौडेलले भने, ‘अब नम्बर प्लेट तयार पारेर पठाउने छौं ।’ त्यस्तै मधेश प्रदेशको नाम पनि टुंगिएकाले इम्बोस्ड नम्बर तयार गर्न डाई बनाउनुपर्ने उनले बताए । डाई बनाइसकेपछि नम्बर प्लेट छापिने छ । ‘तर मधेश प्रदेशमा इम्बोस्ड नम्बर लागू गर्नेबारे राजपत्रमा सुचना नै निकालिएको छैन,’ उनले भने, ‘सूचना निकालेपछि यसको प्रक्रिया अघि बढ्ने छ ।’ गण्डकी र लुम्बिनी प्रदेशमा भने नम्बर प्लेट पठाई सकिएको छ । ती प्रदेशमा केही समय भित्रै वितरण थालिने निर्देशक पौडेलले जानकारी दिए ।

कर्णाली प्रदेशका लागि नम्बर प्लेट छापी सकेको र पठाउन बाँकी रहेको विभागले जनाएको छ । गत कात्तिकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै मंसिर १ गतेबाट वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा चल्ने सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने जनाएको थियो । तर अहिलेसम्म वाग्मती प्रदेश बाहेक अन्य प्रदेशमा यो नियम लागू भइसकेको छैन । एक नम्बर प्रदेशको भने नाम टुंगो नलागिसकेकाले इम्बोस्ड नम्बर छाप्ने कुनै तयारी गरिएको छैन ।