
कैलालीको गोदावरी नगरपालिका-३ मालाखेतीमा रहेको चौकीडाँडा सामुदायिक वनको चारैतिर घेरबार गरी गौशाला बनाइएको छ । दुई बिघा क्षेत्रफलमा रहेको गौशालामा गाईगोरुहरू छन् । गाैशालामा केही गाईगाेरु मरेका छन् भने केही छट्पटाइरहेका छन् ।

मरेका गाईगोरु खान दिनभर कुकुरदेखि गिद्धहरू घुमिरहेका हुन्छन् । यति हुँदा पनि कुनै पनि निकायको ध्यान नगएको स्थानीयहरूको गुनासो छ । स्थानीय निर्वाचनमा बलियो मुद्दाका रूपमा अगाडि सारेको छाडा पशु चौपाया व्यवस्थापन बनेको थियो । धेरै जनप्रतिनिधिले छाडा चौपाया व्यवस्थापनका लागि विभिन्न ठाउँमा गौशाला निर्माण पनि गरे ।

दुई वर्ष अगाडि स्थानीय युवाहरूको सक्रियतामा गोदावरीको मालाखेतीमा गौशाला स्थापना गरिएकाे थियो । सुरुमा स्थानीय युवा मनोज मलासीले गौशाला सञ्चालनको जिम्मेवारी लिए । मलासीले जिम्मेवारीबाट छोडेपछि अर्का स्थानीय टीकाराम पार्की र राजु सार्की लगायतको टिमले सञ्चालन गरेको हो ।
सुरुमा केही व्यवस्थित भएको गौशाला विस्तारै अव्यवस्थित हुँदै गयो । गौशाला व्यवस्थापन लगायत विभिन्न सामग्रीका लागि स्थानीय सरकारले पनि आर्थिक सहयोग गरेको हो । सुरुमा निःस्वार्थ भनेर काम सुरु गर्ने तर, पछि विस्तारै छोड्ने प्रवृत्तिले गर्दा समस्या देखिने गरेको स्थानीहरूको गुनासो छ ।
‘सुरुमा काम सुरु गर्ने तर, पछि विस्तारै छोड्ने हुँदा पशु चौपाया व्यवस्थापनमा समस्या हुने गरेको छ’, गोदावरी-२ का स्थानीय हरि भट्टराईले भने, ‘काम सुरु गरिसकेपछि कतैबाट सहयोग आएन भन्ने बहाना बनाउनु नै गलत कुरा हो ।’ काम सुरु गरेपछि जहाँबाट भए पनि सञ्चालन गर्नुपर्ने उनकाे भनाइ छ । उनले नगरपालिकाभित्र नै यसरी पशु चौपाया मरिरहँदा स्थानीय तहमा जनप्रतिनिधि भएको अनुभूति समेत नभएको बताए।
उनले भने, ‘स्थानीय सरकार छ, स्रोत अनि साधन छ । तर, पनि गाईगाेरु पुष, माघको कठ्यांग्रिदो चिसोमा छट्पटाउँदै मरिरहेका छन् ।’ उनले यसमा स्थानीय सरकारलाई ध्यान दिन समेत अनुरोध गरे ।
राधाकृष्ण गौसंरक्षण सेवा समितिले गाैशाला सञ्चालन गर्दै आएको थियो । सञ्चालन गर्दै आएको समितिले कतैबाट पनि सहयोग नआएपछि छोडेको बताएकाे छ । ‘सञ्चालन गरिरहेका थियौँ । एक कतैबाट पनि आर्थिक सहयोग आएन, अर्को सामुदायिक वनसँग गरेको सम्झौता पनि सकिँदा छोड्नु परेको हो’, राधाकृष्ण गौसंरक्षण सेवा समितिका सहसचिव गणेश सार्कीले भने ।
समितिका पदाधिकारीले गौशालाभित्र निर्माण गरेका टहरा, पानीको बोरिङ लगायतका संरचना समेत निकालेर लगेपछि छाडा गाईगोरु झन् बढी मरेको स्थानीयको भनाइ छ । पहिलेदेखि नै गाईहरू बढी भएको भन्दै व्यवस्थित गर्नका लागि सुझाव दिएको अर्को स्थानीय रमेश भट्टराईले बताए ।
‘गौशालाभित्र धेरै गाई राख्नु भन्दा पनि सुरुदेखि व्यवस्थित गर्न भनेको हो’, उनले भने, ‘तर, स्थानीयहरूको सुझावलाई वेवास्ता गर्दा समस्या भयो । अहिले गाईहरू मर्न थालेको छन ।’ अहिले वनसँगको सम्झौता सकियो भन्दै उम्किने काम भइरहेको उनले आरोप लगाए ।
‘अहिले वनसँगको सम्झौता सकियो होला । तर, ५-६ महिना अगाडि नै लथालिङ्ग कसरी भयो ?’, उनले भने । क्षमताभन्दा धेरै गाईगोरु राख्दा पनि समस्या भएको उनले बताए । अहिले गौशाला क्षेत्रमा दुई दर्जनभन्दा बढी गाईहरू मरेको उनले बताए ।
संचालन समितिले कमाइ खाने भाँडो बनाएका कारण अहिलेको अवस्था आएको उनको भनाइ छ । सुरुमा समितिका मानिसहरूले निःस्वार्थ रूपमा गौशाला स्थापना गरेको भनेर प्रचार गरे पनि पछि व्यक्तिगत स्वार्थमा लाग्दा गौशाला लथालिंग भएको उनले बताए ।
उनले भने, ‘निःस्वार्थ भावनाले काम गरेको भनेर अहिले गौशालामा बनाएको छाना समेत लगेको छ । पानी खाने धारा पनि लगेर गएका छन् । कतैबाट आर्थिक सहयोग आउला र खाउँला भन्ने मनसाय राखेकाले समस्या आएको हो ।’ अर्को स्थानीय सुरेन्द्र जोशीले छाडा गाईगोरुको यो अवस्था देखेर निकै दुःख लागेको बताए ।
‘राष्ट्रिय जनावर गाई यसरी मर्नु भनेको हामी आफैं मर्नु सरह हो । यो देश मर्नु हो’, उनले भने, ‘अब बचेका गाईलाई बचाउन सबैले लाग्नुपर्छ ।’ उनले समिति आफ्नो स्वार्थमा लागेका कारण छाडा गाईगोरुको यस्तो अवस्था भएको आराेप लगाए । छाडा गाईगोरु एकै ठाउँमा मरेका कारण सो क्षेत्र दुर्गन्धित समेत बनेको छ । स्थानीय दुर्गा कुमार पोखरेलले प्रदेशकै समस्याका रूपमा रहेको छाडा गाईगोरुको व्यवस्थापनमा समितिकै मुख ताकेर मात्रै सम्भव नभएको बताए ।
उनले भने, ‘स्थानीय सरकारले हालसम्म ४ लाख मात्रै सहयोग गरेको रहेछ । वनले पनि बाह्य चरणमा रोक लगाएको रहेछ । अब यो साझा सरोकारको विषय भएकाले यिनीहरूको व्यवस्थापनका लागि सबै लाग्नुपर्ने देखिन्छ ।’ गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर एकका वडा अध्यक्ष शर्मानन्द भट्टले छाडा पशु चौपाया व्यवस्थापनका लागि मालाखेतीको गौशालालाई ५ लाख रुपैयाँ बराबर आर्थिक सहयोग गरेको बताए । ‘पोहाेर साल छाडा पशु चौपाया व्यवस्थापनका लागि नगरले आर्थिक सहयोग गरेको हो’, उनले भने, ‘बीचमा म आफैं पनि कोरोना संक्रमति भएको हुँदा बुझ्न पाएको छैन।’
कैलाली र कञ्चनपुरमा छाडा पशुचापौया ठूलो समस्या हो । ठाउँ-ठाउँमा गौशालाहरू निर्माण गरिएका छन् । कति व्यवस्थित छन् त कति अव्यवस्थित छन् । व्यवस्थित गौशाला नहुँदा किसानहरूले खेतबारीमा लगाएको अन्यबाली छाडा चौपायाले खाइदिने कैलाली र कञ्चनपुरका साझा समस्या हुन् ।
छाडा गाईगोरु व्यवस्थापनका नाममा दर्जनाैं संघसंस्था खुलिसकेका छन । छाडा गाईगोरु व्यवस्थापन गर्ने चुनावी एजेण्डा बनाएर धेरै नेता अहिले सत्तामा पुगेका छन् । छाडा गाईको संरक्षण गर्न भन्दै धेरै हिन्दुवादीले आफ्ना संगठन बिस्तार गरिसकेका छन् । तर, छाडा गाईगोरुको नाममा सत्ता, संगठन र सम्पत्ति जोडेकाहरूले यिनीहरूको व्यवस्थापनमा भने ध्यान नदिँदा अहिले पनि छाडा गाईगोरुको विभत्स तरिकाले मरण भइरहेको छ ।
स्थानीय चुनावमै छाडा गाईगोरुको व्यवस्थापन गर्ने एजेण्डा बनेको भए पनि निर्वाचित प्रतिनिधिले भने अहिलेसम्म यसको ठोस व्यवस्थापन गर्न सकेका छैनन् । छाडा गाईगोरुको व्यवस्थापनमा असफल हुँदै आएको स्थानीय सरकार मरेपछि भने पुर्नका लागि निःशुल्क जेसिवी सहयोग गर्दै आएको छ ।