गड्डाचौकी-चिसापानी राजमार्गको स्तरोन्नतीको काम सुरु
2022/02/07, 3:46
 
news

पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्मको सडक स्तरोन्नतिको काम थालिएको छ। सडक डिभिजन कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत उक्त सडकको स्तरोन्नति थालिएको हो।

सडक क्षेत्रमा भएका खाल्डाखुल्डी पुर्ने, सडक भासिएको ठाउँमा मर्मत गर्ने, साँघुरो स्थानमा सडक चौडा बनाउने लगायतका काम थालिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ। कार्यालयका अनुसार बढी भिडभाड हुने चोक तथा चौराहामा सडक चार लेनको बनाइने छ।

जसले सवारी दुर्घटना समेत घट्ने बताइएको छ। डिभिजन कार्यालयले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत यस वर्ष १० करोड बजेट पाएको छ। अघिल्लो वर्षको कार्यक्रममा भासी, लालपुर, दैजी, झलारी, बाणी र गुलरिया चोकमा सडक चौडा पारिएको थियो।

यस वर्ष थप केही चोकमा सडक चौडा पारिने सडक डिभिजन कार्यालयले जनाएको छ। यस वर्षको कार्यक्रममा अत्तरिया चोकदेखि पश्चिमतर्फका चिसापानीको सडकमा माटो भरान समेत गर्ने जनाइएको छ। कार्यालयले यस वर्ष चारवटा ठेक्का लगाएर सडक स्तरोन्नति कार्य गर्नेछ।