कैलाली कञ्चनपुरसहित पहाडी ७ जिल्लामा अबको २ साताभित्रै नयाँ विद्युत मिटर वितरण गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। भारतबाट हालै मात्र पुगेको मिटर एक साताभित्रै नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयमा आइपुग्ने बताइएको छ।
त्यसपछि मिटरलाई परीक्षण गरेर आवेदन दिएकाहरुलाई प्राथमिकीकरणको आधारमा मिटर वितरण गर्ने तयारी थालिएको विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले बताए।
विद्युत वितरण केन्द्र धनगढीमा ४ हजार तथा अत्तरिया विद्युत वितरण केन्द्रमा ३ हजारको संख्यामा विद्युत मिटरका लागि आवेदन परेको छ। धनगढी विद्युत वितरण केन्द्रमा मात्र हाल महिनामा ४ सय विद्युत मिटरका लागि आवेदन पर्ने गरेको छ।
सुदूरपश्चिम प्रदेशभित्र विगत तीन महिनादेखि विद्युत मिटर वितरण हुन सकेको छैन। नेपाल विद्यूत प्राधिकरण केन्द्रिय कार्यालयले ग्लोबल बोलपत्र आह्वान गरेर विद्यूत मिटर आपूर्तिका लागि प्रक्रिया अघि बढाएको थियो।