सुदूरपश्चिमको समाजमा अझै अपहेलित छन् एचआइभी सङ्क्रमित
2020/06/19, 4:13
 
korona

बिमलबहादुर विष्ट डोटी 

‘चरीले राएन हो कि लेग काफल पाक्दा ’
‘न घरबारी न जिन्दगी ‘बम्बैया’ रोग लाग्दा ।’ 

चैत, वैशाखमा वनैभरि काफल पाकेको थाहा नपाउँदा त्यही वनमा डुल्ने चरी भोकै बस्नुपरेजस्तै आफूलाई पनि एचआइभी (बम्बैया) रोगको बारेमा शुरुमै केही थाहा नपाउँदा जीवन मरणको दोसाँधमा पुगेकी छु। यस्तै दुःखका गीत गाएर दिन बित्छ डोटीको जोरायल गाउँपालिकाकी एचआइभी सङ्क्रमित एक युवतीको। तीस वर्षीया (उनको अनुरोधमा नाम नदिइएको) उनको दैनिकी यसरी नै वितेको छ यिनै दुःखका दिनहरुसँगै आफ्ना दुई सन्तानको भविष्य पनि अनिश्चित बन्दैछ।

यतातिर ‘बम्बैया रोग’ भनिने एचआइभी एड्सकै कारण उनले २४ वर्षको कलिलो उमेरमा पति गुमाउनुपर्यो। उनी भर्खर तीस वर्ष पुगिन्।  तर गएको छ वर्षदेखि एकल उनको दुःख यतिमा मात्र सीमित छैन्। यही रोगको सङ््क्रमित भएको थाहा पाएर उनी र दुई सन्तानले नै गाउँघरमा दुव्र्यवहार सहनु परेको छ। कसैको सहयोग त परै जाओस छोराछोरीलाई विद्यालय पठाउन पनि पाएकी छैनन्।

छोरोछोरी पनि सङ्क्रमित भएको आशंकामा विद्यालयले ती नानीबाबुलाई लिन मानेका छैनन्। जिन्दगीदेखि हार खाएको भन्दै सधैँ निराशा पोखिरहने उनलाई श्रीमान् बितेपछि बिहान बेलुका हातमुख जोर्न नै मुस्किल छ। परिवार पाल्नकै लागि मजदुरी गर्न गएका श्रीमान् एचआइभी सङ्क्रमित भएर फर्किए र पछि मृत्यु भयो। त्यसपछि बेसहारा भएकी उनलाई छ वर्ष कसरी बिताएँ र छोरीछोरीको प्राण धानेँ भन्ने नै थाहा छैन्।

उनी भन्छीन्, “दुःखी, गरिब, असहायका त भगवान् हुन्छन् भन्छन्, मेरा त भगवान् पनि आफ्ना भएनन्।” नौ वर्षकी छोरी र सात वर्षको छोरा पढाउन कैयौँ दुःखकष्ट गरे पनि उनी सफल हुन सकेका छैनन्। यसरी विगतदेखि नै अनगिन्ती अप्ठ्यारोहरु झेल्दै आएकी उनी एआइभी एड्स सङ्क्रमित भएको पाँच वर्ष भइसकेको छ। सुदूरपश्चिम प्रदेशमा एचआइभी एड्सलाई बम्बैया रोग भन्ने चलन छ।

श्रीमान् दीर्घबहादुर भारतमा काम गर्दागर्दै बिरामी परेर गाउँ फर्केको सात महीनापछि ओछ्यानमा परे। श्रीमानले आफूलाई टिबी भएको भन्दै औषधि खाने गरेको उनी सम्झिन्छिन्। श्रीमानको मृत्यु भएपछि गाउँलेले ‘भाइयौ यसको लोग्ने त एड्स लागि म¥याको हो’ भनेपछि बल्ल उनले थाहा पाईन् श्रीमानलाई एचआइभी÷एड्स लागेको कुरा। लोग्नेलाई पहिले नै एचआइभी एड्स भएको रहेछ।

अन्जान तथा निर्दोष ती युवतीलाई पनि श्रीमान्बाट यसको सङ्क्रमण भएको रहेछ, जुन उनलाई पछि थाहा भयो। तर उनका छोराछोरीमा भने यो रोग देखिएको छैन तर पनि आशंकामै उनीहरु विद्यालय जान पनि पाएनन्। गाउँमा उनलाई एचआइभी छ भन्ने हल्ला फैलिएपछि गाउँलेले हेलागर्ने तथा समाजमा पनि बस्न नदिने गरेको गुनासो सुनाउदै उनले भनिन्, “गाउँमा बस्न समेत दिएनन्, छोरा छोरीलाई बैम्बैयाका सन्तान आए भन्न थाले अहिले गाउँ नै छोड्नु प¥यो।”  

आफ्नो श्रीमान् बितेको वर्ष दिनसम्म गाउँमा घुमेर, अनेक दुःखकष्ट सहेर तथा मागेर ती दुई सन्तान पालेको स्मरण उनले गरिन्। उनले आफूलाई एड्स भएकोे थाहा पाएको पनि लामो समय भइसकेको छ। समाजको अपहेलनाका कारण उनले  गाँउबाटै विस्थापित हुन बाध्य हुनुपर्यो। उनको जीवनमा अहिलेसम्म दुःखको महाभारत बाहेक अरु केही आएको छैन्। विगतका दुःखका दिन सम्झिएर गहभरी आँशु पार्दै भन्छीन्, “मैले अब आशा गरेको र पर्खिएको भनेको मृत्यु बाहेक केही होइन तर म मरेपछि यी सन्तानको हालत के होला भनेर निदाउन पनि सक्दिन।

मृत्यु पर्खिँदै दुई छोराछोरीलाई आजका दिनसम्म पालेकी छु अब भोलिको अवस्था के हुने हो थाहा छैन।” गाउँबाट विस्थापित भएसँगै उहाँको एक टुक्रा जमिन र बस्ने झुप्रो घर पनि खोसियो।     उनको घरमा जस्तै डोटीका धेरैजसो गाउँबाट भारतका मुम्बइ र दिल्लीमा काम गर्न जाने पुरुष घर फर्कदा एचआइभी एड्स् सङ्क्रमित भएर आउँछन्। रोजगारीका लागि भारत गएर आउनेले ल्याएको एचआइभी÷एड्सले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटी नेपालमा एचआइभी एड्स बढी भएको दोस्रो पहाडी जिल्ला मध्येमा गनिन्छ।

कैलाली नेपालको सबैभन्दा बढी एचआइभी सङ्क्रमित भएको जिल्ला हो। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा एचआइभी एड्स घट्नुको साटो दिनानुदिन बढिरहेको सो क्षेत्रमा काम गर्ने संघसंस्थाको तथ्याङ्कमा उल्लेख गरिएको छ। यहाँका एचआइभी सङ्क्रमितहरु गाउँमा बहिस्कृत हुनुका साथै अपहेलित हुने गरेको केआइसिंह गाउँपालिका–५ का स्थानीयबासी शुरेन्द्रविक्रम शाहीले बताए।

उनले भने,  “एचआइभी सङ्क्रमितलाई गाउँमा हेर्ने दृष्टिकोणमा परिर्वतन भएको छैन, समाजले हेला गर्ने भएकाले उहाँहरुलाई समाजमा बाँच्न निकै सकस भएको छ।”    उनका छोराछोरी साथीसँग खेल्न गाउँमा यताउता जाने गर्दैनन्। साथीसँगीले पनि ‘बम्बैयाको सन्तान आयो’ भन्ने गरेका कारण उनीहरु साथीहरुसँग खुलेर बोल्न र हिँड्न नसक्ने अवस्थामा रहेको बताइएको छ। आफूलाई जस्तो अरुलाई नपरोस् भन्दै भगवानसँग प्रार्थना गर्ने र गीत गाउने गरेको अर्की एकजना सङ्क्रमित महिला कल्पना बताउछिन्।

एचआइभी एड्स सङ्क्रमितका क्षेत्रमा कार्यरत संस्था सामुदायिक विकास मञ्च (सिडिएफ) का अनुसार डोटीमा खुलेका मात्रै नौ सय ८० एचआइभी÷एड्स सङ्क्रमित छन् भने नखुलेकाहरु अझै धेरै हुन सक्छन्। सङ्क्रमितमध्ये महिलाको सङ्ख्या पाँच सय ७० रहेको छ भने तीन सय ६० पुरुष  छन्। त्यस्तै ५० जना बालबालिकामा एचआइभी सङ्क्रमण रहेको पाइएको छ।

जिल्ला अस्पतालमा औषधि उपचार गराउन आउनेको सङ्ख्या मात्रै नौँ सय ८० भएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.ज्योती पाण्डेले बताए। अस्पतालको सम्पर्कमा नआउनेलाई गणना गर्दा यो सङ्ख्यामा वृद्धि हुनसक्ने उनले अनुमान गरे। अहिले डोटीमा एचआइभी एड्स सङ्क्रमितका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न गैरसरकारी संस्था सक्रिय रहेका छन् तर पनि जिल्लामा एचआइभी एड्सको सङ्क्रमण भने दिनानुदिन बढिरहेको पाइएको छ।

एचआइभी रोकथामका लागि प्रदेश सरकारले ठोस कदम चाल्नुपर्ने स्थानीयवासीको माग रहेको छ। प्रदेश सरकारले एचआइभी नियन्त्रणका क्षेत्रमा खासै कदम चाल्न नसकेको सङ्क्रमितको भनाई छ। जनचेतनाको अभाव, भेद्भाव र लाञ्छनाका कारण एचआइभी सङ्क्रमितहरू चिकित्सक तथा स्वास्थ्य संस्थाको सम्पर्कमा आउन नसकेकाले यो सङ्ख्या अझै बढ्नसक्ने अनुमान चिकित्सकहरुको रहेको छ। जिल्ला अस्पतालमा एचआइभी सङ्क्रमितका लागि सञ्चालनमा रहेको औषधि वितरण अर्थात् एआरटी शाखा तथा परामर्श शाखामा अहिले कम्तीमा पनि पाँच सय १८ जना नियमित सम्पर्कमा रहेको तथा औषधि सेवन गरिरहेको सो शाखाका काउन्सिलर केपी रेग्मीले बताए।

उनका अनुसार गएको साउनदेखि अहिलेसम्ममा मात्रै नयाँ बिरामी ११ जना थपिएका छन् भने विगत १०÷१५ वर्ष अगाडिदेखि पनि एचआइभी सङ्क्रमितले जिल्ला अस्पतालको नियमित सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका छन्। डोटीमा एचआइभी÷एड्सका कारण हालसम्म कति जनाले ज्यान गुमाए भन्ने विषयमा यकिन तथ्याङ्क कुनै पनि संघ संस्थामा नभए पनि हालसम्म कम्तीमा पनि १०० जनाभन्दा बढीले ज्यान गुमाइसकेको हुनसक्ने एचआइभीको क्षेत्रमा काम गर्ने संस्थाको अनुमान रहेको छ।

कामका लागि भारत गएका पुरुषले त्यहाँ गर्ने असुरक्षित यौन सम्पर्कबाट आफू एचाइभी सङ्क्रमणमा पर्ने र पछि घरमा आई श्रीमतीलाई सार्ने गरेको एचआइभीको क्षेत्रमा काम गर्ने संस्थाको बुझाई छ। एचआइभी पीडित यहाँका महिलाले समाजको भेदभावको समेत सामना गर्नु परिरहेको एचआइभीको क्षेत्रमा काम गर्ने संस्था सामुदायिक विकास केन्द्र (सिडिएफ) का फोकल पर्सन सिद्धराज जोशीले बताए।

उनले भनिन्, “आफ्ना श्रीमान्को असावधानीबाट सिर्जित सङ्क्रमणको सामना श्रीमतीले गर्नुपरेको छ।” एचआइभी सङ्क्रमित भई भारतबाट घर फर्केकासमेत उपचारपछि पुनः काम गर्न भारत जाने र फेरि सङ्क्रमित हुने गरेको पाइएको छ। पछिल्लो समय केही एचआइभी सङ्क्रमित एकल महिला विभिन्न संस्थाले आयोजना गरेको महिला लक्षित कार्यक्रमबाट तालीम लिएर आय आर्जनमा सक्रिय हुन थालेका  छन् भने कोही समाजको डरले गाउँ घरमै बसी रोग लुकाउन बाध्य भएका छन्।

समग्रमा सुदूरपश्चिम प्रदेशमा कम्तीमा पनि ६ हजार ७२४ जनामा एचआइभी सङ्क्रमण रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ। निर्देशनालयका अनुसार हालसम्म सुदूरपश्चिमभरमा तीन हजार ७६ ले यसको औषधि एआरटी सेवन गरिरहेका छन्। जसमा आर्थिक वर्ष २०७४÷०७५ सम्मको तथ्याङ्क हेर्दा सुदूरपश्चिम प्रदेशमा ६७६ जनाले एचआइभी एड्सका कारण ज्यान गुमाइसकेका छन् । प्रदेशमा गएको आर्थिक वर्षमा मात्रै २४७ जना नयाँ सङ्क्रमित फेला परेका छन् ।

सुदूरपश्चिम प्रदेशमा एचआइभी परीक्षण तथा परामर्श केन्द्र प्रदेशका २० स्थानमा स्थापना भएका छन्। एआरटी सेवन गर्नेले प्रदेशका १४ स्थानबाट सेवा प्राप्त गरिरहेको जनाइएको छ। स्थानीय सरकारले सुदूरपश्चिम प्रदेशका एचआइभी सङ्क्रमितलाई सहयोग गर्न नसकेको सङ्क्रमितहरूले गुनासो गरेका छन्। एचआइभी सङ्क्रमित महिलाकी जिल्ला अध्यक्ष कमला मल्लले डोटी जिल्लामा पछिल्लो समयमा खुलेर आउने एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दो भएपनि स्थानीय सरकारले कुनै ठाउँमा पनि खासै गतिलो सहयोग गरेको नदेखिएको आरोप लगाए।

स्थानीय सरकारसँग प्रस्ताव लिएर जाँदा ‘तपाईंहरु त डलरको खेती गर्नसक्ने हामी के सहयोग गर्न सक्छौँ’ भनेर उल्टै जवाफ दिने गरेको समेत उनले गुनासो गरे। “हामी त सङ्क्रमित भइसकेका छौँ, अब हाम्रा लागि नभए पनि हाम्रा छोराछोरीको भविष्यका लागि भए पनि स्थानीय सरकारले सोच्नुपर्छ,”

उनले भने,  “सरकारले सङ्क्रमितलाई बचाउन विशेष कार्यक्रम बनाउनुपर्छ।” डोटीमा कतिपय एचआइभी सङ्क्रमित एकल महिलालाई आफू र बालबच्चा कसरी हुर्काउने भन्ने चिन्ता थपिएको छ। यहाँका एचआइभी सङ्क्रमित महिलालाई साँझ–बिहान हातमुख जोड्न नै धौधौ परेको छ ।