किन छोड्दैछन्, परम्परागत पेशा राजी समुदाय  ?
2022/02/19, 10:42
 
dd

भुरुवाकी मीना राजीका श्रीमान मह काढ्दैनन् । युवा पुस्ताका उनी पैसा कमाउनका लागि भारतको मुम्बई गएका छन् । मह काढ्ने, नदीनालामा माछा मार्ने, जङ्गलमा गिट्ठा खोज्ने जस्ता राजी समुदायको पुख्र्यौली पेशा हो । तर, मीनाका श्रीमान जस्तै पछिल्लो पुस्तामात्रै हैन, अरु व्यक्ति पनि मह काढ्ने, गिट्ठा खोज्ने काम गर्न इच्छा देखाउँदैनन् ।

बरु, गुजाराका लागि अन्य काम गरिरहेका छन् । युवापुस्ताको त झन पुरानो कामतिर आकर्षण नै नरहेको मीनाको बुझाइ छ । ‘पुराना कोही कोही व्यक्तिमात्रै मह काढ्न जान्छन्’, सुर्खेतबाट विवाह गरेर भुरुवा आएकी उनले भनिन् । ‘जवानहरु रोजगारीका लागि भारततिर जाने गर्दछन् । मेरो श्रीमान पनि पुख्र्यौली काम कहिल्यै गर्नुहुन्न ।’

कैलालीमा बसोबास गर्दै आएका सीमान्तकृत राजी समुदायका व्यक्तिले मह काढ्ने परम्परागत पेशा छोड्न थालेका छन् । मह काटेर गुजारा गर्न समस्या भएपछि उनीहरु आफ्नो पुर्खौली पेशालाई त्याग्न थालेका हुन । खेतीपाती, नोकरी लगायतमा ती समुदायका व्यक्तिको आकर्षण बढ्न थालेको छ । ‘अब बिरलै मान्छे मह काढ्ने गर्दछन्’, भजनी नगरपालिका–९ भुरुवाका झोफु राजीले भने । ‘गाउँका धेरैले यस्तो काम छोडी सके ।’ उनका अनुसार परम्परागत पेशा एकल परिवारको गुजाराको लागि सहज थियो । तर, अब धेरै परिवार संयुक्तमा परिणत भइसकेका छन् । सदस्य धेरै रहेका परिवारका लागि परम्परागत पेशाले गुजारा गर्न सम्भवन नरहेको झोफुको बुझाइ छ । 

‘अब पहिलाको जस्तो मौरी पनि पाइन्न’, उनले अगाडि थपे । ‘दुःख गरेर निकालेको मह भने अनुसार बिक्दैन । मह बेचेर ठूलो परिवारको गुजारा सम्भव छैन ।’लोपोन्मुख राजी जातिका मानिस विगतमा गुजाराका लागि जङ्गल र नदीनाला चहार्ने गरेका थिए । दिनभरि जङ्गल घुम्दै जङ्गली मौरीका मह सङ्कलन गर्ने र गाउँघरमै बिक्री गरेर गुजारा गर्ने गरेका थिए । तर, अचेल पहिलाको जस्तो मह नपाउने गरेको भुरुवाकै चुनुवा राजी बताउँछन् ।  ‘पहिले त नजिककै जङ्गलमा धेरै मौरी घार हुन्थ्यो’, उनले भने । ‘अचेल सजिलै मौरी पाइदैन । त्यसैले धेरै जनाले खेतीपातीको काममा ध्यान दिएका छौं ।’

चुनुवाका अनुसार अब भुरुवा गाउँमा तीन जनामात्रै मह सिकारी छन्, उनीहरु हुन शेरबहादुर, गोले र गजेन्द्र । नजिकका वनमा मौरी नपाएपछि उनीहरु लम्कीचुहा नगरपालिकाको चिसापानी क्षेत्रसम्म मौरी खोज्दै पुग्ने गरेको उनले बताए । ‘तैपनि, नियमित मह काढ्न जाँदैनन् । कहिलेकाँहीमात्रै हो’, चुनुवाले भने । कैलालीमा राजी समुदायको बसोबास भुरुवामामात्रै रहेको छ । सो गाउँमा सयभन्दा बढी परिवार राजी जाति बस्दै आएका छन् । कान्द्रा नदीले छोडेको बगरलाई उनीहरुले उर्वरभूमिमा परिणत गरिसकेका छन् । प्रायः सबैको धेरथोर जग्गा रहेको छ । 

सृजनशील सामुदायिक वन आसपास घर बनाएर बसेका राजी समुदायका ती परिवार खेतीपातीतिर अग्रसर भइसकेका छन् । यद्यपि, उनीहरुले खनजोत गर्दै आएको जग्गा नम्बरी भइसकेको छैन । गाउँका युवा पुस्ता अरु समुदायका व्यक्ति जस्तै रोजगारीको लागि भारततिर जाने गरेका छन् । त्यस्तै, पढेलेखेका केही नेपालमै जागिर गरिरहेका जनाइएको छ । पछिल्लो समय सबैतिर सामुदायिक वन बनाइएको छ । सामुदायिक वन बनेकाले वनभित्र स्वतन्त्र रुपमा प्रवेश गर्न मनाही पनि गरिएको छ । त्यसले पनि राजी समुदायको परम्परागत मह काढ्ने पेशामा असर गरेको बताइन्छ । यसैगरी, अग्ला–अग्ला रुखमा चढेर मह काढ्नु धेरै जोखिमयुक्त काम रहेको सो समुदायका मान्छेहरुको बुझाइ छ । 

रुख चढ्नमा राजी समुदायका पुरुष सिपालु रहे पनि रुखमाथि चढेर मह काढ्ने कार्य सजिलो नरहेको वृद्धा जानकी राजीले उल्लेख गरिन् । ‘वनको चिज ल्याउन भनेजस्तो सजिलो हुँदैन’, उनले भनिन् । ‘ज्यानको बाजी लगाएर मह काढ्नु पर्दछ ।’ उनले गतविगतमा गाउँघरमा मह प्रति किलो पाँच सय रुपैयाँमा बिक्री गरेको सुनाइन् । ‘कहिलेकाँही चामल लिएरपनि मह साट्ने गरेका थियौं’, उनले भनिन् । ‘मह काढ्नेहरुले आजकल पनि त्यै किलोको छ÷सात सय रुपियाँ त मह बेच्छन् ।’ 

पछिल्लो पुस्ता लेखपढ गर्न थालेपछि राजी समुदायको जीवनशैली परिवर्तन हुन थालेको सुखराम राजीले बताए । ‘म त आजकल भगतै भइसकेँ । मह काढ्ने काम म बाट हुँदै हुन्न’, उनले भने । ‘गाउँका अरुले पनि मह काढ्न छोडि सके ।’